उत्तरी धादिङको अपराधिक जालो तोड्दै प्रहरी

1205 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२८ चैत – धादिङ जिल्लाको उत्तरी भेगका विभिन्न वस्तिमा लामो समय देखि श्रृङखलावद्ध अपराधिक घटना गराउँदै आएको समुहको जालो तोड्न प्रहरी सफल हुंदै गएको छ । प्रहरी प्रशासनको सबैभन्दा टाउको दुखाईको बिषय वन्दै आएको उत्तरी धादिङको अपराधिक समुह नियन्त्रणमा सफलता मिलेको प्रहरीको दावी छ ।
जिल्ला प्रहरी कार्यालय धादिङले एक पछि अर्को गर्दै फरार अभियुक्तहरु पक्राउ गर्दै जेल पठाउन थालेपछि अपराधिक जालो तोड्नि थालेको प्रहरीको दावी छ । फरार अभियुक्तहरुको खोजीका लागि बिशेष अभियान संचालन गरिरहेको प्रहरीले पछिल्लो पटक दुई बर्ष अघि धादिङको दार्खा गाविस वडा नं ७ को खुर्सानीबारीका ४२ बर्षीय जेम्स अनारसलाई धारिलो हतियार प्रहार गरी फरार भएका धादिङको दार्खा गाविस वडा नं ८ सल्लेरीका २४ बर्षीय मैचा भनिने मेघ बहादुर घले (तामाङ) लाई पक्राउ   गरेको छ ।
दुई बर्ष देखि फरार अभियुक्तको सुचिमा रहेका घलेलाई चैत्र २६ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दार्खा गाविस वडा नं. ७ का २७.बर्षीय भिषण सिम्खडाको २०६९ मंसिर १८ गते दार्खा गाविस बडा नं १ रातमाटेमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । सिंखडाको हत्यामा संलग्न भएको आरोपमा कर्तब्य ज्यान मुद्धा लागे पछि फरार भएका बिर बहादुर भन्ने २८ बर्षीय कैलाश तामाङ र धादिङको सत्यदेवी गाविस वडा नं ३ स्थित दार्खा गाविसको वडा नं ६ का १९ बर्षीय गंगालाल तामाङलाई समेत धारिलो हतियार प्रहार गरि हत्या गरिएको थियो ।
सिंखडाको हत्यामा संलग्न भएका राम बहादुर भन्ने १९ बर्षीय अदित तामाङलाई माघ १८ गते धादिङको रि गाविसको तावलबाट जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको थियो । भिणषको सिंखडाको हत्यामा संलग्न भएको आरोप लागेका दार्खा गाविसका श्याम तामाङ भने प्रहरीबाट बच्न जंगल तर्फ भाग्दै गर्दा भिरबाट खसेर उनको ज्यान गएको थियो ।
DSC_0632उत्तरी धादिङको विभिन्न स्थानमा अपराधिक कार्यमा संलग्न भई फरार रहंदै आएका चन्द्र बहादुर भनिने गोरे तामाङलाई पनि यस अघि प्रहरीले पक्राउ गरिसकेको छ । धादिङ जिल्लाको सेम्जोङ गाविस वडा नम्बर–२ गैरा घर भएका तामाङ माथि २०७० साल पुस गते राती जिल्लाकै सत्यदेवी गाविस वडा नम्बर–३ ब्रोगुमा धादिङ जिल्ला दार्खा गाविस वडा नम्बर ६ वस्ने वर्ष २० को गंगालाल तामाङलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोग लागेको थियो । पहलमान तामाङको हत्यामा समेत संलग्न भई फरार रहेका गोरे भनिने चन्द्र बहादुर तामाङलाई गंगालाल तामाङको कर्तब्य ज्यान मुद्दामा समेत संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । फरार अभियुक्तहरु पक्राउका लागि अभियान संचालन गरिरहेको प्रहरीले चालु आर्थिक बर्षको अहिले सम्म  ७३ जनालाई पक्राउ गरिसकेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश मल्लका अनुसार विभिन्न अपराधिक कार्यमा संलग्न भई फरार रहंदै आएका ७३ जना यो बर्ष पक्राउ परेको मल्लले वताउनु भयो । अपराधमा संलग्न भएको आरोप पुष्टि भएपछि फरार रहेका व्यक्तिहरुबाट एक पछि अर्को घटना गराउने र शान्ति सुरक्षामा खलल पार्नेक्रम बढ्दै गएपछि फरार अभियुक्तको खाजी अभियानलाई गाउं गाउंमा विस्तार गरी बर्षौ देखिका फरार अभियुक्तहरु पक्राउ गर्न प्रहरी सफल भएको प्रहरी नायव उपरिक्षक मल्लको भनाई छ । फरार सुचिमा रहेका मध्ये कर्तव्य ज्यान मुद्दाका ८ जना, जबरजस्ति करणी मुद्धाका ४ जना,ज्यान मार्ने उद्योगका एक जना,लागु औषध ओसार पसारमा एक जना,हात हतियार खर खजनाका एक जना,केही सार्वजनिक अपराधका दुई जना गरी १ ७ जनाको खोजी कार्यलाई तिव्र पारिएको मल्लले जानकारी दिनु भयो ।
दशैं मनाउन घर गएका वेला अपराधिक समुहले नियन्त्रणमा लिई २०६७ साल कात्तिक १ गते दार्खा गाविस वडा नम्बर –१ वस्ने नेकपा एमालेका जिल्ला सदस्य शिव थापाको हत्या गरेको थियो । थापाको हत्या हुनु अघि दार्खा ९ वस्ने अशोक तामाङ समेत ३ जना काठमाण्डौ जान भनि टिकट काटी काठमाण्डौ तर्फ जाने क्रममा विजय तामाङ, मैचा भन्ने भेघ बहादुर तामाङ, श्याम ब.तामाङ, राम ब.तामाङ समेतले गाडीमा आई अशोक तामाङलाई कुटपिट गरी घाइते बनाएको प्रहरीले वताएको छ । त्यसैगरी २०६९ मंसिर १८ गते अशोक तामाङको समुहमा रहेका झ्याप्ले भन्ने अमर सिंह तामाङ, भिषण सिंखडा समेतले दार्खा ८ वस्ने विजय तामाङलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेपछि दुई समुहका व्यक्तिहरु फरार रहंदै थप अपराधिक कार्यमा संलग्न रहने गरेको प्रहरीको भनाई छ ।
विजय तामाङको हत्या भएकै दिन दार्खा १ रातमाटेमा मैचा भनिने मेघ बहादुर तामाङ समेतले दार्खा ७ वस्ने भिषण सिंखडालाई कर्तब्य गरी हत्या गरेका थिए । भिषण हत्या पछि फरार रहेको समुहबाट सत्यदेवी गाविस वडा नम्बर ३ पारग्यू र तागङकुको बिचमा चन्द्र ब.तामाङ समेतका मानिसहरुले आक्रमण गरी गंगालाल तामाङको हत्या गरी ब्रोगु भन्ने स्थानमा भिरमा फ्यांकिदिएको अवस्थामा शव भेटिएको थियो । एक पछि अर्को हत्यामा संलग्न रहंदै आएको समुहलाई नियन्त्रणमा लिन नसक्दा थप अपराधिक घटना बढ्दै गईरहेको थियो ।