मलेसियाबाट फर्काइएका कामदारले वैदेशिक रोजगार विभाग घेरे

561 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

workers-protest_512325721
काठमाडौं : तीन वर्षको करार बनाएर मलेसियामा काम गर्न गएका ८४ जना कामदारलाई तीन महिनामै कम्पनीले फिर्ता पठाएपछि पीडितले शुक्रबार वैदेशिक रोजगार विभाग घेराउ गरेका छन्।
सर्तअनुसार क्षतिपूर्ति रकम नपाएको भन्दै उनीहरूले तीनकुनेस्थित विभागको कार्यालय घेरेका हुन्। धुम्बाराहीस्थित् जब्सस्पट म्यानपावरबाट गएका ८४ जना कामदारलाई मलेसियाको क्वानताङस्थित् वास्को कोटिङ कम्पनीमा काम गरेका थिए।
पेट्रोलियम पदार्थको लागि आवश्यक पाइप कोटिङ कम्पनीमा कार्यरत ती मजदुरलाई तीन महिना काम लगाएपछि कम्पनीले ६ महिनाको आधारभूत तलब दिएर विदाई गरेको थियो। तर करारमा ६ महिनाभित्र फिर्ता पठाउनु परेमा एक वर्षको तलब दिइने उल्लेख गरिएकाले सर्तअनुसार हुनुपर्ने भन्दै पीडितले विभाग घेरेका हुन्।

उनीहरूको आन्दोलनलाई कोरिया पीडितले पनि साथ दिएका छन्।व्यक्तिगत श्रम स्वीकृतिमा दक्षिण कोरिया जान लागेका ३७ युवा नक्कली कम्पनी परेपछि अहिले आन्दोलनमा छन्। पीडित दुवै पक्षले संयुक्त संघर्ष समिति बनाएर आन्दोलन गरेका हुन्।

जब्सलिंकले गएको मंसिरमा ८४ जना युवालाई मलेसिया पठाएको थियो। विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको भाउ घटेपछि कम्पनी टाट पल्टिने अवस्थामा पुगेकाले नेपाली कामदार कटौतीमा परेका हुन्। फर्किएका कामदारले जाँदा खर्च भएको एक लाख ५० हजार रुपैयाँ फिर्तासहित तीन महिनाको थप रकम क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन्।
कामदार पठाउने जब्सस्पटका सञ्चालक अर्जुन सापकोटाले भने मलेसियास्थित् नेपाली राजदूतावासको रोहबरमा सहमति गरेर फिर्ता ल्याइएकाले कम्पनीले क्षतिपूर्ति दिन नसक्ने बताए। ‘वास्को कोटिङ कम्पनी र नेपाली दूतावासबीच सहमति गराएर कामदार फिर्ता ल्याइएको हो। फर्किकाले काम गरेको अवधिको बाहेक अतिरिक्त ६ महिनाको तलबसमेत पाएका छन्,’ उनले भने।