नातिनी स्याहार्दै हजुरबा

701 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पहिरोले बाबु, आमा र भाइ गुमाएकी सल्यानटार दराई बस्तीकी अञ्जली दराई घरमा । उनको स्याहारको जिम्मा ७१ वर्षीय हजुरबुबा जितबहादुर (पिँढीमा बसेका) माथि छ । तस्बिर : हरिहरसिंह/कान्तिपुर

anjali-darai_20150514103250अर्गौता (धादिङ),  – ४० वर्षका चेतबहादुर, ३५ वर्षकी मसिना र ११ वर्षका अनील सधैंझैं बिहानको खाना खाएर घाँसदाउरा गर्न नजिकैको बुट्टार पाखामा निस्किएका थिए । यो पाखा दराई समुदायले घाँसदाउरा गर्न प्रयोग गर्छन् । यहाँको पानीको मुहान पनि उनीहरूकै गाउँका लागि प्रयोग हुन्छ ।

तर, घाँसदाउरा गर्न हिँडेको चेतबहादुरको परिवार बुट्टार पाखाबाट कहिल्यै फर्किएन । वैशाख १२ को भूकम्पपछि आएको पहिरोले तीनै जनालाई पुर्‍यो । छोराबुहारीको मृत्युपछि सल्यानटारको दराईबस्ती छापछपेलीका ७१ वर्षीय जितबहादुर दराईलाई अर्को जिम्मेवारी पनि थपिएको छ, एक्ली नातिनी अञ्जलीको स्याहार गर्ने । शोकका बीच उनी अञ्जलीलाई खुवाउन र सुरक्षाको चिन्ता गरिरहेका हुन्छन् ।

भूकम्पको १८ दिन बितिसक्दा पनि चेतबहादुरका परिवारको शव अहिलेसम्म पत्ता लागेको छैन । भूकम्पपछि पाखामा रहेका चेतबहादुरका छोरा र पत्नीलाई ठूलो ढिस्को खसेर पुर्‍यो । घटनापछि एक्लै फर्कन उनको मनले मानेन न त उद्धारको साहस नै गर्न सके । पारि पाखाबाट गाउँलेले कराएर भाग्न भनिरहेका थिए चेतबहादुरलाई । ‘पहिरो जान रोकिएको थिएन, हामीले जति कराए पनि चेतबहादुर छोरा र पत्नीलाई बगाएको पहिरोतिर टोलाएर बसे, फेरि पहिरो आएर चेतबहादुरलाई पनि सोहोरेर लग्यो, हामीले पनि केही गर्न सकेनौं,’ छिमेकी शिवराम दराईले भने ।

भूकम्पको दिन सबैलाई आ–आफनै परिवारको चिन्ता थियो, पहिरोमा पुरिएका चेतबहादुरसहितका ३ जनाको खोजी गर्ने फुर्सद कसैलाई थिएन । नातिनीलाई घटनाको पत्तै नदिई वृद्ध जितबहादुर पहिरोमाथिको डिलमा गएर कराए । सुन्ने कोही थिएनन् । भूकम्पको झड्का आइरहेकै थियो । पुत्रवियोगले विह्वल भएका जितबहादुर भोलिपल्ट एक्लै कोदालो लिएर निस्के । उनीसँग केही छिमेकी पनि मिसिए । बूढीगण्डकीतिरको ठूलो पहिरोमा एउटा कोदालोले घाइते वा मृतक फेला पार्नु सम्भवै थिएन । अन्य उपकरण र जनशक्ति पनि थिएन । थप भूकम्प आउने खतराले पहिरो वरपर जाने हिम्मत कसैको थिएन ।

‘प्रहरी र स्थानीयको सहयोगमा तेस्रो दिनदेखि खोजतलास गरे पनि थोरै जनशक्तिमा कोदालोले सम्भव भएन, अहिले पनि पहिरो खस्ने सम्भावना उत्तिकै भएकाले जिल्लाबाट थप सहयोग र उपकरण माग गरिएको छ,’ सल्यानटारस्थित प्रहरी चौकीका सबइन्स्पेक्टर भरत दुराले बताए ।

अञ्जली र वृद्ध जितबहादुरको अवस्थालाई ध्यानमा राखेर नवलपरासी रुपौलिया गाविस सचिव शिवप्रसाद सुवेदीले गाविसका तर्फबाट अञ्जलीलाई १० हजार नगद दिए । तर, सरकारी राहत भने हालसम्म नपाएको जितबहादुरले दु:खेसो पोखे । सल्यानटार गाविसका पीडितका लागि भनेर सरकारले पठाएको ५० लाख रुपैयाँ स्थानीय कर्मचारीले आफ्नै वडामा वितरण गरे । दराई र कुमाल बस्तीमा भने अहिलेसम्म राहत पुगेको छैन ।

-इ कान्तिपुर डट कमबाट