विपक्षीको अवरोधसँगै संविधान संशोधन प्रस्तुत

515 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं : व्यवस्थापिका संसद्‍को आइतबारको बैठकमा विपक्षी दलको विरोधका बीच संविधान संशोधन सम्बन्धी विधेयक प्रस्तुत भएको छ ।

विपक्षीको अवरोधका बीच कानुनमन्त्री अजयशंकर नायकले बैठकमा संविधान संशोधन प्रस्ताव सम्बन्धीको विधेयक प्रस्तुत गरेका हुन् । संसद्‍मा संशोधन विधेयकको कार्यसूची पेश भएपछि एमालेसहितका विपक्षी दलले उठेर विरोध गरेका थिए ।

सभामुख ओनसरी घर्ती मगरले कार्यसूची अगाडि बढाएपछि विपक्षी दलले नाराबाजी समेत गरेका थिए । संशोधन प्रस्तावविरुद्ध विपक्षी दलका सांसद् प्रेम सुवाल र चित्रबहादुर केसीको विरोधको सूचना बहुमतले अस्वीकृत भएको घोषणा गर्दै सभामुखले संशोधन प्रस्ताव प्रस्तुत गर्न कानुनमन्त्री नायकलाई समय दिएकी थिइन् ।

बैठकमा स्थानीय तहको निर्वाचन सम्बन्धी विधेयक समेत प्रस्तुत भएको छ । संसद् बैठकमा संशोधन विधेयक प्रस्तुत गर्दै गर्दा एमालेसहितका विपक्षी दलले चर्को होहल्ला गरेका थिए ।

आइतबार व्यवस्थापिका संसद् सचिवालयले विरोधाका बीच बैठक चलाउने निर्णय गरेको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले संसद् सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि एमाले लगायतका विपक्षी दलले मंसिर १५ देखि संसद् बैठक अबरुद्ध गर्दै आएका छन्।

सरकारले गत मंसिर १४ संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरे पनि अहिलेसम्म त्यो संसद्‍मा प्रवेश हुन सकेको थिएन । विधेयक प्रस्तुत भए लगत्तै संसद्को अर्को बैठक सोमबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ अन्नपूर्ण पोष्ट डट कम अनलाइनमा खबर छ ।