बेहुलाको घरमा बेहुली धर्नामा बसिन्

661 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

preeti_kumari_588430258फोटो :बिबिसी
भारतको बिहार राज्यस्थित एक गाउँमा युवकलार्इ अपहरण गरेर बिहे गराउने परम्पराले एउटा अनौठो घटना विकसित भएको छ।

बिहारको बेगुसराय जिल्लाको मकदमपुर गाउँकी एक युवती माइती घरबाट जन्तीसहित उनको घरमा पुगेर धर्नामा बसिन् । मंगलबार साँझ गाउँका एक मुखियाले जुस खुवाएर उनको अनसन तोडाउनुपर्‍यो ।

बेहुलाको घरमा गएर धर्ना बसेकी प्रीतिको माग अन्तत पुरा भयो । एक वर्षअघि नै विवाह बन्धनमा बाँधिएका उनका पति धिरजकुमारले उनको गलामा मफलर लगाइदिएपछि उनले धर्ना तोडेकी हुन् ।

केटाको पक्षबाट बिहे भइसकेकी बुहारी दाइजो कारण लैजान नमानेपछि प्रीति पतिकै घरमा गएर धर्नामा बसेकी थिइन् । युवतीका परिवारले दुबैपक्षबीच सहमतिमै बिहे भएपनि केटापक्षले मागेजति दाइजो नदिएको भन्दै आफूहरुलार्इ दु:ख दिएको गुनासो गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ।

भरौल गाउँका महाकान्त ईश्वरकी छोरी प्रीतिकुमारी प्रीति र मकदमपुरका धिरज ठाकुरको बिहे एक वर्षअघि नै भएको थियो । तर केटापक्षले धिरजलार्इ अपहरण गरी गरिएको बिहे नमान्ने भनेपछि यो समस्या आएको हो ।

‘बिहेकै बेलामा केटापक्षबाट दाइजोको अनावाश्यक माग गर्न थाले’, प्रीतिका बाबु महाकान्त र्इश्वरले भने, ‘दाइजोकै बिवाले तनाव भएपछि त्यो मामिला यो अवस्थासम्म आइपुगेको हो ।’

धिरज र  उनको परिवारले भने आफ्नो तर्फबाट मनाउँदा पनि केटीपक्ष नमान्दा यो अवस्था आएको दाबी गरेको छ। केटालार्इ अपरहण गरेर जबरजस्ती बिबाह गराउँदा यो घटना भएको केटापक्षले जिकिर गरेका छ्न् ।

बिहारस्थित मन्सुरचकका प्रमुख सर्वजीत कुमारका अनुसार केटाका भाइले दाजुको जबरजस्ती बिहे हुन लागेको भन्दै उजुरी दिएका थिए । उनले उजुरीमा धिरजको अपहरण प्रीतिसँग बिहे गराइदिन गरेको उल्लेख गरेका थिए ।

सर्वजीतका अनुसार पुलिसले खोजतलास गर्दा धिरजको बिहे भइसकेपछि उनलार्इ केटीकै घरमा फेला पारिएको थियो । बिहे हुनुअघि धिरजलार्इ अपहरण गरेको अभियोगमा प्रीतिका पितासहित केही मानिससमेत गिरफ्तार भइसकेका थिए ।

जबरजस्ती गरिने यस्तो बिहेमा दुबै पक्ष आफूलार्इ सही मान्छन् । दुबै पक्षले आफ्नो अडान लिएपनि प्रीतिका लागि उनको घरमा जानुबाहेक अर्को विकल्प थिएन ।

आफूलार्इ पतिले नलगेपछि प्रीतिले गत डिसेम्बरमा पटनामा गएर बिहार राज्य महिला आयोगमा समेत उजुरी गरेकी थिइन् । प्रीतिको उजुरीपछि आयोगकी सदस्य रिनाकुमारीले यो घटनामा हस्तक्षेप गरिन् ।

बिहार महिला आयोगकी सदस्य रिना कुमारीले यो मामिलामा प्रीतिको कुनै गल्ती नभएको जनाउँदै उनलार्इ न्याय दिलाउने जनाइन् । त्यसैगरी सामाजिक कार्यकर्ता तथा पटना विश्वविद्यालयकी प्राध्यापक डेजी नारायणले यसलार्इ  ‘मध्ययुगीन परम्परा’ को संज्ञा दिँदै यो समस्यामा दाइजो कारण आएको बताइन् ।

-अन्नपूर्ण/बिबिसी हिन्दी