बाह्र वर्षअघि भएको इन्जिनियर दम्पती हत्याकाण्डका अभियुक्त पक्राउ

419 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

काठमाडौँ,- २०५९ असार २९ गते ३१ गते इञ्जिनियर हेमन्त श्रेष्ठ र अञ्जली श्रेष्ठ दम्पतीको हत्यामा संलग्न भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेकोे छ ।

पक्राउपर्नेमा दोलखा जिल्ला खारे गाविस घर भई हाल काठमाडौँ सामाखुशी टाउन प्लानिङमा बसी सालसा डान्स बार सञ्चालन गर्ने ३० वर्षीय मनराज गुरुङ र रामेछाप फुलासी घर भई हाल जोरपाटी टाउन प्लानिङ बसी एम्पिज क्याफे सञ्चालन गर्दै आएका ३२ वर्षका प्रमेश चौहान रहेका छन् ।

बाह्र वर्षअघि भएको सो घटनाबारे विभिन्न अनुसन्धान प्रतिवेदन तयार भएपनि कुनै प्रगति हुन नसकेपछि अनुसन्धान बन्द भएकामा गत असोजदेखि ब्युरोले ‘अपरेशन साइलेन्स सर्च’ नाम दिएर पुनः अनुसन्धान सुरु गरेको थियो ।

अभियुक्तले अपराध स्वीकार नगरे पनि अनुसन्धानले उनीहरु नै घटनाको अभियुक्त भएको पुष्टि गरेको ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लले जानकारी दिनुभयो ।

उनीहरुले घरधनी गीता खड्कालाई हत्या गर्न गएको तर इन्जिनियर दम्पति तल्लो तलामा पहिले भेटिएपछि उनीहरुको हत्या गरेको अनुसन्धानका क्रममा भेटिएको छ । श्रेष्ठ दम्पतीको सात वर्षिया छोरीलाई पनि खुकुरी प्रहार भएकामा उनी शौचालयमा गएर लुकेकाले बाँच्न सफल भएकी थिइन् ।

इन्जिनियर दम्पतीको हत्यापछि घरधनी गीता खड्कालाई हत्या गर्न दुई जनाको टोली घरको माथिल्लो तलमा गएकामा खड्का घरभित्र चुकुल लगाएर लुकेको र हल्ला भई वरिपरिका सर्वसाधारण जम्मा भएपछि खड्काको हत्या नगरी उनीहरु भागेका थिए ।

अभियुक्तहरुले रु दुई लाख लिएर घरधनी खड्काको हत्या गर्न खोजेको र पैसा दिने व्यक्ति अहिले विदेशमा रहेको खुल्न आएकाले अनुसन्धान पूरा भएपछि उसलाई नेपाल झिकाइने ब्युरोले जनाएको छ ।

दुवै जना यसअघि २०६० जेठ १७ गते गोलढुङ्गामा म्यानपावर सञ्चालक दिलमाया गिरीलाई निजकै श्रीमानले रु छ लाख दिई हत्या गराएको घटनामा प्रमुख अपराधी भई सजाय पाई जेलमुक्त भएको अनुसन्धानको क्रममा खुलेको छ ।

घटना घट्नु एक साताअघि रानीवारीस्थित खड्काको घरमा आफूहरु विद्यार्थी भएको तथा कोठा भाडामा चाहियो भनी अभियुक्तद्वय गएको र घरको भूइँ तलामा मृतक अञ्जलीसँग कुरा गरेको पनि अनुसन्धानको क्रममा खुलेको छ ।