गणतन्त्र संस्थागत हुन नसकेकामा चिन्ता

669 पटक पढिएको

सम्पादक: Dhadingnews.com

रत्ननगर (चितवन), १५ जेठ । गणतन्त्र दिवसको अवसरमा चितवनको नारायणगढमा आज बिहान दौड प्रतियोगिता आयोजना गरिएको छ । पैतीस जनाले सहभागिता जनाएको दौडमा शमशेरदल गणका नेपाली सेनाका जवान विजयी भएका छन् ।

नारायणगढको पुलचोकदेखि चौविसकोठीसम्म झन्डै साढे दुई किलोमिटर क्षेत्रमा भएको दौडमा शमशेरदल गणका सेनाका जवान देवबहादुर पहिलो भएका छन् । यस्तै शमशेरदल गणकै अर्का जवान हरिकृष्ण महरा दोस्रो र भीमबहादुर खत्रीले तेस्रो स्थान हासिल गरेको जिल्ला खेलकुद विकास समिति चितवनका कार्यालय सचिव रामजी ढकालले बताउनुभयो ।

हिजोदेखि चितवनमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरी सुरु गरिएको गणतन्त्र दिवसका कार्यक्रमअन्तर्गत आज दौड प्रतियोगिता गरिएको हो । विजेताहरूलाई भोलि समापनका दिन नगदसहित प्रमाणपत्र वितरण गरिने चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले जानकारी दिनुभयो ।

दौडपछि चौबिसकोठीबाट नेपाल प्रहरीको ब्यान्डबाजासहित जिविस चितवनसम्म ¥यालीको समेत आयोजना गरिएको थियो । त्यस लगत्तै आयोजित औपचारिक कार्यक्रममा सहभागीहरूले गणतन्त्रको संस्थागत हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन् ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराईले गणतन्त्र संस्थागत हुन नसक्दा अर्थतन्त्रमा समेत असर परिरहेको बताउनुभयो । रासस