खानेकुरामा महंगो मुल्य लिएर ठगेको आरोपमा तीन होटल संचालक पक्राउ

510 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0173धादिङ, १८ बैशाख-आपतकालिन अवस्थामा मनोमानी मुल्य लिएर यात्रुहरुलाई ठगिगरेको आरोपमा धादिङ होटल संघका अध्यक्ष राजकुमार प्याकुरेल सहित धादिङको राजमार्ग क्षेत्रका तीन जना होटल संचालक पक्राउ परेका छन ।
जिल्ला अनुगमन समितिले तीन दिन देखि धादिङको राजमार्ग क्षेत्रमा बिशेष अनुगमन गर्दा होटलमा भएको खानेकुराको मुल्यसुचि लुकाएर मनोमानी मुल्य असुल गरेको आरोपमा धादिङ होटल संघका अध्यक्ष समेत रहेका होटल कान्तिपुरका संचालक राजकुमार प्याकुरेल,यसै गरी न्यु वुटवल होटल धार्केका संचालक प्रदिप गजुरेल र होटल हिराचनका संचालक सुमन रिजाल शुक्रवार पक्राउ परेका हुन । प्रहरी निरीक्षक हेमन्त क्षेत्रीको नेत्तृत्वमा खटिएको अगुगमन टोलीले विहीवार र शुक्रवार जिल्लाको खानीखोला देखि वेनिघाट सम्मको २१ वटा होटल तथा भोजनालयको अनुगमन गरेको थियो । अनुगमनका क्रममा गल्ति स्विकार गरी सुधार गर्ने प्रतिबद्धता जनाएकाहरुलाई साधारण तारेखमा राखि सुध्रने मौका दिईएपनि वजारमा चलेको मुल्य भन्दा बढी मुल्य लिएर आपकालिन अवस्थाका यात्रुहरुलाई ठगि गरेको आरोप लागेपछि उपभोक्ताको उजुरीका आधारमा तीनजना होटल संचालकलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको धादिङका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले वताउनु भयो ।
देश आपतकालिन अवस्थामा रहेका वेला विपदमा परेकाहरुलाई सहयोग गर्नुको साटो ठगिमा संलग्न हुनेलाई नछाडिने पनि प्रमुख जिल्ला अधिकारी घिमिरेले वताउनु भएको छ ।
DSC_0235राजमार्गका होटलमा केही दिन देखि होटलमा पाक्ने खानेकुरा देखि वजारमा सजिलै संग किन्न पाईने जंक फुडमा समेत मनोमानि मुल्य लागु भएको जनगुनासो बढेपछि जिल्ला अनुगमन समितिले अनुगमनलाई तिव्र पारेको हो । अनुगमनमा खाद्य अधिकारकर्मी, उपभोक्ता हितका लागि कार्यरत संस्थाका प्रतिनिधि, संचारकर्मीहरुको सहभागिता रहेको थियो । अनगुमन टोलीले बढी भाडा असुल गर्ने यात्रुवसलाई पनि नियन्त्रणमा लिई तोकिएको भन्दा बढी भाडा तत्काल यात्रुलाई फिर्ता गराउन शुरु गरेको छ । यसैक्रममा विहीवार काठमाण्डौबाट काकंडभिट्टाका लागि छुटेको मितेरी यातायात एण्ड अटो प्रा.लिको ना ५ ख १२२७ नम्वरको मितेरी डिलक्स रात्री बसले काठमाण्डौं देखि इटहरी सम्मको भाडा प्रति व्यक्ति १७ सय ४० रुपैया लिएकोमा यात्रुको उजुरी पछि सो वसबाट आठ जनाबाट लिएको प्रति व्यक्ति ५ सयका दरले ४ हजार रुपैया तत्काल फिर्ता गराईएको पनि प्रहरी निरक्षक हेमन्त क्षेत्रीले जानकारी दिनुभयो ।
राजमार्ग क्षेत्रमा अनुगमन कार्यलाई निरन्तरता दिंदै गलत कार्यमा संलग्न भएकाहरुलाई कारवाही गरेर छाड्ने जिल्ला अनुगमन समितिले जनाएको छ ।