गलत विवरण दिई राहत लिने पक्राउ

534 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

download (3)धादिङ,-गलत विवरण पेस गरी सरकारी नगद राहत लिएको आरोपमा प्रहरीले छत्रेदेउराली ९ कटुन्जेका ५ जनालाई पक्राउ गरेको छ । सगोलमा रहेर विदेश गएका छोराहरू भिन्न भएको भन्दै १५ हजारका दरले सबै रकम आफंै बुझने ५ जनालाई स्थानीय बासिन्दाको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । शुक्रबार पक्राउ पर्नेमा सीताराम तामाङ, काइला तामाङ, कृष्ण तामाङ, सानु तामाङ र दिपक खकुरेल छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव घिमिरेले एकै परिवारका ३ देखि ५ जनासम्मले झूटो विवरण पेस गरी सरकारी राहत बुझेको गुनासो दर्ता भएपछि छानबिनका लागि पक्राउ गरिएको र आरोप पुष्टि भए कारबाही हुने बताए । 

यसैबीच, क्षति मूल्यांकन गर्न गएको टोलीले अधिकांश गाविसबाट जनगणनामा भन्दा ४० देखि ६० प्रतिशतसम्म बढी घर धुरी भएको विवरण ल्याएपछि राहत वितरणमा अन्योल भएको छ । २०६८ को जनगणना ८ सय ५३ घर धुरी रहेको लापा गाविसमा सरकारी राहत बुझने बेला १३ सय ६८ घर धुरी देखिएको थियो । ११ सय १० धुरी रहेको री गाउँमा १७ सय १ घर धुरी कायम भएको छ । छत्रेदेउरालीमा मालपोत बुझाउने घर धुरी १६ सय ५५ रहेकोमा नगद राहत बुझने बेला ६ सय ६२ घर धुरी बढेर आएपछि वितरणमा खटिएकालाई समस्या भएको थियो । 

‘१७ गाविसमा घर धुरी २५ प्रतिशतले बढेको र भूकम्पका कारण सबै घर पूर्णरूपमा क्षति भएको विवरण प्राप्त भएको जिल्ला विपत् व्यवस्थापन समितिका सूचना अधिकारी भोला गौतमले बताए । ५ प्रतिशतले मात्र घर धुरी बढ्ने अनुमान गरिए पनि जिल्लामा ६० प्रतिशतसम्म घर धुरी बढदा सरकारी राहत वितरणमा समस्या आएको थियो । 

गाविसभरिका लागि लगिएको राहत एउटै वडामा वितरण गर्दा सकिएपछि वितरण नै बन्द गरेर थप रकम पठाउनुपरेको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष वासुदेव घिमिरेले जानकारी दिए । ०६८ सालमा ७३ हजार ८ सय ४२ घर रहेकोमा भूकम्पपछि पूर्णरूपमा क्षति भएका घरको संख्यामात्र ८१ हजार ३ सय ३६ पुगेको छ ।