राजमार्ग नजिकैको विद्यालयका विद्यार्थीमा स्वास्थ्य समस्या

860 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ जिल्लाको पृथ्वीराजमार्गमा पर्ने महादेवबेसीबाट केहीबेरको पैदल उकालो चडेपछि गोगनपानी- ७ पैरे पुगिन्छ । चेपाङ र तमाङ जातीको बसोबास रहेको त्यहाँ एउटा प्राथमिक विद्यालय छ, हिमालचुली प्रावि । सम्पन्न परिवारका छोराछोरी महादेवबेसी र काठमाडौंमा पढ्ने हुनाले त्यहाँको विद्यालयमा पढ्ने अधिकांश विद्यार्थी पनि बिपन्न चेपाङ र तमाङ जातिकै छन् ।

विद्यालयकी प्राचार्य इन्दिरा अधिकारी ५ कक्षासम्मको विद्यालयमा दुई वटा मात्र कोठा रहेको तथा आफूसहित तीन शिक्षकमा दुई जनालाई मात्र जिल्ला शिक्षा कार्यालयले तलब दिने गरेको बताउँछिन् ।

मंसिर २८ गते ‘वी फर अस’ संस्थाबाट स्वास्थ्य शिविरमा त्यहाँ गएका डा. सिजन थापाले विद्यार्थीहरुमा सरसफाईको अभावका कारण पेट फुल्ने, कान पाक्ने, श्वास प्रश्वास, घाउखटिरा, रुघाखोकी र छाती दुख्ने समस्या धेरै रहेको बताए ।
विद्यार्थीहरुमा कक्षा तीनमा अध्ययनरत १० बर्षीय एम्बिशन लामाको रगतमा गम्भीर खराबी रहेको डा. सिजन थापाको भनाई छ ।

बुबा आमा मजदुरी गर्न गाउँ बाहिर गएकाले हजुरबुबा हजुरआमासँग बस्ने उनको परिवारसँग उपचार गर्ने पैसाको अभाव छ । उनको उपचारका लागि दाता आवश्यक रहेको डा. थापा बताउँछन् । त्यहाँ पुगेका ५० स्वयंसेवकमध्ये श्री सैनिक आवाशीय महाविद्यालयका एक दर्जन बिद्यार्थी थिए, जसले विद्यालयमा १२०० कपी वितरण गरेका थिए ।

-आठैप्रहरबाट