चर्को ब्याज तिर्दै पुराना ऋणी

651 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

7000762be162ee10328368b4de2ad3ed_L
काठमाडौं-आँखुखोला जलविद्युत आयोजनाले निर्माणताका लिएको ऋणबापत अहिले बैंकहरुलाई वार्षिक ११ प्रतिशतका दरले ब्याज तिर्छ। अचेल प्रभु बैंकबाट ऋण लिएर गाडी किन्ने ग्राहकले वार्षिक ७.९९ प्रतिशतका दरले ब्याज तिरे पुग्छ। नेपाल राष्ट्र बैंकको नियम हेर्ने हो भने गाडी किन्न ऋण लिने प्रभुका ग्राहकले भन्दा जलविद्युतको क्षेत्रमा लगानी गर्ने आँखुखोलाले कम ब्याजदरमा ऋण पाउनुपर्ने हो। तर स्थिति ठ्याक्कै उल्टो छ। कारण– ऋण लिँदाको समय अन्तर र तरलता स्थिति।
आँखुखोलाले देशको बैंकिङ प्रणालीमा तरलता (लगानीयोग्य पुँजी) कम भएर ब्याजदर अकासिएको बेला ऋण लिएको थियो। त्यसैले ऊ अहिले प्रभुको अटोलोन ग्राहकको भन्दा ‘चर्को’ दरमा ब्याज तिर्न बाध्य छ।
प्रभुको ग्राहकले भने तरलता पर्याप्त भएको बेला ऋण लिएकाले ८ प्रतिशतको ‘आकर्षक’ ब्याज तिरेर सुख पाउँछ।

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता थुप्रिँदा निक्षेप, कर्जा दुवैको ब्याजदर घटेको छ। अहिले बैंक, वित्तीय संस्थाबाट ऋण लिनेले सस्तो ब्याजमै पाइरहेका छन्। बैंकहरुले ऋण बढाउन विज्ञापनसमेत गरिरहेका छन्। पुराना ऋणी भने बैंकहरुले तरलता अभावका बेला तोकिएको बढी दरकै ब्याज असुलिरहेको गुनासो गर्छन्।
आँखुखोलाका कार्यकारी निर्देशक विश्वनाथ कँडेल बैंकले १ प्रतिशतले ब्याजदर घटाउँछौं भनेर आश्वासन दिएको धेरै समय भइसक्दा पनि नघटाएको गुनासो गर्छन्। उनले ११ प्रतिशत ब्याजदरमा बैंकबाट ऋण लिएर ८.४ मेगावाटको आखुँखोला जलविद्युत आयोजना निर्माण गरेका थिए।
बैक तथा वित्तीय संस्थाले तरलता अभाव देखाउँदै ११ प्रतिशत ब्याजदरमा आयोजनामा लगानी गरेका थिए। अहिले तरलता सहज भएको भन्दै बैंकहरुले ७–८ प्रतिशतमा नै ऋण लगानी गर्न थालेका छन्। तर पुराना ग्राहकलाई पुरानै दरमा ब्याज लिइरहेका छन्। कँडेलले भने, ‘११ प्रतिशतबाट १० प्रतिशतमा झार्न पनि बैंकले गाह्रो मानिरहेका छन्।’
तरलता बढे पनि ब्याज नघटेको भन्दै पुराना ग्राहक सम्बन्धित बैंक धाउन थालेका छन्।
बैंकहरु भने पुराना ग्राहकको ब्याजदर पनि घटाएको बताउँछन्। ‘गुनासो आउने गरेको छ। तर हामीले साबिकका ग्राहकको ब्याजदर पनि निकै घटाएका छौ,’ नेपाल बंगालादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले भने, ‘नयाँ ग्राहकको ब्याज घट्नेबित्तिकै पुरानाको पनि घट्ने गर्छ।’ निश्चित ब्याजदर राख्न बैंक र ग्राहकबीच सहमति भएकोमा भने परिवर्तन गर्न नसकिने उनले बताए।
अहिले जलविद्युत आयोजनाहरुमा बैंक तथा वित्तीय संस्थाले साढे ८ देखि १० प्रतिशतसम्मको ब्याजदरमा ऋण लगानी गरिरहेका छन्। अधिकांश बैंकले जलविद्युत, कृषि, आवास, सेयर, अटोलगायत क्षेत्रमा कर्जाको ब्याजदर घटाएका छन्। प्रभु बैंकले ७.९९ प्रतिशत ब्याजमा अटो लोन दिइरहेको छ। सनराइज बैंक, एनआइसी एसियालगायत बैंकले ८ प्रतिशतमा सेयर कर्जा दिइरहेका छन्। राष्ट्रिय वाणिज्य बैंकले ८ प्रतिशत ब्याजमा विपन्न वर्ग र ५ प्रतिशतमा कृषि कर्जा दिइरहेको छ।

अहिले बैंक तथा वित्तीय संस्थासँग ३० अर्ब रुपैयाँभन्दा बढी तरलता छ। आर्थिक वर्ष सुरु भएको ६ महिना बितिसकेको छ। बाँकी अवधिमा सरकारले पुँजीगत बजेटको खर्च बढाउने हुँदा तरलता अझ बढ्न सक्ने सम्भावना छ। तरलता बढ्दै गए बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदर अझै घट्न सक्छ।
नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेले भने अहिलेको तरलतालाई त्यत्ति ठूलो मान्न तयार छैनन्। ‘अहिलेको तरलता देशका लागि ठूलो होइन,’ उनले भने, ‘अर्थिक क्रियाकलापले गति लिन नसकेकाले कर्जा वृद्धि हुन नसकेको हो।’
पछिल्लो १५ महिनामा कर्जाको ब्याजदर ४ देखि ६ प्रतिशतसम्म घटेको लुम्बिनी बैंकका प्रमुख कार्र्यकारी अधिकृत शोभनदेव पन्तले बताए। पोहोरसम्म बैंकहरुले १५ प्रतिशतसम्म ब्याजमा ऋण प्रवाह गरिरहेका थिए। ‘दीर्घकालीन योजना र छोटो अवधि दुबैको लागि बैंकहरुले ब्याजदर घटाएका छन्,’ उनले भने।
बढ्दो तरलताले साना, ठूला सबैै बैंकमाथि कर्जा बढाउन दबाब परेको छ। केन्द्रले कर्जा बढाउन शाखालाई दबाब दिन थालेको कार्यरत कर्मचारी बताउँछन्। अहिले अधिकांश बैंकमा कर्मचारीमाथि निक्षेप बढाउन दबाब छ। कर्जा बढाउन बैंकहरुले आकर्षक योजना पनि अगाडि सारेका छन्। राष्ट्र बैंकले जलविद्युत तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ। प्राथमिकता क्षेत्रमा न्यून ब्याजदरमा कर्जा प्रवाह गर्नुपर्नेमा उल्टै बढी ब्याज लिने गरेको आँखुखोलाका कँडेलको गुनासो छ।

नेपाल राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्षको मंसिरसम्म बैंक तथा वित्तीय संस्थाले निक्षेपमा औसत ३.६७ प्रतिशत ब्याज दिने गरेका छन्। कर्जामा भने औसत ९.९३ प्रतिशत ब्याज लिने गरेका छन्। गत आवको कर्जामा औसत ११.५० प्रतिशत ब्याजदर थियो।