कार्यकक्षमै कुटिए हर्कपुर माविका प्रधानाध्यापक र शिक्षक

686 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_4443धादिङ,- धादिङको वेनिघाट गाउं विकास समितिको वडा नम्बर ३ हर्कपुरमा रहेको हर्कपुर माविको कार्यालय तोडफोड गरिनुका साथै शिक्षकहरु माथि कुटपिट गरिएको छ ।
मदिरा सेवन गरी कार्यालय कक्षमा हुलहुज्जत गर्दै प्रवेश गरेका एक समुहले बिद्यालयका प्रधानाध्यापक पहलमान श्रेष्ठ, महिला शिक्षक शर्मिला त्रिपाठी, अभिभावक कृष्णनारायण श्रेष्ठ माथि हातपात गरी कार्यालयमा समेत तोडफोड गरेको हो ।
बिद्यालयका बिषयमा छलफलका लागि भनेर आईतवार दिउंसो २ वजे तिर कार्यालयमा प्रवेश गरेको टोलीले छलफलनै शुरु नगरी कार्यालय कक्षमा रहेका फर्निचरहरु तोडफोड गर्दै कुटपिटमा उत्रिएको प्रधानाध्यापक श्रेष्ठले वताउनु भयो । बिद्यालयको कक्षा थप गर्ने अनुमती समयमै नपाएपछि  १६ जना बिद्यार्थीले यस बर्षको एसएलसी परीक्षा दिन नपाएको भन्दै अभिभावकहरुको नामवाट बिद्यालय प्रवेश गरेका गैर अभिभावकहरुबाट शिक्षकहरु माथी हातपात भएको बिद्यालयले जनाएको छ ।
यस बर्षको एसएलसी परीक्षामा सहभागी हुनका लागि २०७० असार २० गते भित्र रजिष्ट्रेशन फाराम भरीसक्नु पर्नेमा २०७० मंसिरमा मात्र कक्षा ९ सञ्चालनको अनुमती पाएपछि अघिल्लो बर्ष कक्षा ८ उत्तिर्ण गरेका १८ मध्ये १६ जना बिद्यार्थीले यो वर्ष एसएलसी दिन नपाएका हुन । बिद्यालयले कक्षा ९ सञ्चालनको अनुमती ढिला गरी पाएपछि २०७१ असार ८ गते बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक, कक्षा १० मा अध्ययनरत बिद्यार्थी र उनीहरुका अभिभावक बिच संयुक्त बैठक बसी सहमती गरेको बिषयलाई राजनैतिक दवावमा उल्टाउन खोजेको पनि बिद्यालयले जनाएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार कक्षा सञ्चालनको अनुमतीमा ढिला हुंदा एसएलसीका लागि गएको बर्ष कक्षा ९ मा भर्नुपर्ने रजिष्ट्रेशन फाराम भर्न नपाएका बिद्यार्थीलाई एक बर्ष सम्म पढ्नका लागि लाग्ने शुल्क मिनाहा गर्दै रजिष्ट्रेशन खर्च समेत बिद्यालयलेनै तिर्ने सहमती भएपछि उनिहरु सोही बिद्यालयमा पढ्दै आईरहेका छन । दुई जना बिद्यार्थी भने अन्य बिद्यालयमा गई यो बर्ष एसएलसी परीक्षामा सामेल हुने भएपछि बिद्यालयमा बिवाद बढ्दै गएको हो । सम्वन्धित अभिभावक र बिद्यार्थीहरु समेतको उपस्थितीमा बिद्यालयले गरेको निर्णयलाई उल्ट्याउन गैर अभिभावकहरु लागिपरेको श्रेष्ठले वताउनु भयो ।
आईतवार पनि गैर अभिभावकहरु कार्यालय कक्षमा प्रवेश गरी प्रधानाध्यापक र शिक्षकहरु माथि हातपात गर्नुका साथै फर्निचर तोडफोडका साथै कागजपत्र च्यातेर बिद्यालयको दैनिक प्रशासन चलाउन समेत अवरोध पु¥याएको शिक्षकहरुले वताएका छन । कक्षा १० सम्मको पढाई सञ्चालन भएपनि बिद्यालयमा २सय ७७ जना मात्र बिद्यार्थी अध्ययनरत रहेका छन । एक बर्ष अघि बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष परिवर्तन भएपछि केही व्यक्तिले प्रतिशोधका आधारमा बिद्यालय बिरुद्ध अर्नगल प्रचार गर्दै पटक पटक हमलाको प्रयास गर्दै आईरहेकोमा आईतबार आंफुहरु माथि सुनियोजित रुपमा आक्रमण भएको अभिभावक कृष्णकुमार श्रेष्ठले वताउनु भयो । आक्रमणमा नवराज पाण्डे,कमल मगर र निर्मला लामिछाने लगायत संलग्न रहेको पनि उहाँले जानकारी दिनु भयो ।