गणेश हिमाल पर्यटन विकास समितिको अध्यक्षमा तेज गुरुङ सर्वसम्मत

883 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

tej-b-gurung काठमाडौं । गणेश हिमाल पर्यटन विकास समितिको आगामी नेतृत्वका लागि तेजबहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् ।
समतिको पाँचौं बार्षिक साधारणसभा नजिकिदै जाँदा बसेको कार्यसमितिको बैठकले उनलाई सर्वसम्मत नेतृत्व हस्तान्तरण गर्ने गरि सहमति भएको अध्यक्ष कुलबहादुर गुरुङले  बताए । गुरुङ हाल प्रथम उपाध्यक्ष रहेका छन् । उनी टानको समेत प्रथम उपाध्यक्ष हुन् । समितिको साधारणसभा भने आगामी ६ तारिखमा ठमेलस्थित गोकर्ण हाउस रेष्टुरेन्टमा हुने भएको छ ।
अध्यक्षसँगै अधिकांश पदहरु सर्वसम्मत भइसकेको बताइएको छ । जस्मा बरिष्ठ उपाध्यक्ष रनकेश गुरुङ, प्रथम उपाध्यक्ष टेकबहादुर खकुराल र द्वितीय उपाध्यक्ष हिमाल घले रहेका छन् भने महासचिवमा पुनः राजेन्द्रप्रसाद सुवेदीले दोहो¥याउने भएका छन् । त्यस्तै, कोषाध्यक्षमा चन्द्र गुरुङ निर्विरोध हुने पक्का भएको छ भने कार्यसमितिका सदस्यहरु पनि करीबकरीब टुंगिएको बताइएको छ । कार्यसमितिको नामावली प्राप्त नभएपनि अधिकांश सदस्यहरुले पुनः दोहो¥याउने इच्छा व्यक्त भएकोले केही सदस्य मात्र नयाँ थपिने समितिको सचिवालयले जनाएको छ ।
धादिङ जिल्लाको पर्यटन विकास र व्यवसायीहरुको हकहितमा काम गर्दै आएको समितिको नयाँ कार्यसमितिमा यस पटक धादिङको क्षेत्र नं. १, २ र ३ सबै क्षेत्रका व्यवसायीहरुलाई समेटी ल्याउने प्रयास भइरहेको बताइएको छ ।
साधारणसभाकै अवसर पारेर समितिले पहिलो पटक गणेश हिमाल नामक स्मारिका प्रकाशन गरेको छ । गणेश हिमाल (रुवी भ्याली) क्षेत्रको समग्र पर्यटकीय सम्भावना, धादिङ जिल्लाको सबै पर्यटकीय गन्तव्य, धादिङबाट काठमाडौं आइ पर्यटन व्यवसायमा नेतृत्व गरिरहेका व्यवसायीहरुको भनाइ, धादिङका पर्यटन पत्रकारहरुको लेख/सिर्जना, धादिङका पुराना पर्यटन व्यवसायी ज्ञानु रिमालको जीवनी, विविध लेखरचना र उत्कृष्ट फोटोसहित विविध समाचारीय खुराकहरु संलग्न गराइएको स्मारिका सोही साधारणसभामा लोकार्पण गरिने स्मारिका प्रकाशन समितिका संयोजक तथा समितिका बरिष्ठ उपाध्यक्ष तेजबहादुर गुरुङले बताए । उनले स्मारिका एउटा लाइब्रेरिकै रुपमा रहने विश्वास व्यक्त गरेका छन् ।
समितिमा २५ सदस्यीय कार्यसमिति रहेको छ भने दुई वर्षे कार्यकाल रहेको छ । समितिमा धादिङका करीब दुई सय व्यवसायी आबद्ध छन् ।-पर्यटनन्यूजबाट