विश्वविद्यालयको लापर्वाहीले भविष्य ‘बर्बाद’

693 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं,९ असार,  । नपढेर र परीक्षामा लेख्न नजानेर फेल हुँदा धेरैले चित्त बुझाउँछन् । तर राम्रो पढेर र परीक्षा पनि राम्रो दिएर नतिजा पर्खेको विद्यार्थी फेल भयो भने के गर्ने ? बेलाबेला परीक्षा सञ्चालकहरुले गर्ने लापर्वाहीले केही विद्यार्थीले यस्तै नियति भोग्ने गर्छन् । राजधानीको त्रिचन्द्र क्याम्पसमा बीएससी दोस्रो वर्षमा पढ्ने धादिङका सुरेश अर्याललाई पनि अहिले यस्तै भएको छ ।

sureshपढाईमा तीक्ष्ण स्वभावका सुरेशले आईएसीमा पनि राम्रो अंक ल्याएर पास गर्नुभएको थियो । बीएससी प्रथम वर्षको परीक्षा पनि निकै राम्रो भएको थियो । ‘परीक्षामा राम्रो नतिजा आउँछ भनेर मख्ख थिएँ, जब रिजल्ट आयो म छाँगाबाट खसेजस्तो भएँ’ सुरेशले अनलाइनखबरसित भन्नुभयो-’जेठ २६ गते रिजल्ट भएको थाहा हुने बित्तिकै हेर्न गएँ, तर एक्सपेल्ड भनेर लेखिएको रहेछ ।’ परीक्षामा अनियमिता गर्ने परीक्षार्थीको नतिजा एक्सपेल्ड भनेर आउने गर्छ ।

‘मैले अहिलेसम्म चिट चोरेको पनि छैन, चोर्न पनि जान्दिन । अर्काको सारेको पनि छैन । गार्डसँग सवालजवाफ पनि भएको थिएन । खुरुखुरु लेखें । कापी बुझाएँ र फर्किएँ’ सुरेशले भन्नुभयो-’मैले जानेर र नजानेर कुनै अमर्यादित काम नै गरेको छैन ।’

यस विषयमा आफूले त्रिभुवन विश्वविद्यालयको परीक्षा शाखा र परीक्षा केन्द्र रहेको पब्लिकयूथ क्याम्पसमा सम्पर्क गर्दा केही जवाफ पाउन नसकेको सुरेशले बताउनुभयो । ‘परीक्षा शाखाले क्याम्पसमा जा भन्छ, क्याम्पसले त्रिविमा सम्पर्क गर भन्छ । धाउँदा धाउँदै म हैरान भएँ । कसैले मेरो कुरा सुनेन ।’

आफूजस्तै अरु केही साथीको पनि यस्तै समस्या रहेको सुरेशले बताउनुभयो । ‘निर्दोष विद्यार्थीको भविष्य बिगार्ने काम भएको छ, दोषीलाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ’ सुरेशले आक्रोश पोख्नुभयो-’मेरोजस्तै अरु साथीको भविष्य यसरी नबिग्रियोस् ।’

(अनलाइन खबर डट कमबाट )