शिक्षामा लगानी ‘बालुवामा पानी’

488 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भक्तपुर, – शिक्षा मन्त्रालयले गरेको शैक्षिक परीक्षणबाट फेरी पनि राज्यले विद्यालय शिक्षामा गर्दै आएको लगानी ‘बालुवामा पानी’ सावित हुन पुगेको छ । शिक्षा निकायका जिम्मेवार पदाधिकारीहरुले शिक्षामा ‘सिस्टम’ले काम गर्न नसकेकोले खराब नतिजा प्राप्त भएको स्वीकार्नु भएको छ गोरखापत्र अनलाईनमा खबर छ ।
मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ)ले देशका २८ जिल्लाका ४८ हजार विद्यार्थीमाथि कक्षा ८ को राष्ट्रिय उपलब्धि परीक्षण गरेको थियो । त्यसको प्रतिवेदन वुधबार सार्वजनिक गरिएको छ । हरेक दुई दुई वर्षमा यस्तो परीक्षण गरिँदै आएको छ । पछिल्लो परीक्षणका क्रममा २०७० साल फागुन २९ गते ती विद्यार्थीहरुको परीक्षा लिइएको थियो ।
ईआरओका अनुसार कक्षा ८ का विद्यार्थीको औषत उपलब्धिस्तर गणितमा ३५, विज्ञानमा ४१ र नेपालीमा ४८ रहेको पाइएको छ ।
त्यसअघि २०६८ सालको परीक्षणले गणितको औषत उपलब्धिस्तर ४३, नेपालीको ४९ र विज्ञानको ४१ थियो । दुई वर्षको अवधिमा विज्ञानको उपलब्धिस्तर समान रहेको पाइयो भने गणित र नेपालीमा विद्यार्थीको सिकाइ अझ घटेको पाइएको छ ।
ईआरओका सहसचिव डा. लेखनाथ पौडेलले भन्नुभयो, “विद्यार्थीको सिकाइ उपलब्धि घट्यो । किन घट्यो भन्ने विषयमा अब खोजी गर्नुपर्दछ ।”
परीक्षणले नेपाली विषयमा छात्राको सिकाइ उपलब्धि ४८ र छात्रको ४८, गणितमा छात्राको ३३ र छात्रको ३८ तथा विज्ञानमा छात्राको ३९ र छात्रको ४३ रहेको पाइएको छ ।
“छात्राको तुलनामा छात्रको सिकाइ बढी देखियो । यसमा सामाजिक तथा आर्थिक कारणको पनि भूमिका रहन्छ” उहाँले भन्नुभयो, “सिकाइमा देखिएको लैङ्गिक असमानतालाई घटाउन शिक्षा मन्त्रालयले सोच्नुपर्ने बेला आएको यस परीक्षणले प्रष्ट्याएको छ ।”