अमेरिकामा संकटकाल घोषणा

582 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

अमेरिका, १३ माघ । अमेरिकाका केही राज्यमा भयानक हिमआँधीको सुरुवातसँगै सोमबार साँझबाट संकटकाल घोषणा  गरिएको एजेन्सीहरूले जनाएका छन् ।  सोमबार स्थानीय समयअनुसार साँझबाट सुरु भएको जुनो नामको हिमआँधी मध्यरातबाट भयानक हुने मौसमविद्हरूले चेतावनी दिएका छन् ।

him aadhiयस्तो चेतावनीसँगै न्यूयोर्क, बोस्टन, रोड आइल्याण्ड, पेन्सिलभेनिया लगायत राज्यमा उच्च सतर्कता र तयारीसँगै संकटकाल घोषणा गरिएको हो । संकटकालसँगै सरकारी तथा नीजि कार्यालय, यातायात सेवा, हवाई सेवा, बजार, विद्यालय बन्द गरिएका छन् ।

कतिपय ठाउँमा हिमआँधी अहिलेसम्मकै खतरानक हुने अनुमानसँगै मानिसहरुलाई सुरक्षित स्थानमा रहन र उच्च सतकर्ता अपनाउन सार्वजनिक अपिल गरिएको छ । हिमआँधीका कारण विभिन्न सरहका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थलले सोमबार तथा मंगलबारका हजारौँ हवाई उडान स्थगित गरिसकेका छन् । सार्वजनिक बस तथा रेल सेवा समेत सोमबार मध्यरातिबाट बन्दको घोषणा गरिएको छ ।

हिमआँधी प्रतिघण्टा ५० देखि ७० माइलसम्मको हुने अनुमानसहित विभिन्न राज्यले सर्वसाधारणहरूलाई जतिसक्दो छिटो घर फर्कन र बाहिर ननिस्कन सतर्क गराएका छन् । हिमआँधीबाट लाखौं मानिस प्रभावित हुने सक्ने भएकाले स्थानीय मिडिया र सामाजिक सञ्जालहरुमा स्थितिका लागि अपडेट रहन समेत आग्रह गरिएको छ ।

स्थानीय गभर्नरहरूले अहिले साँझबाट बाक्लो हिउँसँगै आँधी सुरु भइसकेकाले जतिसक्दो छिटो घर पुग्न सर्वसाधारणलाई सचेत गराइरहेका छन्। उनीहरुले हिमआँधी खतरनाक हुने चेतावनीसहित सोमबार मध्यरातबाट सवारीसाधन सञ्चालनमा पूर्णरोक लगाईएको जनाएका छन् । सार्वजनिक सवारीसाधन र रेल सेवा समेत मध्यरातबाट बन्द गरिएको छ । ती साधन मंगलबार समेत बन्द हुनेछन् । अर्को सूचना नभएसम्मका लागि सबै विद्यालय बन्द गरिएका छन्।
भयानक हिमआँधीको चेतावनीपछि सोमबार साँझबाट सबै कार्यालय, साना, ठूला बजार बन्द भइसकेका छन् । ती कार्यालयले मंगलबार पनि बन्द हुने सूचनासहित कामदारलाई बिदा दिएका छन् ।

मानिसहरूलाई पर्याप्त खानेकुरा जोहो गर्न, पानी, बिजुली, ताप लगायत कुराको वैकल्पिक व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ । जसअनुसार आईतबारदेखि  सोमबार साँझसम्म सुपरमार्केटहरुमा सर्वसाधारणको ठूलो भिड लागेको थियो।