पुुनर्निर्माणको ६० करोड रकम फिर्ता

822 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

imagesश्रावण ८, २०७३- सरकारी निकायको ढिलासुस्तीका कारण भूकम्प पीडितका आवास पुनर्निर्माणका लागि आएको ६० करोड रकम फिर्ता गएको छ ।

 जिल्लामा प्राप्त ७६ करोड रकममध्ये ४ गाविसका २८ सय ५९ जना लाभग्राहीलाई १४ करोड २९ लाख ५० हजार रकम पीडितलाई दिन अनुदान भए पनि बाँकी रकम फिर्ता भएको छ । ‘जिल्लामा प्राप्त उक्त वजेट गाविसहरूमा सचिव नहुनु र बस्तीमा घुमेर सम्झौता गर्ने जनशक्तिको अभावका कारण सम्झौता हुनै नसकेर फिर्ता गएको छ,’ जिल्लास्थित प्रमुख कोष नियन्त्रक यज्ञप्रसाद ढकालले भने ।

स्थानीय विकास अधिकारी भगवान् अर्यालले भूकम्पपीडितसँग सम्झौता गर्ने प्रयास जारी रहेको बताए । लाभग्राही सूचीमा नाम भए पनि आवश्यक अंशबन्डा र लालपुर्जा लगायतका कागजात नभएपछि अधिकांश सम्झौता हुन नसकेको हो । जिल्लामा रहेका ४६ गाविसमध्ये ३५ गाविसमा मात्रै सचिव कार्यरत छन् ।

हालसम्म बसेरीका ८ सय ८६, कटुन्जेका १ हजार ९७, मार्पाकका ५ सय ३२ र सल्यानकोटका ३ सय ४४ समेत गरी जम्मा २८ सय ५९ घरधुरीसँग सम्झौता भई १४ करोड २९ लाख ५० हजार रुपैयाँ हरेकका खातामा गएको छ ।

‘रकम खातामा जम्मा भए पनि अधिकांश लाभग्राहीहरू रकम लिन आएका छैनन्, जम्मा सय जनाले मात्रै रकम उठाएका छन्,’ सदरमुकामस्थित एभरेस्ट बैंकका व्यवस्थापक पुष्पराज उप्रेतीले भने । एभरेस्ट बैंकबाट शुक्रबारसम्म मार्पाकका ५ सय ३२ मध्ये ६० जनाले मात्रै रकम झिकेका छन् इकान्तिपुरमा समाचार छ ।

‘वर्षातका कारण यातायात अवरुद्ध र काम नभएको बेला लिएपछि खर्च हुने भन्दै कतिपय रकम लिन नआएका हुन सक्छन्,’ उप्रेतीले भने ।

लाभग्राहीको सूचीमा परे पनि अनुदान रकम नपाउनेमा दक्षिण भेकका चेपाङ समुदाय, सल्यानकोट, त्रिपुरेश्वर लगायतका रहेको जिविस सूचना अधिकृत भोला गौतमले बताए । उनका अनुसार विभिन्न मठमन्दिरका गुठी जग्गाहरू भोगचलन गरेका किसानहरू र उत्तरी धादिङका दलितहरूले पनि अनुदान रकम नपाएको गुनासो गरेका छन् । जिल्लामा जम्मा ८ हजार ४ सय १८ गुनासो दार्ता भएको छ ।