वैदेशिक रोजगारीमा ठगिए ११७७ मा फोन गर्न सकिने-हटलाईन २४ सै घन्टा संचालनमा

557 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

hotline newsकाठमाडौं, – वैदेशिक रोजगारमा ठगीले जरा गाडेपछि महानगरीय अपराध महाशाखाले उजुरी सुन्न ११७७ नम्बरको हटलाइन सुरु गरेको छ ।
नेपालभरीबाट फोन गर्दा ११७७ मात्र डायल गरे पुग्छ भने विदेशबाट फोन गर्दा नेपालको कन्ट्री कोड न. ९७७११७७ डायल गर्नुपर्ने प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीका नाममा स्वदेश तथा विदेशमा भएका ठगी र त्यससँग जोडिएका अपराधबारे उजुरी सुन्नका लागि हटलाईन २४ सै घन्टा संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
झुठो आश्वासनले युवाहरूलाई विभिन्न प्रलोभनमा पार्ने, तोकिएको भन्दा बढी रकम लिने, भनेको जस्तो काम र तलव नपाइने, लामो समयसम्म एमआरपी कब्जामा राख्ने, विदेशमा पुगेपछि विमानस्थलमा लिन नआउने, वैदेशिक रोजगारीका नाममा युवतीहरू बेचिएको उजुरी परेपछि गुुनासो सुन्न हटलाइन संचालनमा ल्याइएको एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।
विदेशमा युवाहरूको तुलनामा युवतीहरूको अवस्था नाजुक रहेको उनले बताए। प्रहरीले हटलाइन सुरु गरेपछि मकाउमा बेचिएकी एक युवतीको उद्धारसमेत गरेको छ । वैदेशिक रोजगारीका नाममा युएइ हुँदै मकाउ र्पुयाएर बेच्ने कम्पास म्यानपावरका संचालकलाई पनि प्रहरी पक्राउ गरिसकेको छ ।
उजुरी आइसकेपछि विदेशमा रहेका विभिन्न संघसंस्थाको सहयोगमा उनीहरूलाई उद्धार गरिने लक्ष्य रहेको एसएसपी खनालले बताए । अपराध महाशाखामा उजुरी आएपछि प्रहरीले अहिले राजधानीका म्यानपावरकम्पनीहरूमा सादा पोशाकमा प्रहरी परिचालन गरेको छ । प्रहरीले छिट्टै उपत्यकाका म्यानपावर कम्पनीहरूमा छापा मार्ने तयारी गरेको छ । कतिपय संचालक र एजेन्टहरूलाई पक्राउ समेत गरेको छ ।
वैदेशिक रोजगारीको मुद्दा हेर्ने वैदेशिक विभाग र श्रम अदालत हेर्ने भएपनि पछिल्लो समय उनीहरू जिम्मेवार नबनेको प्रहरीले आरोप लगाएको छ। ’सर्वसाधारण ठगिएका ठगिएै भए, सहनै नसकिने भयौं त्यसकारण हामीले हटलाइन सुरु गरेका हौं’, एसएसपी खनालले भने, ’छिटो भन्दा छिटो सुनुवाइ पनि हुने भएकाले दिनमा ३० वटा भन्दा बढी कलहरू आउन थालेका छन् ।’
अहिले देशका ४० लाखभन्दा बढी युवा युवती वैदेशिक रोजगारीमा गएका छन्। सरकारले वैदेशिक रोजगारीका लागि १ सय ८ वटा देशलाई मान्यता दिएपछि नेपाली युवायुवती खाडी मुलुकमा नै बढी गएका छन् ।
विशेषगरी मलेसिया, कतार,साउदी, युएइ लगायतका खाडी मुलुक नेपाली कामदारको मुख्य श्रम गन्तब्य बनेको छ। मलेसिया लगायतका खाडी मुलुकमा अहिले फ्रि भिसा र टिकटमा कामदार पठाउने भनिएता पनि म्यानपावर कम्पनीहरूले मोटो रकम लिइरहेका छन् ।
कामदारहरू विदेशमा पठाउन अहिले ६ सय ३५ भन्दा बढी म्यानपावर कम्पनीहरूले काम गरिरहेका छन् । म्यानपावरको अनुमति लिनेको संख्याले त हजार काटिसकेको छ । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय विकृति भित्रिएको प्रहरीले जनाएको छ ।