ग्यासमा चरम अभाव कहिले सम्म ?

655 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

310604613_1419933955 काठमाडौं, – अहिले बजारमा ग्यासको चरम अभाव खड्किरहेको छ । नेपाल ग्यास उद्योग संघले हालको ग्यास अभावलाई कमगर्न तत्कालै थप ४ हजार ग्यास आयत गर्नुपर्ने माग गरेको छ । जाडोमा ग्यासको खपत बढ्छ । हिउँदमा बढी लोडसेडिङ हुने भएकाले पनि ग्यास खपत बढी हुने गर्छ । आयल निगमका अनुसार गर्मीको तुलनामा जाडोमा २० प्रतिशत बढी ग्यास खपत हुन्छ । नेपालमा खपत बढ्ने तर भारतको बर्षेनी रिफइनरीमा मर्मत गर्ने परेकाले आयत बन्द हुँदा हिउँदमा ग्यास अभाव हुने गरेको निगमले जनाएको छ आर्थिक न्यूज डट कमले खबर लेखेको छ ।

ग्यास उद्योग र नेपाल आयल निगमको कोटा सम्बन्धी विवादले पनि ग्यास आपूर्ति सहज हुन सकेको छैन । ग्यास उद्योग संघमा आवद्ध ५२ र थप तीनवटा गरी नेपालमा ५५ ग्यास उद्योग छन् उनीहरुले हाल आफूहरुले पाइरहेको परिमाणले वितरण सहज नभएको भन्दै कोटा बढाइदिन माग गरिरहेका छन् । तर, तोकिएकै कोटा पनि उठ्न नसकेको भन्दै आयल निगमले परिमाण थप्न मानेको छैन । नेपाल आयल निगम र भारतीय आयल निगम पेट्रोलियम पदार्थको कारोबार गर्नेबारे सम्झौतामा कुनै पनि कोटाको व्यवस्था नभए पनि एनओसीले उद्योगीहरुलाई मासिक करीब २२ हजार मेट्रिक टन मात्रै ग्यास आयत गर्न अनुमति दिदैं आएको छ ।

२०६७ सालमा नेपालमा ४३ लाख सिलिण्डर ग्यास खपत हुने भन्दै एनओसीले मासिक २२ हजार ३ सय ६६ मेट्रिक टन ग्यास आयत गर्न प्रडक्ट डेलिभरी अडर जारी गर्न थालेको थियो । तर, अहिले मुलुकभर ५५ लाख भन्दा धेरै सिलिण्डर बजारमा पुगिसकेकाले आपूर्ति सीमा न्यून हुँदा अभाव सृजना भएको उद्योगीहरु बताउँछन् । नेपालमा औसत १३ प्रतिशतले प्रत्येक वर्ष ग्यासको माग बढिरहेको छ । अहिले बजारमा ३ वर्ष अघिको तुलनामा ५९ प्रतिशतले माग बढिसकेको छ ।

ग्यासको आयात गतवर्षको डिसेम्बरमा २३ हजार ४ सय टन ग्यास आयत गरेको नेपालले यो वर्ष डिसेम्बर सम्म जम्मा १३ हजार ३ सय ४० टन मात्रै आयत गरेको छ । यसरी ५९ प्रतिशत माग बढेको र ४३ प्रतिशतले आयात घटेको कारण अहिले अभाव सृजना भएको उद्योगीले बताएका छन ।