धनवहादुरको सहयोगार्थ अमेरीकामा उठाईएको १८ सय १५ डलर खोई ?

798 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङन्युज समाचारदाता
महादेवबेसी / धादिङको आग्रा खोलामा मजदुरी गर्दै आईरहेका धनवहादुर तामाङलाई सहयोग गर्न भन्दै सात महिना अघि अमेरीकामा बस्ने नेपालीहरुले धनवहादुर सहयोगार्थ कन्सर्ट गरेर उठाएको भनिएको १८ सय १५ अमेरीकी  डलर अझै सम्म धनवहादुरले फेला पारेका छैनन ।
कोमल वलीले ‘पोइल जान पाम…’ बोलको गीत बजारमा ल्याएपछि ‘पोइल जान पाम भन्नेलाई मैले ल्याउन पाम… ” बोलको गित गाएर चर्चामा आएका सुमन बुढामगरले अमेरीकामा बस्दै आईरहेका नेपालीहरुका बिचमा न्युयोर्कमा एकल साँझ प्रस्तुत गरेको समाचार सात महिना अघि एक दैनिकले प्रकाशित गरेको थियो ।  काठमाण्डौबाट प्रकाशित हुने एक नेपाली राष्ट्रिय दैनिकले अमेरीकाको न्युयोर्क  डेटलाइन राखेर २०६९ आश्विन २९ गते ‘सहयोगार्थ अमेरीकामा कन्सर्ट’ शिर्षकमा कला पृष्ठमा समाचार प्रकाशित गरेको थियो ।  उक्त दैनिकको समाचार अनुसार दुई वर्षदेखि अमेरिकामा बस्दै आएका गायकले कन्सर्टकै क्रममा एकैपटक ४ नयाँ गीति एल्बम पनि सार्वजनिक गराएका थिए । धादिङ आग्राखोला किनारमा दुई दशकदेखि गिट्टी कुटेर जीवन चलाउँदै आएका धनबहादुर घले तामाङको सहयोगार्थ गरिएको भनिएको कन्सर्टमा १८ सय १५ अमेरिकी डलर उठेको समाचारमा उल्लेख गरिएको थियो ।
गायक   बुढामगरले चार एल्बमबाट आउने सम्पूर्ण रकम धनवहादुरकै सहयोगार्थ प्रदान गरिने बताएको भनिएपनि धनवहादुरले अहिले सम्म एक पैसा नपाउनुले धनवहादुरको नाममा ठगि भएको स्थानीयवासीले आशंका गरेका छन  । दैनिक पत्रिकाको समाचार अनुसार धनवहादुरको सहयोगार्थ भन्दै न्युयोर्कको सिटी कन्ट्रोलर जोन सी लिउले उनका ‘परदेशको कोसेली’, संगीतकार तथा गायक अम्बर गुरुङले ‘संगीत’, प्रख्यात गायक माइकल ज्याक्सनको भतिजी टान्य ज्याक्सनले ‘हिट्स अफ सुमन ’ र राजा घलेले ‘कौरा सालैजो ’नामक एल्बम सार्वजनिक गरेका थिए । यता सोही कायक्रममै संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति समेत रहेका गुरुङलाई ‘लाइफ टायम अचिभमेन्ट अवार्ड ’ समेत दिइएको थियो ।
धनवहादुरको  सहयोगार्थ आयोजना गरिएको भनिएको उक्त कार्यक्रममा बालकलाकार एन्जिला राई, मिस नेपाल यूएस(२०१२ आस्था श्रेष्ठ, मल्टी गिनिज बुक रेकर्डर रोहित तिमिल्सिना, यूएसनेपाल अनलाइन डटकमका प्रधान सम्पादक प्रदीप थापामगर, कलाकारद्धय अनील रोका र कृति रोकालाई पनि सम्मान गरिएको दैनिक पत्रिकाको समाचारमा प्रकाशित गरिएको थियो । यति धेरै कार्यक्रम गरेर संकलन गरिएको रकम अहिले सम्म किन पाएनन धनवहादुरले यो बिषयमा स्थानीय युवाहरुले चासो देखाउन थालेका छन । धनवहादुरलाई सहयोग आउन लागेको समाचार देखेपछि पहिलो पटक खवर पढेर धनवहादुरलाई सुनाईदिने स्थानीय जनजागृत्ती मावि महादेववेसीका शिक्षक रामचन्द्र रुपाखेतीलाई अहिले  धनवहादुरको नाममा ठगि भएको शंका लागेको छ । चर्चित कलाकारहरुको उपस्थितीमा भएको भनिएको उक्त कार्यक्रमबाट संकलित रकम धनवहादुरले पाउंदैछन भनेर समाचार लेख्ने पत्रिकाले पनि यस बिषयमा जिम्मेवारी लिनुपर्ने रपाखेती बताउंछन ।
को हुन धनबहादुर ?
