अल्लोको कपडा धेरैको रोजाईमा पर्दै

1049 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0075 copyधादिङ,- बेग्लै रुप, फेसन, आकर्षण र पार्टी तथा सेमिनारमा प्रयोग गर्नका लागि कोट, दौरासुरुवालको प्रयोगमा अल्लोकोे कपडा प्रयोग गर्नेहरुको संख्या बढ्दै जान थालेको छ ।
अल्लोबाट जुत्ता, चप्पल, पर्स, टोपी, कोट, इस्टकोट, सल, ब्याग लगायतका ५० भन्दा बढी वस्तु बन्ने गर्दछ । देशका ३० भन्दा बढी जिल्लामा पुगेर अल्लोको कपडा बिक्री गर्दै आईरहनु भएकी प्युठान जिल्ला लुङ्ग गाविस वडा नम्बर ६ वाहनेका चित्रकला वुढामगरलाई यति बेला धादिङमा भ्याई नभ्याई भएको छ । विभिन्न जिल्लामा हुने मेला तथा महोत्सवहरुमा पुगेर अल्लोको कपडा बिक्री गर्दै आईरहनुभएकी चित्रकलाले धादिङबेसीमा जारी मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवमा पनि आफ्ना उत्पादनहरु प्रदर्शन र बिक्री गरिरहनु भएको छ ।
पुंगा ,चाल्ने सिस्नु र भाङ्ग्रे्र सिस्नोको बोक्राबाट कच्चा पदार्थ तयार पारी प्युठानको लुङ्गमा रहेको कोठी हिमाल अल्लोकपडा उद्योग वाट व्यवसायिक रुपमा अल्लोको कपडा उत्पादन गर्दै आईरहेको चित्रकलाले वताउनु भयो । स्थानीय प्रविधिवाट उत्पादित हुने भएकोले अल्लोको कपडा अन्य कपडा भन्दा महंगो पर्न जाने उहाँकोे भनाई छ ।
अल्लोको कपडा परापूर्व कालदेखि प्रयोग हुंदै आईरहेको भएपनि यस्को व्यवसायिक उत्पादन हुन नसक्दा करोडौं रुपैया बर्षौ देखि त्यतिकै खेर गईरहेकोमा अहिले गाउँ गाउँमा घरमा तान लगाएर कपडा बुनेर जीविकोपार्जन गर्नेहरुको संख्या बढेको चित्रकलाका श्रीमान खिमबहादुर बुढा मगर बताउनुहुन्छ ।
देशका अन्य जिल्लामा पुग्दा अल्लोको कपडाको माग राम्रै रहेको पाएपछि आंफुहरु धादिङबेसीमा जारी रहेको मध्यमाञ्चल क्षेत्रीइ मेला तथा चौथो धादिङ महोत्सवमा सहभागी भएको खिमवहादुरले वताउनु भयो । मेसिनको प्रयोग नै नगरी तयार पारिएको सामाग्री भन्ने जानकारी पाएपछि महोत्सव हेर्न आउने दर्शकहरुले आफ्नो इच्छाअनुसारको सामान किनेर लाने गरेको चित्रकलाले वताउनु भयो । अल्लोका सामग्री नेपाली वजारमा भन्दा अमेरिका, जापान, कोरिया, अष्ट्रेलिया लगायतका विकसित देशमा बढी निर्यात हुने गरेको व्यवसायीहरुको भनाई छ ।
विशेष गरी उच्च ओहोदाका व्यक्तिहरुले कोटको प्रयोग बढी गर्ने गर्नाले र आधुनिकतासागै युवा पुस्ताले पनि चप्पल, पर्स, टोपी बढी प्रयोग गर्ने गर्नाले यसको माग स्वदेश संगै अन्तर्राष्ट्रिय क्षेत्रसम्म बढेको घरेलु तथा साना उद्योग विकास समितिका केन्द्रिय अध्यक्ष जगन्नाथ नेपाल वताउनुहुन्छ । समितिले देशैभरी रहेका घरेलु तथा साना उद्योग विकास कार्यालय मार्फत स्थानीय लघु घरेलु उत्पादनहरुको संरक्षण,प्रवद्र्धन र वजार व्यवस्थापनमा सहयोग गर्दै आईरहेको पनि अध्यक्ष नेपालले वताउनु भयो ।