१९ वटा वाणिज्य बैंकहरुमा ४० करोड लाभांश बेवारिसे

558 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं-सञ्चालनमा रहेका ३० मध्ये १९ वटा वाणिज्य बैंकहरुमा मात्र ४० करोड रुपैयाँभन्दा बढी नगद लाभांश अलपत्र अवस्थामा रहेको छ । बैंकहरुले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ‘मर्जर’ भएर बनेको एनआईसी एसिया, ग्लोबल आईएमई र प्रभु समेतमा अलपत्र लाभांशको परिमाण उच्च रहेको हो । बैंकहरुको प्रत्येक वर्ष अघिल्लो आर्थिक वर्षमा कमाएको खुद मुनाफामध्ये नगद तथा बोनस सेयर वितरण गर्छन् । लाभांश वितरणसम्बन्धी प्रस्ताव वार्षिक साधारणसभाबाट पारित भएको मितिले एक महिनाभित्र वितरण गरिसक्नुपर्छ । तर पनि केही सेयर लगानीकर्ताको मृत्यु भएको, केही विदेशमा रहेका र केहीलाई नगद लाभांश वितरण गरेको बारेमा जानकारी समेत प्राप्त नभएको हुँदा हालसम्म यो परिमाणमा नगद लाभांश अलपत्र परेको हुनसक्ने राष्ट बैंक स्रोतले बताएको छ । बैंकहरु दाबी नपरेको नगद लाभांश वितरणको लागि हकदाबी माग गर्दै सार्वजनिक सूचना जारी गर्दा समेत आधिकारिक प्रमाणसहित मागदाबी नपरेका कारण पनि अलपत्र लाभांशको दर बढेको हुनसक्छ, राष्ट बैंक स्रोतले भनेको छ आर्थिक दैनिकले खबर छापेको छ ।

पाँच वर्षसम्म पनि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले वितरण गरेको लाभांशमा कुनै पनि किसिमको मागदाबी नपरे त्यस्तो लाभांश सेयर लगानीकर्ता हित संरक्षण कोषमा राख्नुपर्ने नियम रहेको छ । तर बैंक तथा वित्तीय संस्थाहरु कम्पनी रजिष्टर्ड कार्यालय र राष्ट बैंक समेतमा दर्ता हुने हुँदा अलपत्र लगानी कसले चलाउने भन्ने विषयमा दुई संस्थाबीच मतभेद रहेका कारण पनि अलपत्र लाभांशको सदुपयोग हुन नसकेको राष्ट बैंक स्रोतले बताएको छ । वाणिज्य बैंकहरु बैंक तथा वित्तीय संस्था ऐन २०६३ अनुरुप सञ्चालन हुने हुँदा यस्तो संस्थामा अलपत्र रहेको लाभांशको व्यवस्थापन गर्र्ने अधिकार राष्ट बैंक स्वयंभित्र हुनुपर्ने समेत स्रोतले बताएको छ । सम्बन्धित बैंकहरुबाट प्राप्त जानकारीअनुसार सबैभन्दा बढी मात्रामा एनआईसी एसियामा लाभांश अलपत्र रहेको छ । बैंक अफ एसिया र एनआईसी ‘मर्ज’ भएर बनेको सो बैंकमा पाँच करोड ४२ लाख ४५ हजार रुपैयाँभन्दा बढी लाभांश अलपत्र रहेको छ । ‘मर्जर’ हुनुअघि बैंक अफ एसियामा दुई करोड ७५ लाख १६ हजार तथा एनआईसीमा तीन करोड ३५ लाख ७० हजार रुपैयाँको हाराहारीमा लाभांश अलपत्र
रहेको थियो ।

एभरेष्ट बैंकमा पनि पछिल्लो पाँच वर्षमा चार करोड नौ लाख ७४ हजार रुपैयाँ लाभांश अलपत्र रहेको छ । यसैगरी सिद्धार्थ बैंकमा दुई करोड ६२ लाख २३ हजार छ सय ३१, एनएमबी बैंकमा दुई करोड ४४ लाख ३८ हजार, बैंक अफ काठमाण्डूमा तीन करोड २३ लाख ८५ हजार रुपैयाँ लाभांश अलपत्र रहेको छ । झण्डै एक दर्जन वाणिज्य बैंकहरुलाई आफूमा ‘मर्ज’ गराएको ग्लोबल आईएमई बैंकमा पनि दुई करोड दुई हजार रुपैयाँ लाभांश अलपत्र रहेको छ । यसबाहेक सिटिजन्स इन्टरनेशनल बैंकमा दुई करोड ६० लाख ९५ हजार, नेपाल एसबिआई बैंकमा एक करोड ४० लाख ७१ हजार, हिमालयन बैंकमा ५४ लाख ७४ हजार, माछापुच्छ«े बैंकमा १२ लाख ४१ हजार तथा कुमारी बैंकमा ७८ लाख छ हजार रुपैयाँको हाराहारीमा लाभांश अलपत्र रहेको छ । लक्ष्मी बैंकमा ८३ लाख ५७ हजार, ग्राण्ड बैंकमा नौ लाख ९५ हजार, स्ट्यान्डर्ड चार्टर्ड बैंकमा दुई करोड ६७ लाख ७३ हजार, प्राइम कमर्सियल बैंकमा तीन करोड ८५ लाख ६६ हजार, प्रभु बैंकमा ६३ लाख ५४ हजार र नबिल बैंकमा तीन करोड ५१ लख ९७ हजार रुपैयाँको हाराहारीमा लाभांश अलपत्र रहेको छ । पछिल्लो समय खुलेका नयाँ वाणिज्य बैंकहरुमा भन्दा पनि पुराना वाणिज्य बैंकहरुमा अलपत्र लाभांशको दर बढी छ ।