दुर्घटनामा ज्यान गुमाउने भारतीय तीर्थयात्रीको संख्या १७ (अपडेट)

564 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

timthumb (1)धादिङ -त्रिभुवन राजपथमा पर्ने धादिङ जिल्लाको नौविसे गाविसको वडा नम्बर ५ झ्याप्लेखोलामा बुधवार विहान ८ बजे तिर भारतीय पर्यटक चढेको बस पल्टिँदा  १७ जनाको घटनास्थलमानै ज्यान गएको छ। दुर्घटनामा परि घाईते भएका ३५ जनाको उद्धार गरिएको छ।

एक महिना २ दिनदेखि नेपालका विभिन्न धार्मिक स्थलको अवलोकन गरेका उनीहरुले मंगलबार पशुपतिको दर्शन गरेर आज बिहान साढे पाँचबजे भारतका लागि निस्केका थिए। गुजरात राज्यको सुरेन्द्रनगर जिल्लाबाट दुईओटा बसमा ९० जनाको टोली नेपाल यात्रामा आएको थियो। जसमध्ये एउटा बस दुर्घटनामा परेको हो।
पशुपति दर्शन गरेर काठमाडौंबाट गोरखपुर जाँदै गरेको भारतीय पर्यटकहरु चढेको जी जे १४ एक्स नम्बरको बस नागढुंगाबाट केही अगाडि झाप्रेखोला र सिस्नेखोलाबीचको घुम्तीबाट करिब २ सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय खानीखोला धादिङले जनाएको छ।

बिपरित दिशाबाट आउँदै गरेका मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटना भएको सोही भ्रमण टोलीका सदस्य प्रतापभाइ सतावाहारले जानाकारी दिए। छेउमा रहेको सेफ्टी जालीसहित खसेको बस २ सयमिटर तल चिलाउनेको रुखमा अड्किएको छ। दुर्घटनामा पर्ने सबै गुजरात, सुरेन्द्रनगर जिल्लाको धौगद्रा गाउँ आसपासका रहेको प्रतापभाइले जानकारी दिए। बसमा २२ पुरुष र २३ महिला सवार थिए। मृत्यु हुनेमा ८ महिला र ९ जना पुरुष रहेको बताइएको छ। मृत्यु हुनेहरुमा देवजीभाई सतवाहार, गणेशभाई सतवाहार, दयारामभाई सतवाहार, नारसीभाई सतवाहार, गारामभाई सतवाहार, गणपतभाई सतवाहार, दलपतभाई सतवाहार रहेका छन्। महिला मृतकहरुमा जसुबेन सतवाहार, लीलाबेन सतवाहार, सबिताबेन सतवाहार, गौरीबेन सतवाहार, कन्चनबेन सतवाहार रहेका छन्। मृतक ५ जनाको भने अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

उद्धारका लागि काठमाडौं जिल्ला प्रहरी प्रमुख उत्तम कार्कीसहित नेपाल प्रहरी, सशत्र प्रहरी ट्राफिक प्रहरी र स्थानीयसहित करिब ४ सयजना खटिएका छन्। दुई तले बसमा कति यात्रु थिए भन्ने यकिन नखुलेपनि अहिले सम्म १७ जनाको घटनास्थलमानै शव भेटिएको र २४ जनालाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाईसकिएको छ। बस भीरमा अडकिएकाले क्रेनको सहायताले मात्र सडकमा निकाल्न सकिने भएकाले बसले च्यापेको अवस्थामा कोही हुन सक्ने उद्धारकार्यमा संलग्न शसस्त्र प्रहरीले जनाएको छ।

दुर्घटनामा परेकाहरुको उद्धारका लागि सशस्त्र प्रहरी बल बलम्बुवाट प्रहरी नायव उपरीक्षकको नेत्तृत्वमा खटिएको एक सय ७ जनाको टोलीका साथै , नेपाल प्रहरी, नेपाली सेना, स्थानीयवासी सहित चार सय भन्दा बढि खटिएका थिए ।