भूकम्पले ध्वस्त विद्यालय पुनर्निर्माण गरी समुदायलाई हस्तान्तरण

748 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

school4धादिङ । २०७२ साल बैशाख १२ गतेको भूकम्पले ध्वस्तभएका महादेवस्थान गाउँ विकास समितिका तीन ओटा विद्यालयको नयाँ भवन समुदायलाई हस्तान्तरण गरिएको छ । प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपालले यूनाइटेड मिसन टु नेपाल धादिङको साझेदारी तथा जिल्ला शिक्षा कार्यालयको समन्वयमा पुनर्निर्माण भवन निर्माण गरी बिद्यालय/समुदायलाई हस्तान्तरण गरेको हो ।

चेपाङ समुदायको मात्र बसोबास रहेको महादेवस्थान गाविसको वडा नम्बर १ मासखर्कमा रहेको पञ्चकन्या प्राथमिक विद्यालय, वडा नम्बर १ कै घैराङमा रहेको घैराङ प्राथमिक विद्यालय र वडा नम्बर ५ मा रहेको रावलडाँडा निम्न माध्यमिक विद्यालयमा निर्माण गरिएको नयाँ भवन आईतवार छुट्टाछुट्टै कार्यक्रम गरी हस्तान्तरण गरिएको छ ।

आईतवार हस्तान्तरण भएको समेत १४ बिद्यालयको निर्माण सम्पन्न भएको र २२ बिद्यालय तथा २५ वटा खानेपानी र शौचालय निमार्ण चरणमा रहेको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशकले जानकारी दिनु भयो । सम्बन्धित विद्यालयहरुमा आयोजित कार्यक्रममा क्षेत्रिय शिक्षा निर्देशनालय हेटौंडाका निर्देशक दिनेशकुमार श्रेष्ठले विद्यालय हस्तारण गर्नुभयो ।

विद्यालय हस्तान्तरण गर्दै निर्देशक श्रेष्ठले भूकम्पले भत्काएका विद्यालयहरु जतिसक्दो चाँडो पूनर्निमाण गरेर गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार लागि परेको बताउनु भयो ।

पुनर्निमाण भैसकेका विद्यालयमा गुणस्तरीय शिक्षा उपलव्ध गराउनु अबको आवश्यकता रहेको भन्दै यसतर्फ केन्द्रित हुन अभिभावक तथा शिक्षकहरुसंग आग्रह पनि गर्नुभयो । निर्देशक श्रेष्ठले भूकम्प प्रभावित जिल्लाहरुमध्ये विद्यालय पुनर्निर्माण गर्न धादिङ अग्रस्थानमा रहेको पनि बताउनु भयो ।

त्यसैगरी विद्यालय हस्तान्तरण कार्यक्रममा धादिङका जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद ढकालले यूएमएन, प्रयास नेपाल लगायत अन्य सहयोगी राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुसंग सहकार्य गरी विद्यालय पुनर्निमाण गर्न जिल्ला शिक्षा कार्यालय अघि बढेको धारणा राख्नुभयो । पुनर्निमाण भएका विद्यालयहरुमा अब गुणस्तरीय शिक्षामा लाग्नु पर्ने धारणा पनि जिशिअ ढकालले राख्नुभयो ।
विद्यालय हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस धादिङका सचिव हरेराम बुर्लाकोटी, नेकपा एमालेका उपसचिव शंभुकुमार थापा,नेकपा माओवादी केन्द्रका प्रतिनिधि हेमराज भुजेल, नेपाल शिक्षक महासंघ धादिङका उपाध्यक्ष विष्णुप्रसाद अधिकारी, नेपाल शिक्षक संघका अध्यक्ष दिपक सिम्खडा, नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव प्रेम खरेल, महादेवस्थान गाविसका सचिव रमेश पौडेल, युएमएन धादिङका टिमलिडर शिव प्रसाद अधिकारी, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालल लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

महादेवस्थान गाविसमा पुर्निमाण भएका विद्यालयहरुमा प्रति विद्यालय १२ देखि १४ लाख रुपैयाँसम्म खर्च भएको प्रयास नेपाल धादिङले जनाएको छ । विद्यालय पुनर्निमाणमा स्थानीय अभिभावकहरुले पनिे जनश्रमदान गरेको अभिभावक कृष्ण बहादुर चेपाङलेले बताएका छन् ।