वजेट कटौती गरिदिंदा चेपाङलाई समस्या

765 पटक पढिएको

सम्पादक: Dhadingnews.com

DSC09596
एशोदा नेपाल
धादिङ / सरकारले वजेट कटौती गरिदिंदा चेपाङ समुदायको उत्थान र शैक्षिक उन्नयनका निम्ति चेपाङ विकास कार्यक्रम मार्फत सञ्चालन गरिएका सबै कार्यक्रमहरु  अलपत्र परेका छन ।
चालु आर्थिक बर्षका लागि सरकारले देशभरीका चेपाङ समुदायको लागि शिक्षा र शशक्तिकरण कार्यक्रम सञ्चालन गर्न गत बर्ष ९५ लाख रुपैया विनियोजन गरेकोमा यो बर्ष ४० लाख रुपैया मात्र विनियोजन गरेकोमा कुल वजेटको चालिस प्रतिशत रकम कटौती गरेर निकासा गरिदिंदा चेपाङ विकास कार्यक्रम सञ्चालन गर्न समस्या परेको बताईएको छ । सरकारले विनियोजन गरेको चालिस लाख मध्ये चेपाङ संघको चितवन टिकौलीमा निर्माणाधिन अवस्थामा रहेको केन्द्रिय कार्यालय भवन निर्माणका लागि १० लाख रुपैया रकम छुट्टयाईएको थियो । भवन निर्माण गर्न दिएर वांकी रहेको ३० लाख वाट देशैभरी कार्यक्रम सञ्चालन भईरहेकोमा अहिले आएर सरकारले चालिस प्रतिशत रकम कटौती गरिदिंदा सबैकाम अलपत्र परेको संघले जनाएको छ ।
चेपाङ समुदायको वसोवास रहेको धादिङ,चितवन,मकवानपुर गोरखा,तनहुं,लमजुङ, बांके र वर्दिया जिल्लामा चेपाङ विकास कार्यक्रम मार्फत माध्यमिक तहमा अध्ययनरत देशभरीका २२ हजार चेपाङ बिद्यार्थीका लागि बिद्यालय पोशाक बितरण तथा आवासीय छात्रावास सञ्चालन भएका जिल्लामा सहयोग गर्ने कार्यक्रम रहेपनि वजेट कटौती हुंदा समस्या भएको नेपाल चेपाङ संघका केन्द्रिय सदस्य तिलक चेपाङले वताए ।
नेपाल चेपाङ संघका केन्द्रिय सदस्य तिलकका अनुसार सरकारले दिंदै आएको बिद्यालय पोशाक समयमा नदिंदा यो बर्ष बिद्यालय भर्ना भएका मध्ये ४७ प्रतिशत चेपाङ बिद्यार्थीले बिद्यालय छाडिसकेका छन । राष्ट्रिय जनगणना २०६८ अनुसार  सिमान्तकृत समुदायमा सुचिकृत चेपाङ समुदायको जनसंख्या देशभरीमा ६७ हजार  रहेको छ ।
सिमान्तकृत वर्गमा सूचिकृत समुदाय भएका कारण चेपाङ बिद्यार्थीलाई पढ्न सघाउने उद्धेश्यले चेपाङ विकास कार्यक्रम मार्फत बिद्यालय पोशाक तथा आवासीय छात्रावास सञ्चालनका लागि सरकारले कार्यक्रम दिएपनि वजेट भने अपुग दिंदै आएको नेपाल चेपाङ संघका केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङले वताए । अहिले सञ्चालन भईरहेको कार्यक्रम सञ्चालन गर्न बार्षिक दुई करोड वजेट लाग्ने भएपनि सरकारले हरेक बर्ष रकम कटौती गर्दै गईरहेको केन्द्रिय अध्यक्ष जितेन्द्र बताउंछन ।
सरकारले माध्यमिक तहमा पढ्ने चेपाङ बिद्यार्थीलाई बिद्यालय पोशाक र छात्रावास सहयोग दिएपनि उच्च मावि र त्यो भन्दा माथिल्लो तहमा पढ्ने चेपाङहरुलाई भने उपेक्षा गरेको चेपाङ संघको गुनासो छ । अहिले देशैभरी चेपाङ समुदायका  ३५ छात्रा र ४८ छात्र उच्च शिक्षा अध्ययनरत रहेका छन ।  चेपाङ संघका केन्द्रिय अध्यक्ष जितेन्द्रका अनुसार चेपाङ समुदायवाट स्नात्तकोत्तर तहको पढाई पुरा गर्ने पहिलो र एकमात्र व्यक्ति तिलक चेपाङ हुन भने अहिले सम्म चार जना चेपाङ पुरुषले स्नातक तहको पढाई पुरा गरिसकेका छन । त्यसैगरी देशभरीवाट एसएलसी उत्तिर्ण गर्ने चेपाङको संख्या २ सय ७० पुगेको छ ।
सरकारले विनियोजन गरेको वजेट कटौती हुंदा धादिङको गजुरी, चितवनको शक्तिखोर,मकवानपुरको चैनपुरमा सञ्चालनमा रहेको चेपाङ छात्रावासमा रहेर पढ्दै गरेका बिद्यार्थीलाई खाना खुवाउन समेत समस्या हुंदै गईरहेको नेपाल चेपाङ संघले जनाएको छ ।