सुत्केरीको आहारा भ्यागुता

1598 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

download (5)धादिङ – शरिर दुख्यो र कमजोर भइयो भने के गर्नुहुन्छ । शहरबजारमा हुनुहुन्छ भने चिकित्सकलाई देखाएर उपर्युक्त औषधीको खोजीमा पक्कै लाग्नुहुन्छ होला । तर, धादिङका लेकाली क्षेत्रका बासिन्दा भने शरिर दुखेको र तागतिलो खानेकुराको खोजीमा लेक पस्ने गरेका छन् ।
शरिर दुखेको, हातखुट्टा झमझमाउने, हड्डी टुटेफुटेको औषधी तथा तागतिलो खानेकुराको रुपमा भ्याकुता प्रजातीको ‘पाहा’ खोज्न ग्रामिण क्षेत्रका नागरिकहरु लेकाली खोलमा पुग्ने गरेका हुन् । गुरुङ भाषामा ‘पेँ’ भनिने भ्यागुतो प्रजातिको ‘पाहा’ औषधि हुने स्थानीयको विश्वास छ । सुत्केरीको स्वास्थ्य बिग्रन नदिन तागतिला खानेकुराको रुपमा भ्यागुता खुवाइन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ ।

धेरैका लागि अनौठो भएपनि भ्यागुतो प्रजातिको पाहा औषधि हुने जनविश्वासका कारण धादिङको उत्तरी क्षेत्रको विकट गाउँका वासिन्दा पाहाको खोजीमा लेक पस्ने गरेका छन् ।

भ्यागुता भन्दा केहि  लामो हुने पाहाको मासु खाँदा ज्यान तथा ढाड दुखेको, मर्केको, भाँचिएर लामो समयसम्म उपचार गराउँदा पनि निको नभएकाहरुको लागि उपयोगी हुनुका साथै सुत्केरीलाई खुवाउँदा तागत लाग्ने जनविश्वासका कारण बर्षा लाग्ना साथ गाउँलेहरु पाहाको खोजीमा निस्कने गर्दछन ।

बर्षायाममा मात्र खोला, कुवा र खोल्सीहरुमा प्रशस्त पाइने पाहा मानादेखि पाथीमा भरेर बिक्री हुने गरेको लापा गाविस वडा नम्बर २ का ५४ वर्षका पुसरु तामाङले वताउनुभयो । तामाङ भाषामा प्येङ, लुपिङ, सपिङ, मैपेङ भनिने विभिन्न प्रजातिका पाहा बर्षायाममा मात्र भेटिने गर्दछ । पाहाको छाला र आन्द्राभुडी फ्याँकेर बाँकी भागको सुप वनाएर, राम्रोसंग भुटेर वा स्वाद अनुसार मासुको परिकारका रुपमा खान सकिने उहाँ बताउनुहुन्छ ।

भ्यागुता भन्दा केहि लामो हुने पाहाको मासु खाँदा शरिर तथा ढाड दुखेको, मर्केको, भाँचिएर लामो समयसम्म उपचार गराउँदा निको नभएकाहरुको लागि उपयोगी मानिन्छ । यस्तै, सुत्केरीलाई खुवाउँदा तागत लाग्ने र चिसो गडेकाको लागि अचुक औषधी हुने स्थानीय बताउँछन् ।भ्यागुतोको रुपसँग मिल्ने भएपनि पाहा फरक किसिमको हुने भएकाले यस्को खोजीका लागि बर्षा लागेपछि खोला र खोल्सीको किनारमा मानिसहरुको भिड लाग्ने गरेको लापाका जंगवहादुर तामाङले वताउनुभयो ।

ठुलो खाले पाहाको एउटाको १ सय रुपैयाँसम्म पर्ने गाउँलेहरुले बताउँछन । धादिङको सबै भागमा पाहा भेटिए पनि तिप्लिङ गाविसको लेकमा भेटिने पाहा भने निकै महत्वपूर्ण हुने गाउँलेहरुको विश्वास छ ।

चिनियांहरुले पनि पाहालाई औषधिको रुपमा खाने गरेको पाईएकाले हिमाली भेगका वासिन्दाले मासुको परिकार वनाएर पाहा खाने गरेको पुसरुले वताउनुभयो । पुसरुका अनुसार केही पाहा आधा किलोको सम्म हुने गर्दछन् ।

बर्षा लागेपछि खोलाको किनार र पाखा तिर बग्रेल्ति भेटिए पनि लेकमा पाइने पाहामात्र खानयोग्य हुने गरेको  पुसरुको भनाई छ ।  बर्षको एक पटक मात्र पाइने भएकाले घरमा हात खुट्टा भांचिएका, मर्केका विरामी र सुत्केरी भएका परिवारका सदस्यहरु पाहाको खोजीमा जाने गरेको स्थानीयबासिन्दाले बताएका छन् ।