श्रीमतीले पाइन्ट लगाउँदा डिभोर्स !

714 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भारतमा सम्बन्धविच्छेदका थरिथरि घटना

downloadभारतमा सम्वन्धविच्छेदको घटना खासै धेरै हुँदैनन् । तथापि पछिल्ला वर्षहरुको यो दर तीव्ररुपमा बढिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सम्वन्धविच्छेदका लागि दिनहुँ आउने उजूरीहरुमा कतिपय निकै हास्यास्पद हुन्छन् । केही रमाइला उजूरीहरु यस्ता छन् :

पार्टी धेरै धाउँछे

सन् २०११ मा एक भारतीय सैनिकले आफ्नी श्रीमतीले घरमा बारम्बार पार्टीमा गएको आरोप लगाएर सम्वन्ध विच्छेदको मुद्दा हालेका थिए । फेमिली कोर्टले उनलाई सम्वन्धविच्छेदको अनुमति दिए पनि पछि बम्बई उच्च अदालतले खारेज गरिदिएको थियो ।

ती ४२ वर्षीय सैनिकको बिहे सन् १९९९ मा भएको थियो । उनकी श्रीमती पार्टीमा गएर मस्ती गर्न मन गराउँथिन् । तर, उनले श्रीमानलाई कुनै प्रकारको शारीरिक या मानसिक हिंसाको शिकार बनाएको कुरा प्रमाणित नभएको ठहर गर्‍यो ।

तल्लो अदालतको आदेशलाई खारेज गर्दै न्यायाधीश एमएल ताहलियानीले भनेका थिए, ‘आजको समाजमा एक हदसम्म सामाजिक हुनु जायज नै हो । यसैका आधारमा उनी सम्वन्ध विच्छेदका हकदार हुन सक्दैनन् ।’

पाइन्ट-सर्ट लगाई

मुम्बई मिररमा प्रकाशित समाचार अनुसार मुम्बईमा एक व्यक्तिले आफ्नी श्रीमतीको पोशाकमा आपत्ति जनाउँदै सम्वन्धविच्छेको मुद्दा हाले ।

सन् २००९ मा बिहे गरेका उनको उमेर ३० वर्षभन्दा बढी थियो । उनलाई श्रीमतीले साडी-चोलो वा कुर्ता सुरुवालको साटो पाइन्ट-सर्ट लगाएर अफिस जाने गरेकोमा झोक चलेको रहेछ ।

उनलाई तीन वर्ष अघि एक फेमिली कोर्टले सम्वन्ध विच्छेदको आदेश दिएको थियो । तर, गत वर्षको मार्चमा मुम्बई उच्च अदालतले सो फैसला रद्द गरिदियो ।

अनुहारभरि दाग

एक व्यक्तिले आफ्नी श्रीमतीको अनुहारमा दाग र डण्डीफोर आएको भन्दै सम्वन्ध विच्छेदको मुद्दा हालेका थिए । उनको तर्क के थियो भने श्रीमतीको अनुहार सफा नहुँदा उनले सन् १९९८ मा आफ्नो हनिमुनको दौरान राम्ररी किस खान पाएनन् ।

सन् २००२ मा एक फेमिली कोर्टले उनको पक्षमा फैसला दिँदै भन्यो, श्रीमतीको डरलाग्दो रुपले कुनै पनि पुरुषलाई विक्षिप्त तुल्याउन सक्छ ।’

उनकी पत्नीको उपचार गरिरहेका डाक्टरले अदालतमा आएर उनको उपचार हुन सक्ने बताएका थिए । तर अदालतले श्रीमानलाई आफ्नो बिमारीको बारेमा नबताएर महिलाले धोका दिएको ठहर सुनाएको थियो । यो फैसला पनि सन् २००८ मा बम्बई उच्च अदालतले खारेज गरिदियो ।

अत्याधिक भोकी

संसारमा सम्वन्ध विच्छेदको सबैभन्दा ठूलो कारण हुन्छ यौन असन्तुष्टि । तर, गत वर्ष मुम्बईमा एक व्यक्तिले आफ्नी श्रीमती अत्यधिक सेक्सको भोकी भएको भन्दै सम्वन्ध विच्छेदको मुद्दा हालेका थिए ।

समाचार एजेन्सी पीटीआइका अनुसार आफ्नो निवेदनमा उनले लेखेका छन्, बिहे भएदेखि उनी सँधै अत्यधिक सेक्सको माग गर्थिन् र जति गर्दा पनि सन्तुष्ट हुन्नथिइन् ।’

आफू बिरामी हुँदासमेत ‘अर्कैसित सुत्ने’ धम्की दिएर श्रीमतीले यौनसम्वन्ध राख्न दबाव दिने गरेको उनको आरोप थियो । अघिल्लो वर्ष मुम्बईको एक फेमिली कोर्टले श्रीमानको पक्षमा फैसला गरिदियो र सम्वन्ध विच्छेदको अनुमति दियो ।

स्रोत : बीबीसी हिन्दी