घरेलु हिंसा गर्नेलाई जरिवाना र पीडितलाई मानाचामल

620 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, माघ २– एक वर्षअघि घरेलु हिंसा गरी घर निकाला गरिएकी साङ्कोषकी प्रतिमा लम्साललाई मासिक रुपमा मानाचामलबापतको रकम दिन र अभियुक्तहरुलाई जरिवाना गर्न जिल्ला अदालतले आदेश गरेको छ ।नीलकण्ठ नगरपालिका वडा नं १२ साङ्कोष निवासी प्रतिमाका श्रीमान् कृष्णप्रसाद लम्साललाई जिल्ला अदालतले घरेलु हिंसा गरेकामा रु पाँच हजार, सासू बिन्दादेवीलाई रु दुई हजार ५०० र ससुरा तुलसीप्रसादलाई रु दुई हजार ५०० जरिवाना गर्न आदेश गरेको हो ।गत वर्ष पुस ३ मा श्रीमान्, सासू र ससुराले कुटपिट गरी घर निकाला गरेपछि विस्थापित भएकी प्रतिमाले उनीहरुविरुद्ध घरेलु हिंसा, मानाचामल, अंश, लिखतबदर, सम्बन्धबिच्छेद, जालसाजीसमेत गरी छवटा मुद्दा दायर गरेकी थिइन् । उनले दायर गरेका सबै मुद्दामा जिल्ला अदालतले प्रतिमाको पक्षमा फैसला गरेको छ । जिल्ला अदालतले पीडितलाई अदालतमा फिरादपत्र दायर गरेको दिनदेखि अंशबन्डा गरी लालपुर्जा हातमा नदिएको दिनसम्मका लागि मासिक रु सात हजारका दरले मानाचामल भराउन, सासू ससुराको भागबाट चार भाग लगाई आधा अंश दिन, पीडितलाई भाग नलगाई बिक्री गरिएको जग्गाको लिखत बदर गरी तुलसीप्रसादले जालसाजी गरेकाले रु २०० जरिवाना गर्न आदेश गरेको हो ।पीडितलाई छवटा मुद्दामा सफलता मिले पनि अदालतले गरेको आदेश अभियुक्तहरुले पालना नगरेकाले उनीहरुलाई फैसला कार्यान्वयन छिट्टै भए आफूले न्याय पाउने पीडित प्रतिमाले बताइन् ।जिल्ला अदालतले ०७० चैत १८ गते नै पीडितलाई अदालतले मुद्दा फैसला नगरेसम्मको लागि अन्तरिम रुपमा मासिक रु पाँच हजारका दरले तत्कालीन रुपमा खर्च दिन गरेको आदेशसमेत अभियुक्तहरुले अटेरी गरी अदालतको आदेशलाई अवज्ञा गरेका थिए ।अदालतको आदेशको अवज्ञा गर्नेहरुले फैसला कार्यान्वयन गर्नेमा शङ्का व्यक्त गर्दै आफूले न्याय पाउने भनेको अदालतको फैसला कार्यान्वयन भएका बेलामा मात्र भएकाले त्यसको पर्खाइमा रहेको पीडितले बताइन् । रासस

–