ज्यामरुङ गाविसका १२ विद्यालयलाई जस्तापाता सहयोग

731 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ज्यामरुङ -गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले धादिङको ज्यामरुङ गाविसमा रहेका ११ सहित १२ विद्यालयलाई जस्तापाता उपलब्ध गराएको छ । संघले भूकम्पबाट अति प्रभावित जिल्ला धादिङका दुईवटा गाउँ विकास समितिका विद्यालयहरुलाई जस्तापाता उपलब्ध गराएको हो ।  एनआरएन दक्षिण कोरियाको सहयोगमा प्राप्त भएको ६५ वण्डल जस्तापाता बिहीबार जिल्ला शिक्षा अधिकारी गणेश प्रसाद ढकाललाई हस्तान्तरण गरिएको संघले जनाएको छ । गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष विनोद कुँवरले मातृभूमिमा परेको विपत्तिलाई केही कम गर्न विद्यालयहरुलाई जस्तापाता सहयोग गरिएको जानकारी दिए । जस्तापाता हस्तान्तरण गरिएका विद्यालयहरुमा ज्यामरुङको अन्नपूर्ण प्रावि, गोलाभञ्ज्याङ प्रावि, कुमारीदेवी माध्यमिक विद्यालय, चण्डेश्वरी माध्यमिक विद्यालय, स्थानापति माध्यमिक विद्यालय र शङ्खादेवी उच्च माध्यमिक विद्यालयलाई प्रतिविद्यालय छ वण्डलका दरले जस्तापाता उपलब्ध गराएको उनले बताए ।

IMG_0007यस्तै, उक्त संघले जनभावना निम्न माध्यमिक विद्यालयलाई चार वण्डल जस्ता हस्तान्तरण गरेको छ । भने साङकोषमा रहेको मनरुपी माध्यमिक विद्यालयलाई २५ वण्डल जस्तापाता हस्तान्तरण गरिएको संघले जनाएको छ । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण भएको क्षतिमा राहत पु¥याउन र पुनर्निर्माणमा सहयोग गर्न उक्त सहयोग गरिएको जनाइएको छ । संघ तथा एनआरएनले पुनर्निर्माण तथा राहतमा निरन्तर सहयोग गर्ने भन्दै भूकम्प प्रभावित जिल्लाहरुमा भत्किएका संरचनाहरुको पुनर्निर्माणमा सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  जस्तापाता हस्तान्तरण कार्यक्रममा एनआरएन न्यूजिल्याण्डका अध्यक्ष चक्रबहादुर थापा, एनआरएन दक्षिण कोरियाका सदस्य ओम नारायण जुग्जाली, योंगस्टार क्लब दक्षिण कोरियाका अध्यक्ष रञ्जन कुँवर, एसियन ह्युमन राइटका अध्यक्ष सिद्धिचन्द बरला, मनरुपी माविका प्रधानाध्यापक टोपबहादुर गुरुङ र व्यवस्थापन समितिका अध्यक्ष टेकप्रसाद धमलाको उपस्थिति थियो ।