आज विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

644 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

onair

धादिङ- विश्व रेडियो दिवस विहीबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

त्यसयता हरेक वर्ष रेडियो दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गर्ने गरिएको छ । रेडियोहरुलाई एउटा माध्यमको रुपमा सम्मान गर्न, प्रसारकहरुबीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र समुदायिक रेडियोहरुलाई सूचनाको पहुँचलाई बढावा दिनका लागि प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।

विश्वमा व्यवसायीक रेडियो प्रशारण सुरु भएको ९५ वर्ष भएको छ । नेपालमा भने रेडियो प्रशारण सुरु भएको ६४ वर्ष पुगेको छ । बिक्रम सम्बत २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो ।

२०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो । अहिले देशका ७४ जिल्लामा एफएम रेडियो स्थापना भएका छन् । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार अहिले इजाजत प्राप्त रेडियो ५ सय १५ र नियमित प्रसारणमा ३ सय ६० वटा रेडियो रहेका छन् ।

सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिएको रेडियोको पहुँच बढ्दै गएपनि लोडसेडिङ, आर्थिक तथा आन्तरिक व्यवस्थापन जस्ता समस्या भोग्नुपरेको छ ।