नाम धनबहादुर हो उनको तर हातमुख जोड्नमात्र होइन अधिकांश समयमा दुईपैसापनि हुँदैन साथमा । एक महनिा अघि देखि उनले एक छाक पेटभरी खान पाएका छैनन । कमाई गर्ने माध्यम भनेको गिट्टि बिक्रि हुनु हो । एक महिना यता गिट्टी बिक्री भएको छैन । साथमा एक पैसा नहुंदा एक महिना  देखि दुई फांको चिउरा पानीको भरमा खाएर  बसिरहेको उनले बताए । अन्नपूर्ण समाचारदाता धनवहादुरलाई भेट्न आग्राखोलामा पुग्दा प्लाष्टिकले बेरेको छाप्रो भित्र  सुतिरहेका थिए । मंगलीमाया छाप्रो वाहिर बसेर झिंक्रा मिलाईरहेकी थिइन । “हातखुट्टा गलेर फत्तक हुन्छन् तै पनि सकीनसकी हाते हम्मर नउचाली सुख छैन । हातपाखुरामा बल हुँदा त ठीकै थियो अहिले नाडीमा बल नभएपनि पापीपेटका लागि यो उमेरमा पनि दुःख गर्नु परेको छ । खान पाउनुछैन ,भोक र थकाईले ज्यान दुखेर सुतिरहेको छु’ गहभरि आँसु पार्दै धनवहादुर तामाङले आफ्नो बेदना सुनाए ।
कसलाई सुनाएर के हुन्छ र पीडा र वेदनाले उकुस मुकुस बनेका धनबहादुरले सुस्केरा हाल्दै  ८० वर्षको उमेरमा खोलाको वगरमा गिट्टी फुटाउनु पर्नुको आफ्नो पीडा लुकाउन खोजेपनि उनको अनुहारले सबै कुरा स्पष्ट पारिरहेको थियो  । धनीमानीको कोखमा जन्मिन पाएको भए यतिखेर एस आराम गरेर तीर्थ धाम गएर बस्न पाइन्थ्यो होला तर आफ्नो त भाग्यनै यस्तै रहेछ ।
शरीरका मांसपेसीहरु खुम्चिएर चाउरी परिसकेका छन् । दांतहरु फुक्लिसकेका छन् । अनुहारपनि चाउरी परिसकेको छ तै पनि आग्रा खोलाको वगरमा दिनको ६ ढ्वाङ सम्म गिट्टी फुटाएर गूजारा चलाई रहेका धनबहादुर यतिवेला गिट्टी नविकेकाले भोकै बस्न वाध्य भएका छन् । ८० बर्षीय धनबहादुर तामाङ   उनकी ७० वर्षीया श्रीमती मंगलीमायाले  दुई महिना देखि चामलको भात नखाएको बताए । “चामल महंगो छ किन्न पैसा छैन भात नखाएको दुई महिना भयो धन बहादुरले दुःख पोख्दै  भने’’ । आफू ८० नाघे मंगलीको दाईने हात चल्दैन । “दुई महिना भयो चिउरा मात्र खाएको त्यही पनि किलो को ४० रुपियाँ पर्दछ उनले थपे’’ । मंगलीमायाको सुतिरहेकै अवस्थाबाटै दाईने हात नचल्ने भएको छ । यस्तो हुँदाँ पनि उनलाई गह्रुगों काम नगरी सुखै छैन अभागीलाई काल पनि ढिला आउँदो रहेछ गहभरी आँसु झार्दै मंगलीमायाले भनिन । १९ बर्ष  वितेछ आग्रा खोलाको वगरमा बसेर ढुंगां फुटाउन थालेको धनवहादुर दम्पतीले ।
