चट्याङले बर्सेनि एक सय ५० को मृत्यु

658 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं : पछिल्लो साता देशका विभिन्न भागमा चट्याङमा परी पाँचजनाको मृत्यु भयो। मकवानपुर, डोटी, सोलुखुम्बुलगायतका जिल्लामा परेको चट्याङले दर्जनौं पशुपन्छीसमेत मरे। पछिल्ला वर्षमा चट्याङका कारण जनधनको क्षति हुने क्रम बढेको छ।
गत वैशाखदेखि फागुन १९ गते (मंगलबार) सम्म चट्याङमा परेर देशभर एक सय तीनजनाको मृत्यु भएको छ। एक सय ८७ वटा चट्याङका घटनामा दुई सय ४१ घाइते भएका छन् भने एक सय पशुपन्छी मरेका छन्।

thunderstorm_188931444_441159026

गृह मन्त्रालयका अनुसार चट्याङकै कारण बर्सेनि औसत एक सय ५० जनाको मृत्यु हुन्छ जुन अन्य प्राकृतिक प्रकोपले ज्यान गुमाउने संख्याभन्दा बढी हो।
चट्याङमा परेर सन् २०१२ मा एक सय १९ को मृत्यु भएको थियो भने दुई सय ६७ घाइते भएका थिए अन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ ।
त्यस वर्ष दुई सय ५६ पशुपन्छी मरेका थिए। सन् २०१३ मा दुई सय १२ चट्याङमा परी एक सय ४६ को मृत्यु भएको थियो र दुई सय ८६ घाइते भएका थिए।
पाँच सय ४८ पशुपन्छी मरेका थिए। २०१४ मा ९९ को मृत्यु र दुई सय २७ घाइते भएका थिए। त्यस वर्ष एक सय ७७ वटा चट्याङका घटना भएका थिए।

विज्ञहरूका अनुसार जाडोमा कम र गर्मीयाममा बढी चट्याङ पर्छ। ‘जाडोमा पनि चट्याङ पर्छ तर तुलनात्मक रूपमा वैशाखपछिका महिनामा बढी पर्छ’, मौसमविद् मणिरत्न शाक्यले भने। चट्याङमा विद्यावारिधि गरेका श्रीराम शर्माका नेपालमा सबैभन्दा धेरै चट्याङ झापा, पोखरा र नारायणी नदी आसपासमा पर्छ।
आकाशमा एकपटक चट्याङ पर्दा २० हजारभन्दा बढी एम्पियरको करेन्ट पैदा हुन्छ। यससँगै वायुमण्डलको तापमान पनि एक्कासि बढेर तीस हजार डिग्री सेल्सियसभन्दा माथि पुग्छ।
पृथ्वीको तापक्रम छिटो बढ्ने र छिटै चिसो हुने प्रक्रियाले बादल उथलपुथल भई बादलका बीच घर्षण हुँदा चट्याङ पर्छ। शर्माका अनुसार एकपटक चट्याङ पर्दा औसत पाँचपटक पृथ्वी र वायुमण्डलमा करेन्ट आहोरदोहोर गर्छ।
चट्याङ वायुमण्डलमा देखापर्ने विद्युतीय धारको प्रवाह हो। वायुमण्डलमा क्युमलोनिम्बस नामको बादल बन्ने बेलामा मात्रै चट्याङ देखिन्छ। मौसमविद् शाक्यका अनुसार नेपालसहित दक्षिण एसियाली देशमा गर्मीका बेला यो बादलको उत्पत्ति हुन्छ।
जमिनदेखि १० किलोमिटरमाथि रहेको यो बादलको माथिल्लो भाग हिउँ, बरफ, असिनाजस्ता ठोस पदार्थका रूपमा रहन्छ। बादलको तल्लो भागमा भने ठूलाठूला पानीको थोपा हुन्छन्।
विज्ञहरूका अनुसार वायुमण्डलीय अस्थिरताका कारण माथिको ठोस पदार्थ तल झर्छ भने तल्लो भागमा रहेको तरल पदार्थ माथि जान्छ। ‘बादल उथलपुथल भएका बेला ठोस र तरल पदार्थबीच भएको घर्षणबाट विद्युतीय चार्ज उत्पत्ति हुन्छ।
यही बेला बिजुली चम्किने र चट्याङ पर्छ’, शाक्यले भने, ‘बिजुली चम्किएका बेलाम्वायुमण्डलमा अत्यधिक तापशक्ति पैदा हुन्छ।’
शर्माका अनुसार चट्याङले सधै सजिलो ठाउँ खोज्छ। जसले गर्दा अग्लो रूख, टावर तथा डाँडामा चट्याङ बढी पर्छ। संसारमा सबैभन्दा धेरै चट्याङ अफ्रिका, मध्यअमेरिका र दक्षिणपूर्वी एसियामा पर्छ।