८ श्रीमतीको ६० सन्तान एकाघरमै मिलिजुली परिवार

605 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

8 swaasniko poeii

दमारबेंसी (अर्घाखाँची), मंसिर १७ – कानुन र समाजमा एकभन्दा बढी विवाह गरेमा कारबाही खेप्नुपर्ने हुन्छ । कसैकसैले भने बहुविवाह गरे पनि सौता-सौताबीचको दिनरातको कलझगडाले टाउको समाएर बसेका देखिन्छन् ।

‘दुई श्रीमतीको पोइ कुना बसी रोइ’ भनिँदै आए पनि जुलुके, दमारबेंसीका ७१ वर्षीय टानबहादुर पुलामीले भने आठ श्रीमती भित्र्याए पनि परिवारमा दुःख र झगडा केही छैन । सबै हाँसीखुसी बस्दै आएका छन् इकान्तिपुर डट कमले खबर लेखेको छ ।

हँसिला र ठट्यौली स्वभावका ७१ वर्षीय टानबहादुरले बिहे गर्दागर्दै आठ श्रीमती पुगेको बताए । पहिले विवाह १८ वर्षको हुँदा गरेका उनका जेठी श्रीमती खुमासरका एक छोरा, ४ छोरी छन् । दोस्रोकी ३ छोरी र २ छोरा, तेस्रोकी २ छोरी, चौथोकी ४ छोरी, पाँचांैका २ छोरा र १ छोरी र छैटौंका २ छोरा छन् । तीमध्ये ४ छोरा विदेश, एक छोरा काठमाडौंमा बस्छन् भने अरूले खेतीपाती । छोराछोरी, नातिनातिना र पनातिना गरी पुलामीको ६० जनाको सन्तान पुगेको छ ।

पुलामीको ५ ठाउँमा जग्गा छ । हिउँदमा जग्गामा मल हुने गरी सबै ठाउँमा गोठ राखिन्छ । त्यसमा एक/एक श्रीमतीको परिवार छुट्टाछुट्टै जान्छन् । खेती लगाएपछि उनीहरू वर्षायाममा एक घरमा भेला भएर बस्छन् ।

धेरै श्रीमती र परिवार भए पनि अहिलेसम्म सबै मिलीजुली बसेका छन् । ‘अहिलेसम्म झगडा भएको छैन,’ पुलामीकी कान्छी श्रीमती सुशीलाले भनिन्, ‘म आफैँ देखेर विवाह गरेकी हुँ, दिदीहरू र छोराछोरीले नराम्रो गर्नुभएको छैन ।’

उनले सानै छँदा बुबाआमाको मृत्यु भएपछि बिचल्लीमा परेपछि दिदीबहिनीले एउटैसँग बिहे गरेको बताइन् । ‘अहिले खान, लाउन केही दुःख छैन । पुलामीले लगाएको सबैले आआफ्नो काम गर्छौं, पेटभरि खान्छौं, सबै खुसी छौँ, जिन्दगी रमाइलो नै छ,’ उनले भनिन् । वर्षको एकपटक तीजमा सबैलाई पुलामीले एउटै खालका कपडा कान्छी श्रीमतीलाई किन्न लगाउँछन् । उनी कांग्रेस जलुके गाविसका सचिव हुन् ।

सदरमुकामदेखि झन्डै १ सय ५० किलोमिटर दक्षिण प्यूठान र दाङको सीमास्थित घना जंगलमा दमारबेंसी गाउँ छ । पुलामीका घरमा पुग्दा ६ श्रीमती आआफ्नो काममा व्यस्त थिए । जेठी श्रीमती काम गर्न सक्दिनन् । ‘बुढाले दोस्री ल्याउँदा त सुरुमा साह्रै रिस उठ्यो तर दुई चार महिनापछि फेरि माया लाग्यो,’ जेठी श्रीमती खुमासरले भनिन्, ‘हेर्दाहेर्दै ८ वटी बनाए, कामको दुःख हरायो, धेरै हुँदा त झन् मिलेरै बसियो, केको झगडा गर्नु ।’

हाम्रो परिवारको सम्बन्ध बिगारिदिन र झगडा पारिदिन छिमेकीले धेरै प्रयास गरे पनि हामी मिलेरै बसेपछि कसैको केही नलागेको उनले बताइन् । ‘श्रीमान्ले खानलाउन नदिएको, सम्बन्धविच्छेद भएको समाचार रेडियोबाट सुन्छौं,’ अर्की श्रीमती तिलाले भनिन्, ‘हामीले हाम्रो बुढालाई त्यस्तो कहिल्यै गर्दैनौं, हामी अदालत पनि जाँदैनौं, बुढाले सबैलाई बराबर माया गर्नुहुन्छ ।’

नुमी र पार्वती श्रीमतीचाहिं सर्पले टोकेर मृत्यु हुँदा साह्रै दुःखी भएको उनले बताए । एक छोरा र दुई छोरीको पनि मृत्यु भएको छ । ‘सानो छँदा धेरै दुःख गरेर अरूका घरमा काम गरेर १ सय ५० रोपनी खेतबारी जुटाएँ,’ उनले भने, ‘मैले अरूको दुःख देख्न सकिनँ, घरमा दुःख पाएकालाई विवाह गरेको छु ।’ सानो उमेरमा खान नपुगेर कन्दमूल खाएर छाक टारेको उनले सम्झिए । अहिले घरमा ५ वटा दुहुना भैंसी, ५० वटा बाख्रा र १२ वटा गोरु र ४ वटा बंगुर र कुखुरा पालेर सबै परिवार बसेका छन् । ‘कोही श्रीमती पनि छुट्टिएर बस्न मान्दैनन्,’ उनले भने, ‘सबै मिलेकै छन्, सधैं खुसी नै छन् ।’ पाँच ठाउँमा जग्गा छ । खेती उत्पादन गरेर खान पुगेको छ । आफ्ना बुबा गुन्जबहादुरले तीनवटी विवाह गरेको  पनि बताए । दसैंलगायत चाडपर्वमा सबैजना भेट हुँदा साह्रै रमाइलो लाग्ने उनले बताए । यसरी सबै मिलेर बसेको उदाहरणीय परिवार रहेको स्थानीय छिमेकी जुनबहादुर पुलामीले बताए ।