प्रेमको नाटक गर्दै युवती फसाउँदै

724 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 ktमकवानपुरकी रीतु तामाङ कक्षा ७ मा पढ्दापढदै परिवारको अनुमतिबिना साथीहरुको लहैलहैमा लागेर काठमाडौँ आइन् । यहाँ आएपछि साथीमार्फत काठमाडौँको दक्षिणढोकास्थित एक गलैँचा कारखानामा काम गर्न थालिन् ।
काम गर्दै जाने क्रममा उनको भेट सिन्धुपाल्चोक महाँकाल–३ का कुमार तामाङसँग भयो । एक दुई भेटमै उनीहरुबीच माया प्रेम बस्यो, तर त्यो प्रेम लामो समय टिक्न सकेन ।
रीतुसँग प्रेमको नाटक र उनको अर्की एकजना साथीसँग बहिनीको सम्बन्ध बनाई तामाङले उनीहरुलाई बेच्न लाने क्रममा तामाङसहित युवती नेपालगन्जबाट पक्राउ परेपछि सो घटनाको पर्दाफास भएको हो ।
‘एक दिन अचानक मोबाइलमा अपरिचित नम्बरबाट फोन आएपछि शुरुमा त उठाइन,’ पहिलको घटना सम्झदै रीतुले भनिन्, ‘तर बारम्बार फोन आएपछि उठाएँ । कुराकानी हुँदै गएपछि माया बस्यो ।’
‘प्रेमको नाटक गरी दुई युवतीलाई सीमा कटाउने तामाङको योजना पर्दाफास भएको छ’, माइती नेपालका निर्देशक विश्वराम खड्काले भने, ‘तामाङ अहिले बाँके प्रहरीको हिरासतमा छन्, भने युवती हाम्रो संरक्षणमा छन् ।’
‘यता काम गाह्रो छ, उतै गएर विवाह गरौँ म राम्रो काम पनि लगाइदिउँला भन्दै नेपालगन्ज पुर्यायो, कहाँ बस्ने कोठा खोइ भन्दा अझै चारपाँच घण्टा जानुपर्छ’, तामाङको भनाइ उद्धृत गर्दै रीतुले भनिन् ‘सिमाना काट्ने बेलामा प्रहरी र माइती नेपालको टोलीले समात्यो । अनि सबै कुरा थाहा भयो ।’
अन्य बालिकामाथि पनि चरम यातनाको खुलासा
माइती नेपाका अनुसार उनीहरुकै सूचनाका आधारमा राजधानीको एक कार्पेट उद्योगबाट थप नौ बालिकाको समेत उद्धार गरिएको छ ।
मासिक रु चार हजार पारिश्रमिक पाउने गरी रीतुसहित मकवानपुर बारा निजगढका १० देखि १८ वर्षसम्मका नौजना बालिका त्यही गलैँचा कारखानामा काम गर्थे । उनीहरुलाई माइती नेपालले बौद्ध प्रहरीको सहयोगमा उद्धार गरेको हो ।
त्यहाँ कार्यरत बालिकाहरुले यातना भोग्नुपरेको सूचना रीतुमार्फत थाहा पाएपछि प्रहरीको सहयोगमा उनीहरुको उद्धार गरिएको निर्देशक खड्काले जानकारी दिए ।
अनुसन्धानका क्रममा उनीहरुले पाउने पारिश्रमिकसमेत पाउँदैनथे मासिक तलब उनीहरुलाई काममा लगाइदिने दलालमार्फत उनीहरुको घरसम्म पुग्थ्यो । उनीहरुले भने घुमघामका लागि हप्ताको ५० रुपैयाँ पाउँथे । यतिमात्रै होइन, उनीहरुले बेलामा खाना खानसमेत नपाएको देखिन्छ ।
बिहान ४ बजेदेखि नै गलैँचा बुन्न सुरु गर्ने उनीहरुलाई राति ११ बजेसम्म काम गर्नुपथ्र्यो । खाना भने बिहान १० बजे र बेलुकी १० बजे मात्रै दिइन्थ्यो । काम ढिला गरे, केही बिग्रेको खण्डमा मालिक्नीले आँखामा खुर्सानी दल्ले र सिस्नु लाउने गरेको पीडितले बताए ।
मकवानपुरकी १६ वर्षीया निरु मोक्तानले सञ्चारकर्मीमाझ भक्कानिँदै भनिन्, ‘साहुनीले हामीलाई खाजा खान पनि दिँदैनथिन्, काम गरे पनि कुटपिट गर्ने, काम गर्दागर्दै निदायो भने आँखामा खुर्सानी दल्थिन् ।’
बालबालिकालाई जबर्जस्ती शोषण गरेको सूचना पाएपछि माइती नेपालले गत मङ्गलबार काठमाडौँको दक्षिणढोकास्थित एक गलैँचा कारखानामा छापा मारी १० देखि १९ वर्षसम्मका १० जना बालश्रमिकलाई उद्धार गरेको जानकारी दिइयो ।
भूकम्पको बहाना बनाउँदै अहिले महिला तथा बालबालिका ओसारपसार बढेको बताउँदै माइती नेपालका निर्देशक विश्वराम खड्काले मकवानपुरको भैँसे र विपी राजमार्गमा समेत निगरानी बढाइएको जानकारी दिए ।
भूकम्पपछि मात्र कैलाली, कञ्चनपुर, बाँके, रुपन्देही झापालगायतका नाकाबाट मात्र ३२२ जना जोखिमपूर्ण अवस्थामा रहेका महिला तथा बालबालिकालाई सम्भावित बेचविखनबाट उद्धार गरेको उहाँले जानकारी दिए ।
सबैभन्दा बढी सिन्धुपाल्चोक (महाँकाल, गोल्चे, इचोक, थाङ्पालकोट र भोताङ गाविस) र बाँकी नुवाकोट, गोरखा, रसुवा, दोलाखालगायतका छन् ।
उनीमध्ये केहीलाई उचित परामर्श दिई परिवारको जिम्मा लगाइएको र कतिपय अहिले पनि माइती नेपालको संरक्षणमा रहेको माइती नेपालकी कानुन अधिकृत उमा तामाङले जानकारी दिइन् ।
बौद्ध प्रहरीका अनुसार सुरेन्द्र गलैँचा उद्योगको नामले चिनिए पनि सो गलैँचा कारखाना घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता समेत भएको छैन ।

-रासस