तारुकाका प्रतिस्पर्धी गोरुको बीमा

802 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नुवाकोट- नुवाकोटको तारुका–५ चन्दनीबारीस्थित ठूलोपाटीमा आगामी माघे सङ्क्रान्तिका दिन प्रतिस्पर्धा गर्ने सबै गोरुको बीमा हुने भएको छ । किसानले घरमा पालेका गोरुलाई ढुक्क भएर प्रतिस्पर्धामा ल्याऊन् भन्ने उद्देश्यले प्रतिस्पर्धी सबै गोरुको बीमा गरिएको आयोजकको भनाइ छ । प्रतिस्पर्धी गोरु शारीरिक रूपमा अशक्त भए या सिङ भाँच्चिएमा समेत गोरुधनीले क्षतिपूर्ति पाउने व्यवस्था गरिएको माघे सङ्क्रान्ति मेला व्यवस्थापन समितिले जानकारी दिएको छ ।

goru_1421042678आयोजकका अनुसार यस वर्ष प्रतिस्पर्धाका लागि आइतवारसम्म १६ हल गोरु दर्ता भइसकेका छन् । तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिका दिन गोरु जुधाएर मनोरञ्जन लिने गरिन्छ । आधिकारिक मिति नभेटिएको यो परम्परा झण्डै २ सय वर्ष पुरानो रहेको स्थानीय बुढापाकाको भनाइ छ । बझाङी राजा जयपृथ्वीबहादुर सिंह मावली जाँदा उनको मनोरञ्जनका लागि गोरु जुधाएर देखाइने गरेको बताइन्छ ।

यसअघि यो परम्परा तारुका, बुधसिङ, रातमाटे, दुईपिपललगायत गाविसमा समेत प्रचलित थियो । तर, अहिले भने अन्य गाविसमा यो परम्परा अन्त्य भइसकेको छ । तारुकामा पछिल्लो १२ वर्षदेखि माघे सङ्क्रान्ति मेलासँगै गोरु जुधाउने प्रतियोगितासमेत हुँदै आएको छ । मेलामा हरेक वर्ष नुवाकोट, रसुवा, काठमाडौं, धादिङलगायत स्थानबाट हजारौं दर्शक सहभागी हुन्छन् । प्रतियोगिताको विजयी गोरुधनीलाई उचित पुरस्कारको व्यवस्था गरिएको समितिका अध्यक्ष ज्ञानबहादुर बखरेलले जानकारी दिए ।