मिलुन्जेल प्रेम खटपटपछि बलात्कार

766 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Sex-workभक्तपुर– काभे्रपलाञ्चोक जिल्ला साँगा–५ बस्ने २३ वर्षीया अन्जु (परिवर्तित नाम) र पर्सा महादेवपट्टी–१ घर भई भक्तपुर नगरपालिका–१५ बस्ने २४ वर्षीय दयानन्द चौधरीबीच ६ वर्षदेखि प्रेम सम्बन्ध कायम थियो । यसबीच उनीहरूले आपसी सहमतिमा कैयौंपटक शारीरिक सम्बन्ध कायम भएको दुवैले स्वीकार पनि गरेका छन् । तर, गत २६ भदौमा चौधरीले जबर्जस्ती करणी गरेको भन्दै घटनाको चार दिनपछि भक्तपुर प्रहरीमा अन्जुले किटानी जाहेरी दिइन् । प्रहरीले चौधरीलाई पक्राउ ग¥यो । हाल चौधरी पुर्पक्षका लागि जेल चलान भएका छन् राजधानी दैनिकले खबर छापेको छ ।

प्रहरी स्रोतका अनुसार चौधरी बिस्तारै अन्जुदेखि टाढिन थालेपछि दुईबीच खटपट सुरु भएको थियो । अन्तमा अन्जुले जिल्लास्थित महिला अधिकारकर्मीको सहयोगमा चौधरीविरुद्ध जबर्जस्ती करणी गरेको आरोप लगाउँदै उजुरी गरेकी थिइन् । घटनाको दिन पनि दुवैजना पाटनको एक स्थानमा भेट भई चौधरीकै मोटरसाइकलमा अन्जु भक्तपुरस्थित चौधरीको डेरामा पुगेर यौन सम्पर्क गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

त्यस्तै, काभे्र बालुवापाटीकी २१ वर्षीया एक युवती र सिन्धुपाल्चोक ठूलो पाखर घर भई भनपा–१६ घलाँटे बस्ने २४ वर्षीय विनोद तामाङबीच फोनमा कुराकानी हुने गरेको लामो समय भइसकेको थियो । यसैबीच गत भदौमा युवतीकी आमा बिरामी भई भक्तपुर अस्पताल उपचारका लागि आएको बेला ती युवतीको तामाङसित प्रत्यक्ष भेट भयो । सहमतिमै युवती र तामाङले तामाङको कोठामा सँगै रात बिताए । तर, ती युवतीले घटनाको दुई हप्तापछि जबर्जस्ती करणीको उजुरी गरिन् । तामाङ अहिले पुर्पक्षका लागि जेल चलान भएका छन् ।

मध्यपुर थिमी नगरपालिका–७ डेरा लिई बस्ने सुन्तली (परिवर्तित नाम) र सिन्धुपाल्चोक मगाम–७ बस्ने शेरबहादुर तामाङ नातामा देवर–भाउजू हुन् । सुन्तलीका पति लामो समयदेखि वैदेशिक रोजगारमा छन् ।

देवर–भाउजूबीच पटक–पटक शारीरिक सम्बन्ध कायम भएको दुवैले सकारेका पनि छन् । गत २४ असारमा पनि भाउजूकै अनुरोधमा मदिरापान गरेर शेरबहादुर सुन्तलीको कोठामा गए र त्यहीँ रात बिताए, तर त्यसको पाँच दिनपछि देवरविरुद्ध सुन्तलीले महानगरीय प्रहरी वृत्त थिमीमा जबर्जस्ती करणीको उजुरी गरिन् । स्रोतका अनुसार उनी देवरविरुद्ध सार्वजनिक अपराधबमोजिम कारबाहीको माग गर्दै उजुरी गर्न गएकी थिइन् । तर, वृत्तमा कार्यरत एक प्रहरीकै सल्लाहमा उनले शेरबहादुरविरुद्ध जबर्जस्ती करणीसम्बन्धी उजुरी दर्ता गरेकी थिइन् । मुद्दा अदालतमा पुग्यो । भक्तपुर जिल्ला अदालतले शेरबहादुरलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दियो । सोही बमोजिम शेरबहादुर थुनामा छन् ।

भक्तपुरमा पछिल्लो समय सहमतिमा कायम भएको शारीरिक सम्बन्धलाई पनि कानुनको सहारामा बलात्कारको घटनामा परिणत गर्ने परिपाटी विकास भएको छ । मन परुन्जेल सम्बन्ध गाँस्ने तर मन नपरेपछि बलात्कारको आरोप लगाउने प्रवृत्तिले पुरुष कानुनको सिकार बन्दै गएका छन् । प्रहरी स्रोतका अनुसार घटनाको प्रकृति हेर्दा कुनै पनि कोणबाट बलात्कार हुन नसक्ने घटनालाई बलात्कारअन्तर्गत मुद्दा चलाउनुपर्ने बाध्यता रहेको छ । अशक्त, उमेर नपुगेका बालिका हो भने जबर्जस्ती करणी हुन सक्छ । तर, उमेर पुगेका युवती, त्यसमाथि शिक्षित युवती यौन सम्पर्क भएको साता दिनपछि बलात्कृत भएको भन्दै उजुरी गर्न आउनु आफैंमा शंकास्पद भएको प्रहरीको भनाइ छ ।

जबर्जस्ती भएकै हो भने प्रतिकारका केही सामान्य लक्षण हुनुपर्छ, त्योसमेत नहुने गरेको प्रहरी बताउँछन् । ‘बचाउका लागि चिच्याएको, झडप भएको केही हुँदैन, चोटपटक लागेको केही हुँदैन तर पनि जबर्जस्ती करणी गरेको आरोपमा केटालाई कारबाही गर्नुपर्ने अवस्था छ,’ प्रहरी स्रोतले भन्यो ।

विभिन्न महिला अधिकारकर्मी र संघसंस्थाको दबाब तथा पीडित पक्षको किटानी जाहेरीका कारण प्रहरीले आरोपित व्यक्तिमाथि मुद्दा चलाउनैपर्ने बाध्यता रहेको प्रहरी स्रोतले नाम उल्लेख नगर्ने सर्तमा बतायो । बलात्कृत भएको भन्दै घटनाको केही दिनपछि मात्र प्रहरीमा उजुरी पर्नु नै आपसी सम्बन्धमा आएको असमझदारी भएको प्रहरीको भनाइ छ । ‘किटानी जाहेरी दर्ता नगर्दा अनावश्यक विवाद र अधिकारकर्मीको दबाब आउने भएकाले त्यस्ता घटनाको मुद्दा प्रक्रियामा जान प्रहरी बाध्य छ,’ स्रोतले भन्यो । यस्तो बेला पीडितको शारीरिक जाँच र यौन सम्पर्क भएको बेला स्खलन भएको वीर्य जाँचलगायतमा समस्या आउने गरेको प्रहरी बताउँछन् ।

मुलुकी ऐनको जबर्जस्ती करणीसम्बन्धी महलमा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा १६ वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मञ्जुरी लिई वा नलिई करणी गरेमा जबर्जस्ती करणी गरेको ठहर्ने’ उल्लेख गरिएको छ । सो महलको स्पष्टीकरण प्रयोजनमा ‘डर, त्रास, धाक देखाई वा करकाप, अनुचित प्रभाव, झुक्यानमा पारी वा जोरजुलुम गरी वा अपहरण गरी वा शरीर बन्धक राखी लिएको मञ्जुरीलाई मञ्जुरी मानिनेछैन’ भनी उल्लेख छ ।