विद्यार्थीले बनाए नयाँ स्मार्ट कार्ड

555 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

चितवन-घरबाट विद्यालय हिँडेका बालबालिकाको सुरक्षालाई लिएर चिन्तित अभिभावकलाई सघाउने गरी विद्यार्थीको एक समूहले स्मार्ट कार्ड आइडी निर्माण गरेको छ। कामकाजी अभिभावकलाई बालबालिका स्कुल पुगे/नपुगेको वा स्कुलबाट घर फर्के/नफर्केको जानकारी दिने प्रविधिसहितको उक्त कार्ड सूचना तथा सञ्चारप्रविधि विषय अध्ययन गरेका पाँच जना विद्यार्थी निर्माण गरेका हुन् नागरिक न्यूज  डट कमले खबर लेखेको छ ।
‘रेडियो फ्रिक्वेन्सी प्रणाली उपयोग गरेर स्मार्ट आइडी कार्ड बनाएका हौं,’ कृष्ण पोखरेलले शनिबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। भारत, कुरुक्षेत्रको नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजीमा इलेक्ट्रोनिक्स तथा कम्युनिकेसनमा इन्जिनियरिङ गरेका पोखरेल, विशेष सिग्देल, निश्चित गौतम, ओभरसियरहरू सुभास पोखरेल र सुजन श्रेष्ठले छ महिना लगाएर यो कार्ड बनाएका हुन्।
कार्यक्रममा जानकारी गराइएअनुसार स्कुल वा कलेजमा रहने विशेष प्रकारको उपकरणअगाडि कार्ड देखाएपछि विद्यार्थीको हाजिरी हुनुका साथै तत्काल अभिभावकको मोबाइलमा एसएमएस जाने गर्छ। पोखरेलका अनुसार अंग्रेजी वा नेपाली दुवै भाषामा निःशुल्क रुपमा एसएमएस जाने व्यवस्था मिलाइएको  छ।
स्मार्ट कार्ड देखाउने उपकरणलाई १५ हजार रुपैयाँ पर्छ। ‘एकभन्दा थप उपकरण राख्दा १० हजार रुपैयाँ पर्छ’ पोखरेलले भने। स्मार्ट कार्डको एक सय रुपैयाँ पर्छ।  उपकरणमा रहेको सफ्टवेयरले स्वचालित रूपमा अभिभावकको मोबाइल फोनमा एसएमएस पठाउने पोखरेलले जानकारी दिए। ‘यसमार्फत विद्यालयलाई वा कलेजलाई विद्यार्थीको हाजिरी राख्न पनि सजिलो हुन्छ,’ उनले भने, ‘अभिभावकहरुलाई पनि आफ्ना बच्चा स्कुल–कलेज पुगेको र निस्केको जानकारी हुन्छ।’