कोरियामा नेपालीको तलब १ लाख नाघ्यो

613 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सोल (दक्षिण कोरिया),- ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया आउने नेपालीको न्यूनतम पारिश्रमिक १ लाख नाघेको छ । श्रम तथा रोजगार मन्त्रालयले जनवरी १ बाट लागू हुने गरी जुनमै न्यूनतम ज्याला ७.१ प्रतिशतले बढाएको थियो कारोवार डेलि डट कमले खबर लेखेको छ ।
480X320_e5c768bdbb16a43c216ac32db0ba0a86श्रम मन्त्रालय, श्रमिक संगठन र उद्योग सञ्चालकसम्मिलित न्यूनतम ज्याला निर्धारण समितिले हरेक वर्ष पारिश्रमिक बढाउने गर्छ । पछिल्लो वृद्धिले नेपालीहरू उत्साहित भएका छन् । न्यूनतम ज्याला वृद्धिसँगै अतिरिक्त समय गरी अधिकांश नेपालीले मासिक १ लाख ५० हजारभन्दा बढी आर्जन गर्नेछन् । कतिपयले भने न्यूनतम पनि नपाएको बताउँछन् ।
नयाँ पारिश्रमिकअनुसार सातामा ४० घण्टा काम गर्नेले न्यूनतम मासिक ११ लाख ६६ हजार २२० वन (१ लाख ५ हजार ७४१ रुपैयाँ) पाउनेछ । त्यस्तै, ४४ घण्टा काम गर्नेले १२ लाख ६१ हजार ८० वन (१ लाख १४ हजार ३२० रुपैयाँ) बुझ्नेछन् । कोरियन वन १ सयबरावर नेपाली ९.४५ रुपैयाँ हुन्छ ।
२०१४ को न्यूनतम पारिश्रमिक मासिक १० लाख ८८ हजार ८९० वन (९८ हजार ७२९ रुपैयाँ) थियो । २०१३ मा २०१४ का लागि ७.२ प्रतिशत तलब वृद्धि भएको थियो । २०१४ मा दैनिक ४१ हजार ६८० वन (३,७७९ रुपैयाँ) र घण्टाको ५,२१० वन (४७२ रुपैयाँ) थियो । यो वर्ष दैनिक ४४ हजार ६४० वन (४,०४७ रुपैयाँ) र घण्टाको ५,५८० वन (५०५ रुपैयाँ) छ ।
“देशको आर्थिक वृद्धि, मूल्यवृद्धि र ज्याला वृद्धिलगायतका विभिन्न सूचकांकका आधारमा न्यूनतम ज्याला बढाइएको हो,” ज्याला निर्धारण समितिले भनेको छ, “हरेक वर्ष ज्याला बढाउने सरकारको नीति हो ।” वृद्धि भएको ज्यालाले न्यून आय भएका २६ लाखभन्दा बढी श्रमिक लाभान्वित हुनेछन् ।
यद्यपि, श्रमिकको हक–अधिकारमा क्रियाशील टे«ड युनियनहरू भने यो वृद्धिमा सन्तुष्ट छैनन् । उनिहरूले अहिलेको ज्यालामा २८ प्रतिशत वृद्धिको माग राख्दै आएका थिए । “दैनिकको मूल्यवृद्धि र गुणस्तरीय जीवनका लागि यो ज्याला ज्यादै न्यून हो,” कोरियन कन्फेडेरेसन अफ टे«ड युनियनका ली जे वोङले भने ।
कोरियाले सन् १९८८ देखि ज्याला निर्धारण समितिमार्फत प्रत्येक वर्ष न्यूनतम ज्याला निर्धारण गर्दै आएको छ । त्यतिबेलाको न्यूनतम ज्याला ४६२ वन थियो । सरकारले सन् २००९ मा ६.१, २०१० मा २.७५, २०११ मा ५.१, २०१२ मा ६.०, २०१३ मा ६.१ र २०१४ मा ७.२ प्रतिशतले ज्याला बढाएको थियो ।
कृषि तथा पशुपालन भिसावाहकका लागि कामदार र सञ्चालकबीचको आपसी समझदारीमा ज्याला तय हुने जनाइएको छ । कोरिया १५ एसियाली देशका युवाहरूको आकर्षक श्रम गन्तव्य मुलुक हो ।