मेगा र टुरिजम डेभलपमेन्ट बैंक गाभिने

1266 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Mega tourism 1काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र टुरिजम डेभलपमेन्ट बैंकबीच एक आपसमा गाभिने सैद्धान्तिक सहमति भएको छ ।
मेगाका अध्यक्ष भोजबहादुर शाह र टुरिजमका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले दुवै बैंकको सञ्चालक समितिका सदस्यको रोहवरमा सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
मर्जरपश्चात् बैंकको नाम मेगा बैंक नेपाल लिमिटेड नै कायम रहने प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले बताए ।
अन्तिम सेयर आदानप्रदान अनुपात दुवै संस्थाको सम्पत्ति र दायित्व मूल्यांकन (डीपीए) प्रतिवेदनको आधारमा फरक पर्न सक्ने गरी हाललाई मेगा र टुरिजमको सेयर आदानप्रदान अनुपात १००ः९५ तय गरिएको उनले जानकारी दिए ।
शाहका अनुसार गाभिएपछि पनि मेगाका अध्यक्ष र सीईओले नै निरन्तरता पाउने भएका छन् । मेगाको चुक्ता पुँजी ४ अर्ब १ करोड, १ एक्सटेन्सन काउण्टर सहित ४० शाखा सञ्चालनमा छन् । यस्तै ४७ वटा एटिएम रहेका छन् ।
टुरिजमको चुक्ता पुँजी ९१ करोड ९७ लाख, १ एक्सटेन्सन काउण्टर सहित शाखा संख्या २३ तथा १२ वटा एटिएम छन् ।
मेगाले गत आर्थिक वर्षको नाफाबाट  सेयरधनीलाई १३.९५ प्रतिशत बोनस सेयर वितरणको सिफारिश गरेको छ । आउँदो सञ्चालक समितिले अनुमोदन गरेपछि बोनस सेयर वितरण हुनेछ ।
यस्तै टुरिजमले १८.६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । हालै मात्र टुरिजमले मातृभूमि विकास बैंक र कालिन्चोक डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी गत पुस २४ गतेदेखि संयुक्त कारोबार सञ्चालन गरेको छ ।
एकआपसमा गाभिने भएपछि दुवै बैंकको सेयर रोक्काको प्रकृया अघि बढाइएको सीईओ शाहले जानकारी दिए । दुवै संस्था एकआपसमा गाभिन नेपाल राष्ट्र बैंकमा संयुक्त निवेदन दर्ता गराइने उनले बताए हामीले यो खबर बाह्रखरी डट कमबाट लिएका हौं ।