गारो सारो काम गर्न नसकेपनि मंगलीले वगरबाट सानासाना ढुंगा बटुलेर ल्याउछिन् म फुटाउँछु । सकेको बेला दिनभरिमा ६ ढ्वाङ गिट्टी फुटाउँछु,त्यो पनि संधै बिक्दैन । बिकेको बेला त्यसबाट दैनिक ६६ रुपैया कमाई हुने गरेको उनी बताउंछन । यसरी कमाएको ६६ रुपियाले कति दिनको विहान वेलुकाको छाक टार्नुपर्ने हुन्छ, एक महिनादेखि फुटाएर राखेको गिट्टी देखाउँदै धनवहादुरले बताए ।
आग्रा खोलामा धेरै संस्थाहरु र पत्रकारहरु दैनिक जसो मजदुरहरुको वोरमा सोधखोज गर्न आउने गर्छन  तर मलाई सहयोग गर्ने भने एक दुई जना मात्र छन ।  हाम्रो दुःख देखेर सबैजनाले बिचरा भन्न भने छुटाउँदैनन । केटाकेटी हुनेलाई त पढाउन पनि सहयोग गरेका छन् धनबहादुर बताउंछन । आफ्नो त भाग्यमै पनि यस्तै रहेछ सहयोग गर्ने कोही छैन । तीन छोराहरु चार वर्ष नपुग्दै बिते । दुईवटी छोरी थिए तीपनि यो संसारमा छैनन् । बाँकी दुई छोरीको विवाह भएको दुई बर्ष  भयो उनीहरु पनि बाबुआमा भनेर फकिर्एर आएका छैनन् । कहाँ छन् के गर्दै छन्  त्यो पनि थाहा नभएको उनले बताए ।
DSC00245मकवानपुर जिल्लाको टिस्टुङ गाविसमा पर्ने नौखण्डेमा रहेको पुख्र्यौली सम्पती चार रोपनी जग्गा बाबुआमाको काजक्रिया गर्दा लागेको ऋर्ण तिर्न नसकेपछि विक्रि गरेर हिडेका धनबहादुरसँग अहिले सम्पत्तिका नाममा दुईवटा पुराना थाल डाडुपन्यु, दुई थान डेक्ची र चाउरी पर्दै गएको हात खुट्टा बाहेक केही छैन । न त कोही सहारा नै छन् । घर भन्ने हो भने प्लाष्टिकले ढाकेको सिधा उभिन्न नमिल्ले सानो र सांघुरो छाप्रो छ । यही छाप्रोमा  २० बर्ष अघिबाट बस्दै आएका धनबहादुरसँग नागरिकता पनि छैन ।  मकवानपुर जिल्लाको  टिस्टुङ गाविसमा पर्ने नौखण्डेका आदिवासी हुन् धनबहादुर । कितिर्पुरमा काम गर्न बस्दा नागरिकता भएको झोला कोठाबाट चोरी भएको थियो । हराएको नागरिकता बनाउन मकवानपुर जिल्लाको सदरमुकाम हेटौँडासम्म लगिदिने साथी र खर्च अभावमा नागरिकताको प्रतिलिपि लिन नपाएकाले आंफुले बुढेसकालमा  सरकारले दिएको भत्ता खान पनि नपाएको बताउंछन ।