धादिङको धुवांकोट गाविसका सबै घरलाई राहत

772 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0508धादिङ,१९ बैशाख – भुकम्पमा परेर घरवार विहिन भई बिचल्लीमा परेका परिवारलाई एक साता सम्म केही सहयोग दिन नसकेर सरकारी निकाय आलोचित बनिरहेको बेला धादिङको उत्तरी भेगमा पर्ने धुवांकोट गाविसका सबै घर परिवारले समान सहयोग पाएका छन ।
जिल्ला दैवि प्रकोप उद्धार समिति, धुवांकोट गाविसको कार्यालय, सैनिक श्रीमती संघ नेपाल र गैर सरकारी संस्था इम्प्याक्ट नेपाल र जितपुर वाराका सहयोगीदाताहरुको संयुक्त पहलमा धुंवाकोट गाविसका सबै परिवारलाई सामुहिक राहत सहयोग गरिएको हो । भुकम्पमा यस गाविसका ३ जनाको गाउंमै र ३ जनाको काठमाण्डौंमा मृत्यु भएको थियो भने एक सय भन्दा बढी अहिले पनि घाईते अवस्थामा रहेका छन ।
DSC_0547शनिवार धुंवाकोट गाविसको भैरवीस्थानमा आयोजित कार्यक्रममा स्थानीय राजनैतिक संयन्त्र,नागरिक वडा मञ्च, सहयोगी संस्थाका प्रतिनिधि, गाविस सचिव तथा नेपाल प्रहरीको उपस्थितीमा यहांका ११ सय ५७ घर परिवारलाई एक थान त्रिपाल,एक थान कम्वल,लगाउने कपडा,चिउरा ३ केजी, विस्कुट १२ पाकेट,चाउचाउ १७ पोका,दाल आधाकेजी, आलु ६ किलोका साथै तेल,नुन भुजिया,पाउरोटी र चिनी वितरण गरिएको धुंवाकोट गाविसका सचिव हिमवहादुर बिकले जानकारी दिनुभयो । गाविसका अधिकांश घर भुकम्पमा परेर भत्कनुका साथै वांही घर वस्नै नहुने अवस्थामा पुगेपछि सबैका लागि सहयोग उपलव्ध गराउने प्रयास स्वरुप संयुक्त रुपमा राहत बितरण गरिएको पनि गाविस सचिव बिकले वताउनु भयो ।
DSC_0541जिल्ला दैवि प्रकोप उद्धार समितिले प्रति गाविस एक सय थान त्रिपाल पठाएर राहत बितरणका लागि गाविस कार्यालयलाई निर्देशन दिंदा अधिकांश गाविसले पिडितहरुलाई राहत बितरण गर्न नसकिरहेको बेला धुंवाकोट गाविसले नमुना उदाहरण प्रस्तुत गरेको स्थानीय कृष्णप्रसाद पण्डितले जानकारी दिनुभयो । राहत बितरण संगै इम्प्याक्ट नेपालले निःशुल्क स्वास्थ्य शिविर संचालन गरी भुकम्पपछि ५ सय भन्दा बढी स्थानीयवासीमा देखिएका स्वास्थ्य सम्वन्धि विभिन्न समस्याहरुको पहिचान गरी आवश्यक औषधि समेत निःशुल्क वितरण गरेको गाविस सचिव विकले जानकारी दिनुभयो ।