वैदेशिक रोजगारीमा ठगी बढ्यो-सात महिनामा ४४ करोडको उजुरी

448 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

baideshik_rojgar_yuwa_12543_265361393_151221557_386028426काठमाडौं : वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दोक्रममा देखिएको छ। चालु आर्थिक वर्षको सात महिनामा मात्रै ४४ करोड ५७ लाख रुपैयाँभन्दा बढीको ठगीका उजुरी परेका छन्।

ठगीका उजुरीको तुलनामा फर्स्‍योट हुनेक्रम भने न्यून छ। उजुरीमा छानबिन गरी पीडितलाई न्याय दिलाउने काम पनि सुस्त छ।
पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्ममा ठगीका ११ सय ८७ वटा उजुरी परेका छन्। यो उजुरी संख्या उच्च हो। वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम असुलेर फरार हुने, रकम असुले पनि विदेश नपठाउने, राहदानी नियन्त्रणमा लिएर राख्नेलगायतका अवैध काम गर्नेका विरुद्ध उजुरी परेको हो अन्नपूर्ण पोष्ट डट कममा खबर लेखिएको छ ।
यसैगरी, काम अनुसार तलब नदिने, एउटा काममा भनेर अर्कैमा पठाउने म्यानपावर कम्पनी तथा व्यक्तिका विरुद्ध पीडितले वैदेशिक रोजगार विभागमा उजुरी दिने गर्छन्।
वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम असुलेर फरार हुने, रकम असुले पनि विदेश नपठाउने, राहदानी नियन्त्रणमा लिएर राख्नेलगायतका अवैध काम गर्नेका विरुद्ध उजुरी परेको हो। 
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्ममा कुल ४४ करोड ५७ लाख ११ हजार आठ सय ५२ रुपैयाँको ठगीको उजुरी परेको हो। विभागका अनुसार ठगीका घटना र दाबी रकम महिनैपिच्छे बढ्दोक्रममा छ।
विभागमा उजुरी परेको तुलनामा अदालतमा मुद्दा दायर गर्ने प्रवृत्ति भने न्यून छ। सात महिनामा कुल ११ सय ८७ वटा ठगीका उजुरी परेकामा यस अवधिमा अदालतमा भने जम्मा ९० वटा मुद्दामात्र दर्ता भएका छन्।
यसअवधिमा अदालतमा जम्मा १२ करोड ३७ लाख ८० हजार नौ सय ७१ रुपैयाँ बराबरको मात्र बिगो दाबी गरिएको छ। ठगी उजुरीका आधारमा अदालतमा बिगो दाबी गरिएको रकम ज्यादै कम हो।
ठगीको उजुरी परेपछि सुरुमा विभागले पीडित र पीडक दुवै पक्षलाई झिकाएर मिलापत्र गराउन पहल गर्छ। दुई पक्षबीच आपसी सहमति हुन नसकेका विषयमात्र अदालतसम्म पुग्ने गर्छन्।
अदालतमा लगिने अधिकांश मुद्दा व्यक्तिगत ठगीका हुने गरेका छन्। म्यानपावर कम्पनीले गर्ने ठगीलाई संस्थागत र व्यक्तिले गर्ने ठगी व्यक्तिगतमा पर्छन्।
वैदेशिक रोजगारीका नाममा दलालले नेपाली युवालाई सरकारी अनुमति नलिई भारतीय मार्ग हुँदै तेस्रो मुलुकमा लैजाने गर्छन्। विदेश लैजाने नाममा रकम लिएर फरार हुने, विदेशमा लगेर अलपत्र पार्ने प्रवृत्ति बढ्दोक्रममा छ।
हाल सरकारी अनुमति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ३५ लाख नाघिसकेको छ। दैनिक औसतमा १५ सय जना युवा कामको खोजीमा विदेसिने गर्छन्।
विदेसिनेमध्ये अधिकांशको गन्तव्य मलेसिया र खाडी मुलुकतर्फ छ। सरकारी अनुमति नलिई अवैध तरिकाले वैदेशिक रोजगारीमा जानेको संख्या पनि २० लाख हाराहारीमा रहेको अनुमान छ।