बिमा गरिएका गोरु पुरस्कारको लागि जुध्दै

1000 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 goru_1421042678नुवाकोट, माघ १ – माघे संक्रान्तिको दिन देशका सबै ठाउँमा घिउ, चाकु, तरुल खाएर आफन्तसँग रमाइलो गरिन्छ । हरेक पर्वमा सबैको आ–आफ्नो परम्परा हुन्छ । यस्तै परम्परा छ, नुवाकोटमा ।

नुवाकोटमा माघे संक्रान्तिको दिन गोरु जुधाई हुने गर्छ । गोरु जुधाई हेर्न देशका विभिन्न ठाउँबाट आउनेको संख्या धेरै हुन्छ । बिहिबार तारुका र बेत्रावतीमा गरी २४ हल गोरु जुधार्इंदैछ ।

तारुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले भएको आधिकारिक तिथिमिति कतै नभेटिए पनि स्थानीय बुढापाकाहरुका अनुसार झण्डै यो पर्व २ सय वर्ष पूरानो मानिन्छ । हिउँदमा फुर्सदको समयमा किसानहरु माघेसक्रान्तिमा मिठो मसिनो खाएर गोरु जुधाएर मनोरञ्जन लिने परम्पराको थालनी भएको हो ।

पहिले तारुका, बुधसिङ, रातमाटे, दुईपिपल लगायतका गाविसहरुमा पनि गोरु जुधाउने गरेकोमा अरु ठाउँमा यो परम्परा हराईसकेको छ भने तारुकाले व्यवस्थित गरेर परम्परालाई निरन्तरता दिईरहेको छ । तारुकामा पछिल्लो १२ बर्षदेखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरु जुधाउदै आएको छ । मेलामा हरेक बर्ष नुवाकोट, रसुवा, राजधानी काठमाडौं, धादिङका गरि हजारौंको संख्यामा दर्शकको सहभागिता हुने गरेको छ । यो वर्ष तारुकामा जुधाइने गोरुको विमा समेत गरिएको छ ।

यस्तै, नेपालको इतिहासमा लेखिएको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको थलो बेत्रावतीमा पनि गोरु जुधाईंदैछ । पछिल्लो ६ वर्षदेखि बेत्रावतीमा माघेसक्रान्तिमा गोरु जुधाउने गरेको गोसाईकुण्ड युवाक्लबका अध्यक्ष सुरज लबटले जानकारी दिनुभयो ।  किसानहरुले स्वतस्फुर्त रुपमा पालिएको गोरुहरुलाई प्रतियोगिता र मनोरन्जनको रुपमा मात्र नलिई गोरुधनीहरुलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको लबटले बताउनुभयो । प्रतियोगितामा सामेल भएका गोरुहरु शारीरिक रुपमा अशक्त भएमा वा सिङ्मात्रै भाँचिएमा पनि बिमाको व्यवस्था गरिएको छ ।

बेत्रावतीमा गोरु जुधाईसंँगै विभिन्न खेल तथा राष्ट्रिय र स्थानीय कलाकारहरुबाट मनोरन्जनात्मक कार्यक्रम पनि सञ्चालन हुने आयोजकले जनाएको छ ।

तस्विरहरु _ उज्यालो अनलाईन र फाईल फोटो