बैरेनी गाविसको खेस्टेखोलाबाट १ सय ७० किलो चरेश बरामद

582 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

???????????????????????????????धादिङ-भारतको उत्तरप्रदेशबाट ल्याएको प्याज झारेर फर्कंदै गरेको युपी ७७ टी ४८१३ नम्बरको जिपबाट सोमबार बिहान प्रहरीले १ सय ७० किलो चरेस बरामद गरेको छ। शनिबार प्याज लिएर नेपाल प्रवेश गरेको उक्त जिप कालिमाटीमा प्याज झारेर फर्किएको थियो। धादिङको बैरेनीस्थित खेस्टेखोलामा रोकेर जाँच गर्दा जिपभित्र गोप्य रूपमा बनाइएको बक्सामा खैरो टेपले बेरिएको चरेस फेला परेको थियो। इँटा आकारमा राखिएका एक किलो र आधा किलो तौलका सबै चरेस जोख्दा १ सय ७० किलो तौल पुगेको प्रहरीले जनाएको छ।
गाडीभित्र हत्तपत्त थाहा पाउन मुस्किल हुने गरी गोप्य बक्सा आकारको ठाउँ बनाइएको रहेछ,’ अप्रेसनमा संलग्न इलाका प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक हेमन्त भण्डारीले नागरिकसँग भने, ‘बल्लबल्ल बक्साको भेउ पाएपछि खोलेर हेर्दा चरेसै चरेस रहेछ।’
सोमबार बिहान ६ बजे उक्त गाडी राजमार्गमा विपरीत दिशातिर फर्काएर पार्किङ गरेको देखेपछि गस्तीमा हिँडेको प्रहरी टोलीले शंका गरी जाँच गरेका थिए। त्यतिबेला गाडीमा तीन जना भारतीय नागरिक मात्रै थिए। गाडीमा रहेका भारत कानपुरका राजेश कुमार, विवेक कुमार र भारत बिहार थानाका शम्भु प्रसादसँग सोधपुछ गर्दा उनीहरुले प्याज लिएर नेपाल आएको र भारत फर्कन लागेको बताएका थिए।
उनीहरुले गाडी रित्तै भएको बताए पनि व्यवहार अनौठो देखेपछि प्रहरीले सूक्ष्म जाँच सुरु गरेको थियो। धेरैबेरको खोजीपछि गाडीको भित्रीभागमा केही राखिएको फेलापर्योे। नटबोल्ट खोलेर हेर्दा त्यहाँ चरेस फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय, धादिङका प्रमुख प्रकाश मल्लका अनुसार प्रारम्भिक अनुसन्धानमा बरामद गरिएको चरेस धादिङकै कोइलीखर्कमा उत्पादित गाँजाबाट बनाइएको खुले पनि उनीहरुका नेपाली सहयोगी र उनीहरुले भारत लगेर दिने तस्कर समूहबारे खुल्न सकेको छैन।
उनीहरु शनिबार प्याज बोकेर नेपाल भित्रिएपछि काठमाडौं आएर थानकोटबाट रित्तै धादिङ हिँडेका थिए। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार धादिङको एक्लेफाँट पुगेपछि नेपालमा रहेका तस्कर समूहका सदस्यले उनीहरुको गाडीमा रहेको गोप्य बक्सामा चरेस हालेका थिए।
नेपाली कारोबारीले लैजान सहज बनाउन चरेसलाई एक किलो र आधा किलो तौल राखेर इँटा आकारको बनाएका थिए। चरेसको ढिक्का फुट्नबाट जोगाउन उनीहरुले खैरो रंगको टेपले बेरेका थिए।
प्रहरी हिरासतमा रहेका तीनैजना भारतीयले उनीहरुलाई भारतबाट पठाउने र नेपालमा चरेस दिनेको नाम खुलाएका छैनन्। उनीहरुले आफू पहिलोपटक नेपाल आएको र उताबाट पठाउँदा ‘रित्तै नआउनू, एउटा सामान छ लिएर आउनू’ भनेकाले सो सामान हालेको बताएका छन्।
उनीहरुको साथबाट ८७ हजार रुपैयाँसमेत फेला परेकाले उनीहरु चरेस तस्करीको योजनासहित नेपाल आएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको दाबी छ। नेपालमा उत्पादित गाँजाबाट बनेको चरेस भारत हुँदै तेस्रो देश पुर्याधउन स्थल र हवाईमार्गमा तस्कर समूहका सदस्य सक्रिय हुने गरे पनि पछिल्लो समय चरेस कारोबारी पक्राउ पर्ने क्रम घटेको थियो।
लागुऔषध नियन्त्रण ब्युरोले व्यावसायिक गाँजा उत्पादन हुने क्षेत्रमै गएर गाँजाका बोट नष्ट गरेकाले उत्पादन घट्दा कारोबारी निस्त्रि्कय भएको अनुमान प्रहरी अधिकारीको थियो। तर, सोमबारको घटनाले तस्कर समूह निस्त्रि्कय नभई उनीहरुले तस्करीको शैली बदलेको खुल्यो।
सो गाडीमा रहेको गोप्य स्थानको बनोट हेर्दा चरेसलगायत अवैध सामान ओसारपसारका उद्देश्यले नै बनाइएको खुल्यो। उनीहरुले सामान लोड हुने तल्लो भागमा बक्सा बनाएर बीचमा मुख बनाएका थिए। मुख बन्द गर्न पेचको प्रयोग गरिएकाले हत्तपत्त सो स्थान देखिँदैनथ्यो।
‘उनीहरुले गाडीमा बनाएको गोप्य स्थान हेर्दा गाडी बारम्बार तस्करीमा उपयोग हुने गरेको देखिन्छ,’ भण्डारीले भने, ‘अहिले तीनैजना भारतीयलाई हिरासतमा राखेर नेपालमा रहेका उनीहरुको सहयोगी खोजिरहेका छौं।’