तरकारी बिक्री हुन छाडेपछि विषादी छोडेर प्रांगारिक खेती

987 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

kheti_907377081धादिङ : अत्यधिक विषादी राखेको भन्दै काठमाडौंका बजारमा धादिङको तरकारी बिक्री हुन छाडेपछि यहाँका कृषक तरकारी खेतीलाई प्रांगारिक बनाउन संगठित रूपमा लागिपरेका छन्। धादिङको नौबिसे गाविस ४ मा केही युवा मिलेर जग्गा भाडामा लिई प्रांगारिक कृषि फर्म सञ्चालन गरेका छन्। १५ रोपनी जग्गा भाडामा लिएर १५ जना कृषक मिली व्यावसायिक रूपमा प्रांगारिक खेती सुरु गरेको नौबिसेका रामराजा पाण्डेले बताए अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

पाण्डेले भने, ‘जब विषादी प्रयोगका कारण हामीले उत्पादन गरेको तरकारी बिक्री हुन छाड्यो तब संगठित रूपमै अब प्रांगारिक खेतीमा लाग्नुपर्छ भन्ने लाग्यो। त्यसलै पहिले छुट्टाछुट्टै खेती गरिरहेका कृषक मिलेर सामूहिक रूपमा प्रांगारिक तरकारी खेती सुरु गरेका हौं।’

कालिदेवी सामूहिक प्रांगारिक कृषि फर्म एवं नमुना केन्द्र दर्ता गरी सामूहिक रूपमा व्यावसायिक तबरले तरकारी खेती सुरु गरेका उनीहरूले कृषि फर्मलाइ प्रांगारिक खेतीको स्रोतकेन्द्रको रूपमा विकास गर्ने लक्ष्य राखेको बताउँदै पाण्डेले भने, ‘अहिले व्यावसायिक रूपमा काम गरिरहेका छौं।

धादिङको तरकारी भन्नासाथ काठमाडौंका व्यापारीले किन्न आनाकानी गर्न थालेपछि तरकारीको पकेट क्षेत्र मानिएका धार्के, नौबिसे, बेनिघाट, धुषालगायतका क्षेत्रका किसानलाई प्रांगारिक खेतीतर्फ लाग्न कृषि कार्यालयले प्रेरित गरेको छ।

बिस्तारै यो फर्मलाई प्रांगारिक खेतीको स्रोतकेन्द्रको रूपमा विकसित गर्ने योजना छ।’ अरूलाई पनि प्रांगारिक खेतीमै लाग्न आग्रह गर्ने गरेको उनले बताए।

जिल्ला कृषि विकास कार्यालय धादिङले पनि विषादीरहित तरकारी उत्पादनमा जोड दिन किसानलाई प्रांगारिक खेतीसम्बन्धी तालिम दिन थालेको छ। कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत महेन्द्रराज कौडालले भने, ‘विषादीको प्रयोगबिना अर्गानिक तरकारी उत्पादन कसरी गर्ने र अर्गानिक खेतीबाट के फाइदा हुन्छ, के बेफाइदा हुन्छ भन्ने किसानलाइ बुझाउन सकेको खण्डमा मात्र प्रांगारिक खेतीतर्फ आकर्षित गर्न सकिन्छ। त्यसलै विषादी रहित तरकारी उत्पादनतर्फ उन्मुख गराउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेका छौं।’

पहिले विषादीको प्रयोग गरिरहेको ठाउँमा एकैपटक छाड्दा उत्पादनमा असर पर्ने बताउँदै उनले भने, ‘त्यसकारण विषादीको प्रयोग कुन समयमा कसरी गर्ने र विषादी प्रयोग गरेको कति दिनमा तरकारी उपभोग गर्नुपर्छ भन्ने ज्ञानसमेत दिने गरेका छौं।’ विषादीको प्रयोगले मानव स्वास्थ्यमा पार्ने असरबारे जानकारी पाएपछि किसान पनि प्रांगारिक खेतीतर्फ आकर्षित हुन थालेको उनले बताए।

धादिङमा उत्पादित तरकारीको मुख्य बजार काठमाडौं हो। धादिङको तरकारी भन्नासाथ काठमाडौंका व्यापारीले किन्न आनाकानी गर्न थालेपछि तरकारीको पकेट क्षेत्र मानिएका धार्के, नौबिसे, बेनिघाट, धुषालगायतका क्षेत्रका किसानलाई प्रांगारिक खेतीतर्फ लाग्न कार्यालयले प्रेरित गरेको छ।