धादिङका भुकम्प पीडित काम सँगै दाम कमाउदैँ

753 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

photoधादिङ पुस -भूकम्पपछि राहतको पर्खाइमा बस्दै आएका चेपाङ बस्तीका बासिन्दा यतिखेर गाउँको विकासमा सहभागी भएका छन् । उनीहरू भूकम्पले क्षतिग्रस्त स्थानीय ग्रामीण सडक, गोरेटो बाटोघाटो, खानेपानी, सिँचाइका साना योजनामा काम पाएपछि दंग छन् ।

काम गरेबापत नगद पाइने भएपछि धादिङका गजुरी, बेनीघाट र धुसा गाविसका स्थानीय बासिन्दा विकासमा सहभागी हुन हौसिएका हुन् । कामका लागि खाद्यान्न कार्यक्रम सुरु गरी विपद् व्यवस्थापन समितिले धादिङमा काम गरेर नगद लैजाने आपतकालीन खाद्य सुरक्षा तथा जीविकोपार्जन कार्यक्रम सञ्चालन गरेको हो ।

‘जिल्लास्थित विपद् व्यवस्थापन समितिले भूकम्पपीडित बस्तीहरूमा विकाससँगै जनताको हातमा नगद पर्ने कार्यक्रम नमुनाका रूपमा अघि सारेको हो,’ समितिका सचिवसमेत रहेका स्थानीय विकास अधिकारी भगवान् अर्यालले भने, ‘उपभोक्ता समितिहरूमार्फत योजना जिम्मा दिएर ठूला स्काभेटरलगायत उपकरण प्रयोग गरी विकास गर्नुभन्दा जनताकै प्रत्यक्ष सहभागितामा सानातिना विकास योजना निर्माण गर्नु राम्रो ठानेका छौं ।’

भूकम्पले क्षतिग्रस्त पीडितहरूले प्रयोग गर्ने स्थानीय विकास आयोजनाहरू निर्माण, मर्मत गर्ने काममा सबै पीडितलाई प्रत्यक्ष सहभागी गराउने कार्यक्रम छ । पीडितले २९ दिन काम गरेर करिब १५ हजार नगद पाउँछन् । यस कार्यक्रमबाट ३ गाविसमा २ करोडका दरले ६ करोड नगद रकम भूकम्पपीडितले पाउने छन् । स्थानीय योजना मर्मत गर्ने सबै औजारहरू पनि उपलब्ध गराइएको छ ।

कार्यक्रम लागू भएका ३ गाविसका एक घरबाट एक युवा, वृद्ध, महिलाहरूको सहभागिता हुने बताउँदै सामाजिक परिचालक सीता घलेले ३ गाविसका १५ समूहहरूमार्फत पृथ्वी राजमार्गसँग जोडिने ग्रामीण सडक, गोरेटो बाटो, साना सिँचाइ र खानेपानी मर्मतकार्य सञ्चालन भइरहेको बताइन् ।

घलेका अनुसार स्थानीय विकास निर्माण मर्मत गर्न सहभागी भएका ३ गाविसका ५ हजार घरधुरीमध्ये सुत्ेकरी अशक्त, वृद्धहरूले काम नगरे पनि नगद पाउने व्यवस्था मिलाइएको छ । कार्यक्रम लागू भएका ३ गाविसमा ६ सय जना सुत्केरी छन् । कार्यक्रमपश्चात युवाहरूलाई लघुउद्यम गर्न पनि प्रोत्साहन गर्न लगानी गरिने छ । कान्तिपुरबाट