नेपाल डे परेडमा जनसहभागिता जटिल बन्दै, शेर्पा किदुकद्वारा कार्यक्रम बहिष्कार

767 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

imageन्यूयोर्क । जन्मँदै विवादित बनेको ‘नेपाल डे परेड’को न्यूयोर्कमा समुदायका प्रतिनिधिसहित आयोजित पहिलो कार्यक्रमसमेत विवाद मुक्त हुन सकेन । आगामी मे महिनाको २२ तारिख संसारकै केन्द्र म्यानहाटनको ब्रोडवेमा आयोजित हुने भनिएको नेपाल डे परेड सार्वजनिक भएकै दिन आयोजकका विषयमा सामाजिक सञ्जालमा विवादित बनेपछि ज्याक्सन हाइट्समा आयोजित पहिलो पत्रकार सम्मेलनमा समेत समुदायका प्रतिनिधि र आयोजकत्रय भनेर प्रचारित पक्षबीच आरोप–प्रत्यारोप चलिरह्यो ।

कार्यक्रम सार्वजनिक हुँदा आयोजक भनेर प्रचार गरिएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अमेरिकी संगठन प्रवासी नेपाली मञ्च अमेरिका, नेपाली कांग्रेसको प्रवासी संगठन जनसम्पर्क समिति अमेरिका तथा आदिवासी जनजाति महासंघका नेतृत्व क्रमशः सञ्जय थापा, आनन्द विष्ट तथा लुइसाङ वाइवालाई समुदायका प्रतिनिधिहरुको प्रश्न खेपिनसक्नु भएको थियो ।

ज्याक्सन हाइट्सस्थित स्थानीय नेपाली रेष्टुरेन्टमा आयोजित कार्यक्रमलाई पत्रकार सम्मेलनको ब्यानर झुण्ड्याइए पनि आफूखुसी ३ वटा संस्था मात्र आयोजकका रुपमा अगाडि बढ्न खोजेको आरोप लगाउँदै आक्रोशित बनेका अधिकांश संघसंस्थाकै प्रतिनिधिहरुको आक्रोशका कारण पत्रकारहरुले प्रश्न राख्ने पालो भेट्न पनि हम्मेहम्मे परेको थियो ।

पत्रकार सम्मेलनको प्रारम्भमा न्यूयोर्कस्थित प्रभावशाली संस्था युनाइटेड शेर्पा एसोसिएसनका अध्यक्ष दावा जाङ्बु शेर्पाले आक्रोशित हुँदै मञ्चमा आसिन आयोजकलाई तपाईंहरुले आफूखुसी ३ वटा संस्थाको नाम आयोजकमा राख्नुअगाडि न्यूयोर्कमा सबै संस्थालाई बोलाएर बैठक गरेको भए के बिग्रन्थ्यो ? भन्दै प्रश्न गरेका थिए । उनले भने– ‘तपाईंहरुले आफूखुसी मिति तय गरिसक्नुभयो । यदि बुद्धजयन्तीका दिनलाई नेपाल डे मनाउने हो भने ठीक छ नत्र शेर्पा किदुकले यो परेड बहिष्कार गर्छ, भाग लिंदैन ।’ अध्यक्ष दावा जाङ्बु शेर्पाले आयोजकले अहिले विवाद भएपछि संस्था धेरै देखाउन आफ्नो संस्थाको लोगो ब्यानरमा राखेको तर आफूलाई नसोधेरै राखेको आरोपसमेत लगाए ।

हिमालयन बुद्धिष्ट एसोसिएसनका अध्यक्ष तेञ्जिङ उक्याबले पनि व्यापक छलफलबिना आयोजित नेपाल डे परेड बहिष्कार गर्ने घोषणा गरे । पत्रकार सम्मेलनमा समुदायका कतिपयले भने आयोजकलाई यसरी ३ वटा संस्था मात्र अगाडि बढेर काम गर्नुभन्दा मूल तयारी समिति गठन गरेर काम गर्न सुझाव दिए भने अधिकांशले गैरआवासीय नेपाली संघ, अमेरिकालाई बाहिर राखेर किन कार्यक्रम आयोजना गरिंदैछ भन्दै प्रश्न गरेका थिए । एनआरएन किन बाहिर भन्ने प्रश्न आउनेबित्तिकै जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ वाइवा भने ब्यानरमा राखिएको एनआरएन न्यूयोर्क च्याप्टरको लोगो देखाउँदै एनआरएन पनि सहभागी छ भन्दै टालटुल गर्दै थिए ।

समुदायका प्रतिनिधिहरुको प्रश्न आयोजक भनेर चिनिएका ३ वटा संस्थाका प्रमुखतर्फ भए पनि न्यूयोर्कस्थित महावाणिज्य दूतावास प्रमुख नारायण मैनालीले भने बीचबीचमा आफैं उत्तर दिएर बचाउ गर्दै थिए । पत्रकार सम्मेलनमा सहभागी अधिकांश समुदायका प्रतिनिधिहरुको असन्तुष्टि भने नेपालको भावना गाँसिएको बृहत कार्यक्रम आयोजनाको फ्रन्टलाइन आयोजकहरु राजनीतिक दलका भ्रातृ संगठन हुनु नै थियो ।

पत्रकार सम्मेलनमा आयोजकका तर्फबाट जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट, प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष सञ्जय थापा, जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ वाइवाले
पालैपालो प्रश्नहरुको उत्तर दिएका थिए । प्रश्नहरुको जबाफ दिने क्रममा जनसम्पर्क अध्यक्ष आनन्द विष्टले कार्यक्रम गर्ने वातावरण कसरी बन्यो भन्नेबारे प्रष्ट पारेका थिए भने प्रवासी मञ्च अमेरिकाका अध्यक्ष सञ्जय थापाले कार्यक्रमको आर्थिक पाटोका बारेमा प्रष्ट पारेका थिए । त्यसैगरी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ वाइवाले ‘यदि कार्यक्रममा सबै संस्थाहरु सहभागी हुने हो भने ¥यालीको अन्तिम लाइनमा हामी ३ वटा संस्थाहरु बस्न तयार छौं, हामीलाई अगाडि बस्ने रहर छैन’ भने ।