लघु जलविद्युत् पुनर्निर्माणले ताल्तीका स्थानीयको मुहारमा खुसीयाली

733 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

jalbidutnews-800x445

–केशव अधिकारी
धादिङ । भूकम्पले ध्वस्त बनेर बन्द हुन पुगेको संरचना मर्मत सम्भार गरेर पुनः बिजुली बल्न थालेपछि धादिङ जिल्लाको महादेवस्थान गाविस ताल्ती आसपासका स्थानीयको मुहारमा खुसीयाली छाएको छ ।
केन्द्रीय प्रसारण लाइन पुग्न अझै वषौँ कुर्नुपर्ने भएपछि दक्षिणी धादिङको महादेवस्थान गाविस ताल्ती आसपासका स्थानीय बासिन्दाहरुले केही वर्षअघिदेखि गाउँमै लघु जलविद्युत् आयोजनामार्फत् बिजुली बाल्ने रहर पूरा गरेका थिए ।
दुई वर्षसम्म राम्रैसँग बिजुली बलेर गाउँमा लघु उद्योग स्थापना गरी आयआर्जनतर्फ लागेका र घर–घरमा बिजुली बालेर उज्यालोमा बस्दै आइरहेका यहाँका वासिन्दालाई वैशाख १२ को भूकम्पले अँध्यारोमा फर्काएको थियो । बिजुली बलेपछि यहाँका बासिन्दाले कतै कुटानी पिसानी गर्ने मिल, फर्निचर, व्यावसायिक कुखुरापालन सुरू गरेर व्यवसायमा लगानी गरेका थिए ।
भूकम्प पछि बन्द हुन पुगेको आयोजना मर्मत सम्भार गरेर अहिले पुन आफ्नै गाउँमा विद्युत् उत्पादन हुन थालेपछि गाउँवासीले आफ्नै तौरतरिकाले विद्युत्को उपयोग गरिरहेका छन् । बिजुलीको भरमा सामान्य उद्योग, कारखाना चलाएर स्वरोजगारको निर्माण गरेकाहरुको लगानी नै डुबिसकेको थियो । अहिले बल्ल बत्ती बल्न थालेको छ । पहिलेकै अवस्थामा फर्कन सकिन्छ कि भन्ने आशा पलाएको छ– स्थानीय कमला श्रेष्ठ भन्छिन् ।
पाँच वर्षअगाडि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रमार्फत निर्माण गरिएको मलेखु खोला लघु जलविद्युत आयोजना अहिले युनाईटेड मिसन टु नेपाल(युएमएन)ले स्थानीय साझेदारमार्फत पुनर्निर्माण गरिदिएको हो । युएमएनले साझेदार संस्थाहरुसँग मिलेर धादिङ जिल्लाको पीडा, महादेवस्थान, लापा र रि गाविसमा धादिङ विपद व्यवस्थापन कार्यक्रम सञ्चालन गरिरहेको छ । महादेवस्थान र पीडा गाविस प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) संस्थामार्फत भइरहेको कार्यक्रमका टिम लिडर शिव अधिकारी बताउँछन् ।
भूकम्पपछि गएको पहिरोले नहर भत्किएको र पावर हाउसमा समेत क्षति पुगेपछि विद्युत् उत्पादन बन्द भएको थियो । युएमएनको ११ लाख रुपैया सहयोगमा भूकम्पले भत्किएका संरचना पुनर्निर्माण भएपछि अहिले फेरि बिजुली बत्तीको प्रयोग गर्न पाएको स्थानीय शिक्षक तुलसीजङ्ग थापाले बताए ।
पाँच वर्षअघिदेखि उपभोग गरिरहेको लघुजलविद्युत् २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण नहर र पावर हाउसमा भूकम्पले क्षति पु¥याइदिएपछि बन्द हुन पुगेको थियो । भूकम्पपछि घरविहीन हुनुपरेको पीडा एकातिर थियो भने जीविकोपार्जनको बाटो पनि बन्द हुँदा स्थानीय निकै मारमा परेका थिए ।
विद्युत् गृहको मर्मत सम्भार र पहिरोले भत्किएको नहर पुनर्निर्माणपछि बलेको बिजुलीलाई घरमा बाल्नका लागि मात्रै नभएर अहिले कुटानी पिसानीका लागि समेत प्रयोग गरिएको स्थानीय तुलसी थापा बताउँछन् । कुटानी पिसानीसँगै स–साना फर्निचर उद्योगहरुसमेत चलाउन थालेका छन् ।
जसले गर्दा पुनर्निर्माणका लागि चाहिने फर्निचर बनाउन गाउँबासीलाई सजिलो भएको छ –‘भूकम्पपछि बत्ती बिग्रिएर गरिखाने हात भाँचिएजस्तै भएको थियो, २ पटकसम्म विदेश जाने प्रयाससमेत गरे, अहिले फेरि बत्ती बल्न सुरू भयो, आफूले जानेको काम यही छ, अब विदेश जान्न’ फर्निचर उद्योगका सञ्चालक विष्णुबहादुर मगरले बताए ।
२६ किलोवाट क्षमताको मलेखुखोला लघु जलविद्युत् आयोजनाबाट दैनिक २२ घण्टा उत्पादित विद्युत् ३ सय ३५ घरधुरीले प्रयोग गर्ने गरेका छन् । अहिले घरायसी कामबाहेक पोल्टीफर्म, फर्निचर, मिलजस्ता उद्योगहरु सञ्चालनमा समेत सहज भएको छ । उक्त आयोजनाबाट उत्पादित बिजुलीको उपभोग गरेर महादेवस्थान गाउँ विकास समितिमा मात्रै १२ जनाले व्यावसायिक कुखुरापालन गरिरहेका छन् ।