धादिङमा उद्योग दर्ता गर्ने क्रम बढ्यो

601 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सरकारले आर्थिक वर्ष ०७०र७१ देखि उद्योग अनुमतिपत्र दर्ता शुल्क बढाएपनि धादिङमा उद्योग दर्ता गराउनेहरुको संख्या झनै बढेको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।
वैदेशिक रोजगारबाट फर्केका युवाहरु स्वरोजगार बन्न थालेपछि उद्योग दर्ता गराउनेको सख्ंया बढेको घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यलय ले बताएको छ । सरकारले उद्योग संचालनमा सहुलियत ब्याजदरमा ऋण दिने घोषणा गरेपछि धादिङ जिल्लामा उद्योग दर्ता हुने क्रम बढेको हो । घरेलु तथा साना उद्योग विकास समिति धादिङको तथ्यांकअनुसार चालू आर्थिक वर्षको सात महिनामा उद्योगतर्फ ३ सय ६३ र उद्योग वाणिज्य प्रशासनअन्तर्गत २ सय ७६ वटा उद्योगहरु दर्ता भएका छन् । २ सय २१ वटा कृषिजन्य उद्योग, १ सय १ वटा सेवा क्षेत्रका उद्योग , ३८ वटा उत्पादनमुलक र ३ वटा निर्माण क्षेत्रका उद्योगहरु दर्ता भएका छन् । यसरी चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा धादिङमा उद्योग दर्ताबाट ३० लाख ४६ हजार ४ सय ७५ रुपैया र उद्योग वाणिज्य प्रशासन अन्तर्गत दर्ताबाट भएका उद्योगहरुबाट २६ लाख २५ हजार ५ सय राजस्व संकलन भएको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।