सिरियामा पनि नेपाली युवती बेचिएको खुलासा

469 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

timthumbमानव तस्करहरूले सिरियामा पनि नेपाली युवती बेच्ने गरेको खुलासा भएको छ। ४ वर्षदेखि केन्या, तान्जानियालगायत देशका साथै सिरियामा पनि नेपाली युवती बेचिने गरेको खुलेको हो। पछिल्लो समय सात युवती सिरियामा बेचिएको  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले जनाएको छ सेतोपाटीमा खबर छ । 

त्यसमा संलग्न भएको अभियोगमा सिआइबीले संखुवासभा घर भई काठमाडौंको सिनामंगलमा बस्ने ३४ वर्षका आशिष भन्ने केदारबहादुर खड्कालाई पक्राउ गरेको छ। सिनामंगलमा होटल व्यवसाय गर्दै आएका उनी एयरपोर्ट गोल्डेन गेटबाट पक्राउ परेका एसपी किरण बज्राचार्यले जानकारी दिइन्।

उनले ७ जना युवतीलाई दुबईमा ब्युटिपार्लरमा पठाइदिन्छु भन्दै सिरिया पुर्‍याएका थिए। उनले केन्या र तान्जानियाको डान्सबारमा पनि नेपाली युवती पठाउने गरेको एसपी बज्राचार्यले बताइन्। उनलाई सहयोग गर्ने सात जनालाई एक महिनाअघि प्रहरीले पक्राउ गरिसकेको छ।

खड्काले युवतीहरू केन्या, तान्जानिया, सिरिया पठाउने बेला त्रिभुवन विमानस्थलमा सेटिङ मिलाउने गरेको बज्राचार्यले बताइन्। मानव तस्करहरूले विमानस्थलका अधिकारीहरूलाई एक जना युवती बराबर ४० हजारदेखि ८० हजारसम्म दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

दुबईमा आकर्षक तलब सुविधा हुने ब्युटी पार्लरमा काम लगाइदिन्छु भन्दै उनले सिरियामा युवती पठाई अमेरिकी ७ हजार डलरमा बेचबिखन गरेको सिआइबीले जनाएको छ। सिरिया लगी घरेलु कामदारका रूपमा राखी दैनिक १८ देखि २० घण्टा बन्धक बनाई काम गराउने गरेको पीडित युवतीहरूले बताएका छन्।

घरधनीले आफूहरूलाई शारीरिक तथा मानसिक यातना दिने गरेको भन्दै उनीहरूले सिरिया हेर्ने इजिष्ट दूतावासमा उजुरी दिएका थिए। परराष्ट्र मन्त्रालयको पहलमा सिरियाको स्थानीय प्रहरीले उनीहरूलाई उद्धार गरी गत असारमा नेपाल फर्काएको थियो।