नारायणगोपाल राष्ट्रियताको भावना मुखरित गर्न पनि सफल

859 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

naraayan gopal 1काठमाडौँ, १९ मङ्सिर । “म त लालीगुँरास भइ फुली दिन्छु, वनैभरी फुली दिन्छु मनैभरी फुली दिन्छु…” नेपाली सङ्गीतका शिखर व्यक्तित्व स्वर सम्राट स्वर्गीय नारायणगोपालको अत्यधिक लोकप्रिय यो गीतले जति आम नेपालीको मानसपटलमा छाप छोड्न सफल भएको छ, त्यत्तिकै राष्ट्रियताको भावनालाई पनि मुखरित गर्न सकेको छ ।

सुमधुर स्वरका धनी नारायणगोपालको गीत सङ्गीत स्वदेशमा मात्र हैन विदेशमा पनि लोकप्रिय छन् । भौतिकरुपमा यो धर्तीमा नरहेपनि उहाँका कालजयी गीत सङ्गीत नेपालीको मनमस्तिष्कमा ताजा भएर रहेका छन् ।

‘एउटा मान्छेको मायाले कति फरक पार्दछ…’, ‘फूल भनुँ की जून भनुँ’, ‘यो सम्झिने मन छ म बिर्सु कसोरी’, ‘तिमी जुन रहरले ममा फुल्न आयौँ…’ जस्ता सर्वाधिक कर्णप्रिय गीतमा आवाज दिनुभएका नारायणगोपाल नेपाली सङ्गीतका धरोहर मानिनुहुन्छ ।

यस क्षेत्रका विज्ञहरु भन्छन् – जन्मजयन्ती र स्मृति दिवस गरी वर्षमा दुई पटक औपचारिक कार्यक्रम गरेर मात्र पुग्दैन । उहाँका सिर्जनालाई आधुनिक पुस्तामा समाहित गरेर लग्नसक्नुपर्छ ।

वरिष्ठ रङ्ग समीक्षक प्रकाश साय्मी स्वरसम्राट नारायण गोपाल नयाँ तथा पुरानो पुस्ताका लागि नेपाली सङ्गीतको इतिहास हो भन्नुहुन्छ । नारायण गोपालको गायनको विशिष्टता र मौलिकपनालाई अहिलेको पुस्ताले आत्मसात् गनुपर्ने उहाँको सुझाव छ ।

नारायण गोपाल गीतका शब्दमा आउने भावलाई बुझ्न सम्बन्धित ठाउँमै पुगेर अध्ययन गर्नुहुन्थ्यो । राष्ट्रकवि माधव घिमिरेको चर्चित सिर्जना ‘आज र राति के देखे सपनीमा, मस्र्याङ्दी खोला…’ गीतको भाव बुझ्न उहाँ मस्र्याङ्दी नदीमै पुग्नुभएको थियो ।

‘एउटा मान्छेको मायामा कति फरक पर्छ…’ बोलको गीत गाउन तत्कालीन दरबारबाट एक सैनिक सचिवलाई बोलाउन पठाइएको थियो तर उहाँ जान मान्नुभएन । पछि गीतकार चाँदनी शाहले आफैँले आग्रह गरेपछि मात्र उक्त गीत उहाँले गाउनुभएको थियो ।

उहाँले महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ, कविहरु भूपि शेरचन, कालीप्रसाद रिजाल, हरिभक्त कटुवाललगायतको गीत गाउनुभएको छ ।

नारायणगोपालको २४औँ स्मृति दिवसका अवसरमा आज आयोजित एक कार्यक्रममा नारायणगोपालकै सहपाठी (मितभाइ) कर्म योञ्जनले दार्जिलिङकी पेमला आचार्यसँग नारायाणगोपालको विवाह गराएको प्रसङ्ग स्मरण गर्दै उहाँ गायक मात्र नभई मिलनसार व्यक्तिसमेत भएको बताउनुभयो ।

अर्का वरिष्ठ सङ्गीतकार दीपक जङ्गम पनि नारायणगोपालले सङ्गीतमा दिएको योगदान वर्तमानमा मात्र नभई भविष्यका पिँढीका लागि पनि प्रेरणादायी हुने बताउनुभयो ।

सङ्गीतकार राजु सिंह भने नारायणगोपाललाई नेपाली सङ्गीतको विश्वविद्यालयका रुपमा लिनुहुन्छ ।

राष्ट्रिय नाचघरमा एकताका सँगै काम गरेको अनुभव सुनाउने नेपालकी प्रथम नायिका भुवन चन्दले मनमा पीर परेपनि नारायणगोपालको गीत बजाउँदा आनन्द लाग्ने अनुभव सुनाउनुभयो ।

कार्यक्रममा वरिष्ठ सङ्गीतकार अम्बर गुरुङलगायत चर्चित कलाकारको उपस्थिति रहेको थियो । उहाँहरुले नारायणगोपालका एक दर्जनभन्दा बढी गीत गाउनुभएको थियो ।

तीन स्रष्टालाई ‘नारायणगोपाल स्मृति सम्मान’

नारायणगोपाल सङ्गीत कोषले नेपाली सङ्गीतका तीन चर्चित स्रष्टालाई आज ‘नारायणगोपाल स्मृति सम्मान’ प्रदान ग¥यो ।

वरिष्ठ गायिका दिलमाया खाती तथा मरणोपरान्त वरिष्ठ सङ्गीतकार तथा गायक स्व गोपाल योन्जन र स्व दिव्य खालिङलाई नगद रु २५ हजार र प्रशंसापत्रसहित सम्मान गरिएको हो ।