नेपालसहित २७ देशका महिलाले छोराछोरी वा पतिलाई नागरिकता दिलाउन सक्दैनन्

565 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

society

अधिकांश अमेरिकीका निम्ति नागरिकता भनेको डिएनए (आनुवांंशिक) जस्तै आमाबाबुबाट सन्तानमा सर्ने प्रक्रिया हो । वास्तवमै संसारभरिका पिताहरूका निम्ति एक हिसाबले यो सत्य हो ।

पिउ रिसर्च सेन्टरले संयुक्त राष्ट्रसंघ र अमेरिकी स्टेट डिपार्टमेन्टका तथ्यांकहरूको विश्लेषणका आधारमा तयार पारेको नयाँ विश्लेषणअनुसार संसारका ७ मध्ये एक देशका महिलालाई सन्तान वा गैर नागरिक पतिलाई नागरिकता दिलाउने अधिकार कानुनले नदिएको वा सीमित पारेको छ।
संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार यस्तो कानुन वा नीति संसारभरिका अधिकांश देशमा ६० वर्षअघिसम्म कायम थियो । पाँच वर्षयता केन्या, मोनाको, यमन र सेनेगलजस्ता धेरै देशले यी कानुन परिवर्तनका निम्ति पाइला चालिसकेका छन्। अघिल्लो महिनामात्रै सुरिनामले नागरिकता कानुन परिवर्तन गरी आफ्ना सन्तान वा पतिलाई महिलाले नागरिकता दिलाउन सक्ने बनाएको छ।
संयुक्त राष्ट्रसंघले राज्यविहिन नागरिकहरूबारे अनुगमन गर्ने आफ्नो कामको अभिन्न अंगका रूपमा यी कानुनहरूबारे अध्ययन गरिरहेको छ। विशेषगरी आमा वा बाबु मध्ये कुनै एकबाट नागरिकता लिन नपाउँदा बालबालिकाहरू राज्यविहिन हुने गरेका छन् । तथापि, सबै स्थितिमा एउटा बालकले आफू वा पिताका नाममा राष्ट्रियता सुनिश्चित गर्न पाउँछन्, तर पिता नै गैर नागरिक छ भने छोरो पनि राज्य विहिन हुने खतरा रहन्छ। परिणामस्वरूप, यी बालबालिका र तिनका आमाबाबु परिचय खुल्ने कागजात वा शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित हुन्छन् ।
जोर्डन, लिविया, साउदी अरेयिबा र संयुक्त अरब इमिरेट्स लगायतका केही देशहरूले गैर नागरिक बाबुबाट जन्मेका बालबालिकाहरूलाई आमाको नामबाट नागरिकता लिने कानुनी विकल्प दिएका छन्। कतार र बुरून्डीजस्ता देशहरूमा भने यस्तो नीति छैन।
अहिले संसारका २७ मुलुकका पुरुष र महिलाबीच छोराछोरी (वा गैर नागरिक पति) लाई नागरिकता दिलाउन सक्ने समान अधिकार छैन । यस विपरीत यी देशका पुरूषहरूलाई भने गैर नागरिक पत्नी र छोराछोरीलाई नागकिता दिलाउन कुनै अवरोध छैन । मध्यपूर्व र उत्तरी अफ्रिकामा यो प्रतिवन्ध निकै बढी छ, जहाँ २० मध्ये १२ देशमा यस्तो कानुन छ । उदाहरणका लागि जोर्डनमा गैर नागरिकसँग बिबाह गरी जन्मेका सन्तानलाई नागरिकता दिइँदैन।
जोर्डनमा ८४,७११ महिलाले गैर नागरिकसँग बिबाह गरेका छन् र यी परिवारमा ३ लाख ३८ हजार बालबालिका रहेको यहाँको गृह मन्त्रालयले हालै एक विज्ञप्ति जारी गरी बताएको छ । साउदी अरेबियामा गैर नागरिकबाट जन्मेका सन्तानलाई महिलाले नागरिकता दिलाउन सक्दैनन्। यसबाहेक उनीहरूले गैर नागरिकसँग बिबाह गर्नुअघि सरकारसँग पूर्व अनुमति लिनु पर्छ। साउदी पुरुषहरूले पनि खाडी सहयोग परिषद मुलुकहरू (बहराइन, ओमान, कता र संयुक्त अरब इमिरेट्स) बाहेका मुलुकका नागरिकसँग बिबाह गर्ने हो भने सरकारको पूर्व अनुमति लिनु पर्छ ।
अफ्रिकी सबसहारा क्षेत्रका आठ देशमा नागरिकता कानुन र नीतिले महिलालाई आफ्ना सन्तानलाई नागरिकता दिलाउन रोक लगाउँछ। संयुक्त राष्ट्रसंघका अनुसार बुरूण्डी, लाइबेरिया र टोगोले आफ्नो संविधानमा लैंगिक समानताको सिद्धान्त अंगिकार गरे पनि संविधान पूर्वको कानुन यथावत् छ ।
एसिया–प्रशान्त क्षेत्रका पाँच देश र अमेरिकाका दुई देशका कानुन र नीतिले महिलालाई आफ्ना परिवारलाई नागरिकता दिन रोक लगाउँछ। स्टेट डिपार्टमेन्टको मानव अधिकार प्रतिवेदनअनुसार, बाहमासको कानुनले ‘पुरुषलाई आफ्ना विदेशी मूलका पत्नीलाई महिलाले आफ्ना विदेशी मूलका पतिलाई भन्दा सजिलै नागरिकता लिाउनस सक्छन्।’ प्यासिफिक सागरको तटीय मुलुक किरिबाटीमा गैर नागरिक पत्नीहरूले सजिलै पतिका नाममा नागरिकता पाउन सक्छन्, तर विदेशीसँग बिबाह गर्ने इकिरीबाटी महिलाहरूलाई त्यही सुविधा दिइएको छैन।